चितवन, ५ साउन । राप्रपा नेपालले ७ वटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेसँगै ३ नं. प्रदेशको चितवनबाट प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ ।
राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित स्थानीय निकाय निर्वाचन तयारी सम्बन्धी ३ दिनसम्म सञ्चालन हुने सो प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पार्टी अध्यक्ष कमल थापाले आन्दोलन, नाकाबन्दी या विदेशीको उक्साहटमा राष्ट्रहित विपरित संविधान संसोधन हुन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री हुन नेपाली जनताको भोटले मात्र पुग्दैन, विदेशी शक्तिको सहयोग र आशीर्वाद चाहिन्छ भन्ने आत्मसमर्पणवादी मानसिकता हावी भएकै कारण मुलुकले निरन्तर संकट भोग्नुपरेको स्मरण गराउँदै नेपाली जनताको चाहना अनुसार हिन्दुराष्ट्रको लागि संविधान संसोधन नभए जनमत संग्रहमा जान तयार हुनुपर्ने उहाँले बताउनुभयो ।
सम्बोधनकै क्रममा अध्यक्ष थापाले संविधान जारी भएपछि पनि राजनैतिक अस्थिरता कायम हुनुले संविधान कार्यान्वन र आर्थिक विकासमा समेत जटिलता आउने खतरा औंल्याउनुभयो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उपाध्यक्ष टंक ढकाल, महामन्त्रीद्वय राजेन्द्र लिङदेन, डा. धवलसम्शेर राणा, प्रशिक्षण विभाग प्रमुख शुशिल श्रेष्ठ, प्रशिक्षकहरु भक्ति सिटौला, रमानन्द न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
भदौ ४ गते सम्पन्न राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सबै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गर्दै प्रदेश नं. २ र ४ बाहेक सबै प्रदेशमा प्रशिक्षणको मिति सार्वजनिक गरेको थियो ।
जसअनुसार प्रदेश नं. १ को भाद्र १२, १३ र १४ गते धरान सुनसरीमा, प्रदेश नं. ५ को भाद्र २७, २८ र २९ गते लमही दाङ्गमा, प्रदेश नं. ६ को भाद्र ३०, ३१ र असोज १ गते सल्यानमा र
प्रदेश नं. ७ को भाद्र २३, २४ र २५ गते डोटीमा प्रशिक्षण कार्यक्रम सम्पन्न हुनेछन् ।












प्रतिक्रिया