३० आश्विन २०८३, शुक्रबार

पुनरागमन उपन्यासमा शान्ता चौधरीको सफलताको कथा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta-chaudhary

हरेक मानिसको आ–आफ्नो सोंचाई हुन्छ, दृष्टिकोण हुन्छ । लेखनको सन्दर्भमा पनि आ–आफ्नै शैली प्रयोग गरिन्छ । उपन्यासकार सविन प्रियासन पछिल्लो समयमा नयाँ शैलीका साथ पुनरागमन उपन्यासबाट साहित्यीक बृत्तमा अगाडि बढेका छन् । करिव एक दशकपछि उपन्यास विधामा देखा परेका प्रियासनले पुनरागमन उपन्यासमा नयाँ शैली, नयाँ विषयबस्तु पस्किएका छन् ।

पत्रकारिता पेशालाई कर्मथलो बनाई सकेका प्रियासनले पत्रकार महिलाहरुको विषय बस्तुमा उपन्यासको मुख्य विषय बस्तु बनाएको भएपनि पुस्तकभित्र दर्जनौं उप कथाहरु समावेश छन् । तर सबै उपकथाहरु उपन्यासको मुख्य पात्रकै वरिपरि घुमेका छन् । जसले गर्दा पाठकलाई उपन्यास अध्ययन गर्दा खल्लो महसुस हुँदैन ।

यस्तै उपकथा बनेकी छन्, पूर्व सभासद् शान्ता चौधरी । लामो समयसम्म कमलहरीका रुपमा काम गरेर संघर्षशील यात्रामा अग्रसर बनेकी शान्ता सभासद् बनेर उदाहरणीय कार्यहरु गरेको छोटो प्रसँग उपन्यासभित्र कैद छ । जसलाई उपन्यासकारले कथाको मुख्य पात्र अरुणाले पत्रकारिता क्षेत्रबाट शान्ताको सफलताको कथा लेखेको हिसाबले प्रस्तुत गरेका छन् । शान्ताको प्रसंगले मानिसलाई संघर्ष गर्न प्रेरित गरेको छ । संघर्ष गरेपछि हरेक मान्छे सफल बन्छ भन्ने कुरा शान्ताको कथाले यहाँ सिकाउन खोजेको छ । साथै पदीय गरिमा सबैले जोगाउन सक्दैनन्, अबसर पाएर पनि कतिपय व्यक्तिहरु गुमनाम बन्छन्, तर शान्ता अक्षर नचिनेको व्यक्ति हुँदाहुँदै पनि संसदको जिम्मेवार समितिमा बसेर उदाहरणीय काम गरेको प्रसँग पनि उपन्यासमा छ ।

उपन्यासकारले उपन्यासको पृष्ठ १५७ र १५८ मा शान्ता चौधरीको प्रसँगलाई यसरी उल्लेख गरेका छन् । जसलाई यहाँ संक्षिप्तरुपमा मैले पस्किएको छु ।

‘मलाई अहिलेसम्म सफलताको कथा लेखेको मध्य दाङकी पूर्वसभासद् शान्ता चौधरीको बारेमा बनाएको रिपोर्ट गजव लाग्छ । उनी वर्षौसम्म अर्काको घरमा कम्लहरी जीवन व्यतित गरेर बसेको मान्छे रहिछिन् । तर उनी सभासद् भएपछि उनले गरेको प्रगति देखेर म प्रभावित भएँ । अहिले पनि धेरै नेता अनि सभासद्हरु खासै पढे लेखेका छैनन् । समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने प्रावधानका कारण औंठाछाप व्यक्तिहरु पनि धेरै जना सभासद् भएका छन् । तर, पद पाएर पनि आफ्नो विकास गर्न नसकेका धेरै सभासद्, नेताहरु छन् । आफ्नो क्षमता विकासका लागि सर्वप्रथम व्यक्तिको इच्छा शक्तिले काम गर्दो रहेछ । शान्ता चौधरीले कत्ति नपढे पनि उनले सभासद् हुँदा धेरै राम्रो काम गरिन् । अहिले पनि स्टेजमा चढेर मलाई भाषण गर्न अत्यन्त अप्ठ्यारो लाग्छ । तर, शान्ताले स्टेज पाइन् भने यति मिठो तरिकाले तर्कसंगत, विषयमा रहेर भाषण गर्छिन् कि कुरै गरी साध्य छैन । उनको भाषण सुनि रहूँ जस्तो लाग्छ । उनले किताब पनि लेखेकी छिन् । अहिले सभासद् नभएपनि उनको नाम मिडियामा आइरहेको हुन्छ । जब कि पदमा बसेका धेरै नेताहरु अहिले पनि गुमनाम छन् ।’

Punaragaman

लेखकको कलममा सिर्जनशीलता हुने हो भने सामान्य विषय बस्तु पनि उत्कृष्ट उपन्यास, कथा, कविताको किताब बन्न सक्छ । उपन्यास धेरैप्रकारका हुन्छन् । पुनरागमन उपन्यास सामाजिक धरातलमा रहेर तयार भएको पुस्तक हो । यसबाट मानिसले ग्रहण गरेमा धेरै सकारात्मक कुराहरु सिकन सक्छ । सन्देशमुलक तवरले लेखिएको उपन्यास ३०४ पृष्ठ लामो भएपनि कुनै पनि पानाहरु पट्यार लाग्ने खालका छैनन् ।

उपन्यासमा समावेश अक्षरको आकार अलि बढाएको भए राम्रो हुने थियो । भाषगतरुपमा केही ठाउँमा चिप्लिएको अवस्था छन् । यस बाहेक पुस्तकको कभर आकर्षक छ । असहाय बालबालिकाको सहयोगार्थ पुस्तक प्रकाशित गरिएकाले पुस्तक किन्ने व्यक्तिले सामाजिक कामका साथै खदिलो सामाग्री अध्ययन् गर्न पाउछ । उपन्यासकार प्रियासनले आगामि दिनमा पनि यसरी नै आफ्नो सिर्जना समाजका लागि खर्च गरिराखुन् । शुभकामना ।