काठमाडौं, ८ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र तीन बुँदे सहमति कार्यान्वनका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भएको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अपरान्ह ३ बजे बस्ने मोर्चाको बैठकमा शहीदको सूचीमा आधिकारिक धारणा सार्वजनिक गर्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
मधेसी मोर्चाले सिफारिस गरेका शहीदको सूचीअनुसार सरकारले निर्णय नगरेपछि मोर्चाका नेताहरू असन्तुष्ट छन् । बैठकले शहीद घोषणा हुन बाँकीहरूको नाम अगाडि बढाउने सुमनले बताउनुभयो ।
मधेसी मोर्चाको शीर्ष बैठक बस्नुअघि केन्द्रीय सचिवालयको बैठक बस्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो । ‘सरकारसँग भएको तीन बुँदाको दोस्रो बुँदा कार्यान्वयनका बारेमा समीक्षा हुनेछ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाले सिफारिस गरे अनुसार सरकारले निर्णय गरेको छैन ।’
बैठकमा राजनीतिक मुद्दा फिर्ता, घाइतलाई उपचार तथा क्षतिपूर्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।











प्रतिक्रिया