नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी भदौ २९ गतेदेखि भारतको चारदिने औपचारिक भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले कुनै एक ‘गौरवपूर्ण’ सम्झौता पनि गर्ने बताइएको छ । तर, उक्त निर्णय कसले, कसको स्वार्थमा गरेको हो ? पत्तो छैन । प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारतको भ्रमणमा रहेका नेपालका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीसँग भएको भेटवार्ताकै क्रममा उक्त भ्रमणको तय गरिएको हो ।
कुटनैतिक मर्यादाका अनुसार नेपालका प्रधानमन्त्रीको अन्य मुलुकमा हुने भ्रमणको दुबै देशका लागि अनुकूल हुने गरी मिति तय गर्ने जिम्मेवारी दुबै देशका परराष्ट्र मन्त्रालयको हो । तर, हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण बारे परराष्ट्र मन्त्रालय आजका दिनसम्म बेखवर रहीरहेका बेला भारतबाटै भाद्र ३० देखि असोज १ सम्मको भ्रमणतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति भने सम्भवतः भारतको स्वार्थमा उपप्रधानमन्त्री विमलेन्द्र निधीले स्वीकारेकै कारण तय गरिएको हुन सक्छ । यसलाई कुटनैतिक वृत्तमा ‘लज्जा’ निर्णय मात्रै होइन, राष्ट्रिय स्वाधिनताका सन्दर्भमा ‘दुर्भाग्यपूर्ण’ समेत भन्न थालिएको छ ।
पुष्पकमल दाहाल हिजोका दिनमा विद्रोही कम्यूनिष्ट पार्टीका नेता थिए होलान्, तर आजका दिनमा उनी नेपाल मूलुकको प्रधानमन्त्री हुन् । उनलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको व्यवस्थापिका संसदको बहुमतले प्रधानमन्त्री चुनेको हो । कसैको ‘तथास्तु’मा उनी प्रधानमन्त्री बनेका होइनन् ।
पक्कै पनि भारत शक्तिशाली राष्ट्र हो । त्यही भएर त भूपरिवेष्ठित मूलुकमाथि लामो समय नाकाबन्दी गर्दा समेत कुनै राष्ट्रले भारतले गरेका क्रियाकलाप विरुद्ध मुख खोल्ने आँट गरेनन् । मात्र दुबै देशले वार्ताबाट समस्याको सामाधान गर्नु पर्ने केही राष्ट्रले बाध्यताबस बताएर भारतप्रति नै गुनीलो बने । बिचरा नेपालले समस्या सामाधान गर्न कसरी सक्थ्यो र ? बरु, काँग्रेस र त्यसपछि एमाले नेतृत्वको सरकार ढल्यो, भारतसँग सम्वन्ध राम्रो हुन सकेन । लामो समय नेपाली जनताले दैनिक अति आवश्यकिय उपभोग्य बस्तुको अभाव र तनावमा जिउनु पर्यो । त्यसैले त वर्तमान काँग्रेसको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारले भारतसँगको सम्वन्धलाई पुनर्ताजगी बनाउने भन्दै आएको छ । विशेष दूतका रुपमा दिल्ली पठाइएको निधीलाई हुन सक्छ, जसरी भए पनि भारत भ्रमणको टुंगो लगाएर आउने म्याण्डेट दिइएको थियो ।
विगतमा प्रधानसेनापति प्रकरणमा हस्तक्षेप भएको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिने क्रममा भारततर्फ इंगित गर्दै विदेशी प्रभूसँग झुक्न नचाहेको बताउने क्रान्तिकारी प्रचण्ड यसपाली भने पुष्पकमल बन्दै निधीले स्वीकारेको भारत भ्रमणमा निस्कने दिन पर्खेर बसेका छन् । उनको पदमा टिक्नका लागि गरिएको परिवर्तीत व्यवहार पनि सम्भवतः क्रमभंगकै एउटा अंश हुनु पर्छ ।
















प्रतिक्रिया