काठमाडौं, ७ भदौ । भारतलाई उछिन्दै पाकिस्तान नम्बर वान टेस्ट राष्ट्र टिम बनेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २००३ देखि सुरु गरेको टेस्ट टिमको र्याङकिङमा पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो ।
यो खबरप्रति भारतीय मिडियाले चिन्ता प्रकट गर्दै टिप्पणी लेखेका छन् । जन्मैदेखिका दुश्मन र प्रतिस्पर्धामा रहेका भारत–पाकिस्तानमा यसपटक पाकिस्तानले बाजी मारेपछि दिल्लीमा चिन्ता छाएको छ ।
सुरक्षाका कारण गत ६ वर्षदेखि घरेलु मैदानमा टेस्ट क्रिकेट नखेलेको पाकिस्तानले गएको साता इंग्ल्याण्डसँगको टेस्ट श्रृँखलामा २–२ को बराबरी रोकेको थियो ।
सोही प्रतियोगितामा अस्ट्रेलिया श्रीलंकासँग ३–० ले हारेपछि दोस्रो स्थानमा उक्लिएको थियो ।
भारत वेष्ट इन्डिजसँगको चार टेस्टको श्रृँखलमा २–० ले अघि रहेपछि गएको हप्ता शीर्ष स्थानमा पुगेको थियो ।शीर्ष स्थानमा कायम रहन भारतलाई ट्रिनिडाडमा हुने अन्तिम टेस्ट जित्नु पर्ने थियो । तर, खराब मौसमका कारण खेल रद्द भयो र पाकिस्तान शीर्ष स्थानमा उक्लियो ।
पाकिस्तान एक सय ११ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको भारतको एक सय १० अंक छ ।
समान एक सय ८ अंक रहेका अस्ट्रेलिया तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् । ९९ अंकसहित न्युजिल्याण्ड पाँचौ स्थानमा, श्रीलंका छैठौ, दक्षिण अफ्रिका सातौ, वेष्ट इन्डिज आठौं, बंगलादेश नवौं र जिम्बाबे दशौ स्थानमा छन् ।
















प्रतिक्रिया