चितवन, ७ भदौ । भारतीय राजदूत रञ्जित रायले दुई देशका बीचमा सम्बन्ध सुधार गर्दै नेपालको विकास योजनामा सहकार्य गर्न भारत सरकार तयार रहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले नेपालको विकासलाई भारत सरकारले अत्यन्त महत्वका साथ हेरेको बताउनुभयो ।
राजदूत रायले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै भारतीय उच्च पदाधिकारीको र प्रधानमन्त्रीको पनि भ्रमण हुने बताउँदै यसका लागि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण सफल रहेको उल्लेख गर्नुभयो ।
नेपालको हितका लागि काम गर्न दुवै देशका सरकार र व्यवसायीसँग छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, पर्यटन क्षेत्रको विकासका लागि भारत सरकार नेपालसंग सहकार्य गर्न इच्छुक रहेको छ ।
राजदूत रायले सरकार बनाउनु र गिराउनुमा भारतको कुनै हात नरहेको भन्दै नेपालको विकासका लागि धार्मिक पर्यटन क्षेत्रको विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।
यसका लागि नेपालका पर्यटकीय क्षेत्रसँग भारतका मुख्य सहर जोड्न सिधा हवाई सेवा सञ्चालन गर्न गृहकार्य भइरहेको बताउँदै उहाँले यसले पर्यटन क्षेत्रको विकासलाई ठूलो टेवा पुग्ने विचारव्यक्त गर्नुभयो । रासस












प्रतिक्रिया