विश्वका देशहरुमा ९९ राष्ट्रहरु इसाई छन् । अमेरिका धर्मनिरपेक्ष भनेता पनि त्यहाँको सर्वोच्च अदालतले अमेरिकालाई क्रिस्चियन राष्ट्र भनेको छ । अमेरिकी राष्ट्रपनि बाइबल समातेर सपथग्रहण गर्छन् । यसउसले १०० भन्दा बढी क्रिस्चियन राष्टहरु छन् भने अन्य कतिपय राष्ट्रहरुले क्रिस्चियन राष्ट्र नभनेता पनि क्रिस्चियन समर्थक छन् । मुस्लिम राष्ट्रहरु ४९, बौद्ध राष्ट्र १२ छन्, एक इहुदी राष्ट्र छ भने विश्वको एकमात्र हिन्दुअधिराज्य नेपालको अस्तित्व समाप्त गर्नेहरुको बिरुद्ध सारा देशभक्त शक्ति जुरमुराउनु पर्ने यही हो । विश्वमा नेपाल एक हिन्दुअधिराज्यको रुपमा रहनु भारत लगायत संसारका हिन्दुहरुको गौरवको कुरा हो भने हिन्दु अधिराज्य नेपालको सुरक्षा अवधारण पनि हो ।
अमेरिका जस्तो महाशक्ति प्रजातान्त्रिक राष्ट्रमा राष्ट्रपति क्याथोलिक बाहेक क्रिश्चियन वा यहुदी बन्न पाउँदैन । अमेरिकाका राष्ट्रपति र प्रधानन्यायधीसले संविधानको सपथ नलिएर बाइबलको सपथ लिन्छन् । त्यहाँका चर्चहरु राजनीति र शिक्षामा रुची राख्छन् र विदेशमा धर्म प्रचार गर्न अर्बौ डलर खर्च गर्न सक्रिय छन् । मालदीप र साउदी अरबमा मुसलमान मात्र त्यहाँको नागरिक हुन्छन् । इजराइलमा केही अपवाद बाहेक यहुदी मात्र त्यहाँको नागरिक हुन पाउँछन् । (रामजीप्रसाद पोखरेल) इस्लामिक राष्ट्रहरुमा हिन्दुको कुनै पनि पहिचान टिक्न दिइदैन, तर नेपाललाई हिन्दु अधिराज्य रहँदा मुसलमानहरुप्रति हिन्दुहरु कहिले नकारात्मक थिएनन् र हुँदैनन् ।
नेपालको अस्तित्व समाप्त गरेर यो हिन्दुस्थलमा इसाईकरण गर्न नेपालकै पार्टीका देशद्रोही गद्दारहरुबाट धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता जस्ता रोगहरु नेपालमा भित्रयाइएको हो । त्यसैले अव सार्वभौमसत्तासम्पन्न राष्ट्र नेपाललाई बचाउन धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता जस्ता राष्ट्रघाती रोग हटाउनु पर्छ । हिमवतखण्ड नेपालको एकीकरण भएको बेला अहिलेको विश्वका प्रभावशाली राष्ट्रहरु टुक्रा टुक्रामा विभाजित थिए । जर्मन, इटाली, जापान, फ्रान्स, अमेरिका लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका बेला विक्रम संवत् १८२५ मा पृथ्वीनारायण शाहको नेतृत्वमा यो क्षेत्रका ५४ भन्दा स–साना हिन्दुराज्यहरुलाई एकीकृत गरेर उसबेलादेखि विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित भएको हो ।
सारा हिन्दु राज्यका जनताको सहयोगबाट पृथ्वीनारायण शाहबाट एकीकृत विशाल नेपालको अस्मिता बचाएर उभिएको नेपाल अधिराज्य बनेको हो ।
अंग्रेजले यसक्षेत्रलाई आफ्नो कब्जामा लिएर यहाँको हिन्दु तथा बौद्ध अस्मिता समेत चकनाचुर पारी आफ्नो सम्राज्य स्थापना गर्न लागिरहेको अवस्थामा सूर्य र चन्द्रमाको झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई बचाउनसक्नु यो हामी सारा नेपालीहरुको गौरवमय अहोभाग्य हो । त्यसबेलादेखि हिन्दु, बौद्धहरुको पहिचानको रुपमा एकीकृत हिन्दु अधिराज्य नेपालको सुरक्षा र प्रतिष्ठासँग गासिएको छ । यस्तो गौरवमय राष्ट्रको अस्मिता र पहिचानलाई बुझेर सहअस्तित्वको नीति अवलम्वनु पर्नेमा २०६३ सालपछि नेपालका पार्टीका नेताहरुले परचक्रीहरुको पारामा लागेर नेपालको महानता माथि चोट पुगाउने कुकर्म गरे ।
विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्म हो । जर्मनका विद्वान भोल्टेयरले भनेका थिए– ‘हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा उपहार हो ।’ वेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म हो ।’ वैदिक–हिन्दुसभ्यता विस्तार गर्ने क्रममा श्रृषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं भन्ने सन्देशबाट अभिप्ररित भएर यसक्षेत्रका अनेकौं श्रृषिहरुबाट संसारको सभ्यतामा मानवीयता सिंचित भएको हो । यसै सन्दर्भमा २५०० बर्ष अगाडि इरानको फारसी पोलिसनगरमा ईशाभन्दा ४८६ बर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुबै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स् एण्ड एथिक्स्’ मा उल्लेख छ । इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा ब्यास ऋषिको वाक्यलाई उद्धृत गरेको–“म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हुँ” भन्ने कुरा उल्लेख छ । (पं. सोमनाथ धिमिरे)
