काठमाडौं, ९ भदौ । गत आर्थिक वर्षमा नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७०/७१ मा पाँच खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो। जुन उक्त आर्थिक वर्षको बजेटभन्दा २६ अर्ब बढी हो। गत आवमा नेपालको बजेट पाँच खर्ब १७ अर्ब २४ करोड थियो।
केन्द्रीय बैंकका अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने संख्या पनि निरन्तर बढेकाले रेमिट्यान्स प्रत्येक वर्ष बढ्दै गएको छ। आव २०६९/७० मा चार अर्ब २५ अर्ब ९० करोड रेमिट्यान्स भित्रिएको थियो।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालमा भित्रिने रेमिट्यान्समा सुस्तता आउने बताउँदै गर्दा विप्रेषण आप्रवाह आव २०६९/७० को २०.९ प्रतिशत वृद्धिको तुलनामा आव २०७०/७१ मा २५ प्रतिशतले वृद्धि भएको हो।
यसैगरी अमेरिकी डलरमा भने विप्रेषण आय अघिल्लो वर्षको ११.७ प्रतिशत वृद्धिको तुलनामा गत आवमा १२.३ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५४ करोड अमेरिकी डलर पुगेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
रेमिट्यान्स भित्रिने क्रम बढ्दै गर्दा त्यसको असर समग्र शोधनान्तर स्थितिमा पनि परेको छ।
राष्ट्रबैंकका अनुसार २०७०/७१ मा समग्र शोधनान्तर स्थिति एक खर्ब २७ अर्ब १३ करोडले बचतमा छ। २०६९/७० मा शोधनान्तर बचत ६८ अर्ब ९४ करोड थियो। यसैगरी चालू खाता पनि ८९ अर्ब ८५ करोडले बचतमा छ।















प्रतिक्रिया