मनुले विध्य र हिमालको वीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना गरेका थिए । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्ड बारेमा उल्लेख गरेकाछन्– ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि ।’ कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा ‘हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मलाई आर्यभूमि’ भनेका थिए । सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र),गोर्खामा वेदव्यास, तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्क्य,गार्गी मैत्रेयी, गण्डकमा बाल्मिकि ऋषि, बाग्मती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋगवेदमा ऋषिहरुले ख्याती कमाएको उल्लेख छ । अतः नेपाल देवभूमि, पूण्यभूमि, तथा हिन्दु– बौद्ध स्थल भएकालले भारतका हिन्दुहरु नेपाललाई सँधै हिन्दुअधिराज्यको रुपमा रहिरहनु पर्छ भन्छन् ।
‘कैलास–मानसरोवर देखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ (योगी नरहरिनाथ)
यही हिसावले नेपाल–भारत हिन्दुहरुको लागि पवित्र तीर्थस्थल हो । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाईं ‘हिमवत्खण्ड’ भनिन्छ । गंगादेखि हिन्दमहासागरको भूभाग भारतखण्ड हो । एक हजार बर्षको मुस्लिम र बेलायती साम्राज्यले गर्दा भारतबर्षका थुप्रै हिन्दु राज्यहरु बिटुलो बन्न पुगे । तर नेपाल कहिले बिटुलो बनेन । नेपालको सार्वभौमसत्तालाई सुदृढ राख्न् राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र संतुलन गरेर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धनगर्दै भारत र चीन बीचमा संतुलित मैत्री संवन्धलाई निरन्तरता दिलाउनु हो ।
दुःखको कुरा– २०६३ साल बैशाख ११ मा राजासँग भएको संझौतामा नैं टेकेर दलका नेताहरु हिडेको भए आज देश यसरी वरवाद हुने थिएन । तर यिनीहरुले भारत, अमेरिका र यूरोपीयन् राष्ट्रहरुबाट प्राप्त पैसा खाएर उनीहरुको नैं निर्देशनमा धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयताको पक्षमा लागेर देशलाई बिखण्डन गराउने बाटो रोजे ।
जुनदिनदेखि नेपाललाई गणतन्त्र घोषित गरियो त्यहीबेलादेखि नेपाली जनता राजसंस्थाको निरन्तरताको लागि चौतर्फी माग गरिरहेका छन् । चीनमा माओत्सेतुङ्गले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेता पनि विदेशीधर्मलाई प्रतिबन्ध लगाएको थियो । नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउनु अधोषित क्रिस्चियनकरण गराउने षडयन्त्र हो भन्ने बुझिन्छ ।
संसदीय व्यवस्थामा पार्टीहरु सम्मानीत रहन्छन् । हामी माओवादीप्रति पनि पूर्वाग्रही छैनौं । तर विदेशीको इशारामा माओवादी, कांग्रेस, एमालेका नेताहरुले धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता लाध्न खोजेका बेलादेखि नेपाल संकटमा छ । धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता विदेशीहरुको एजेण्डा हो । यी तीन रोगहरु माओवादी, कांग्रेस र एमालेको होइन तर पदका भोका दलाल नेताहरुले विदेशी पैसा खाएर, नेपाली जनतालाई भ्रमित र आन्दोलित बनाएर नेपालको अस्तित्व समाप्त पार्न लागिपरे ।
हिजो भारतमा कांगे्रस (आईं) की सोनीयाँ गाँधी र उनको सरकारले नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लागु गराएर नेपालको अस्तित्व नैं समाप्त गर्न लागेको अवस्थामा कांग्रेसस (आईं) पत्ताल भासिएकाले भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएकाले भाजपा भाजपाको प्रतिष्ठा र नेपालसँग सुमधुर संवन्ध कायम राख्नको लागि पनि नेपालमा विश्वको एक मात्र हिन्दु अधिराज्य तथा राजसंस्था कायम रहिरहनु पर्छ भन्ने धारणा राख्छ । नेपालको राजसंस्था भनेको साम्राज्यवादी शक्तिसँग भिडेर विशाल नेपालको सिर्जना गर्ने शक्ति हो ।
नेपालका राजाले देश बेच्ने, विदेशी गुहार्ने र जनता मार्ने काम गरेनन् र गर्दैनन् । जस्ले नेपालअधिराज्यको अर्थ बुझ्दैन त्यसलाई नेपालको राष्ट्रियता बारेमा सोच्ने कुनै अधिकार हुँदैन । नेपालको भौगोलिक बनोट, विभिन्न जात–जाति संस्कृतिबाट आवद्ध भएको राष्ट्रियताको यति ठूलो महत्व छ कि ती सबैलाई वैदिक, हिन्दु तथा बौद्ध संस्कारले आवद्ध गरेकोछ । यहाँका जातिहरुले सबैको धर्म र संस्कृतिलाई सम्मानगर्दै आ–आफ्नो धर्म र परम्परामा आवद्ध रहेर सहअस्तित्वको सिद्धान्तलाई अवलम्वन गर्ने यसक्षेत्रको विशेषता हो ।















प्रतिक्रिया