१९ कार्तिक २०८३, बिहिबार

सह-महामन्त्री गुरुङसहित राप्रपाका २ सय बढी कार्यकर्ता राप्रपा नेपालमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raparpa

काठमाडौं, ४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकता नभए पनि राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बन्नबाट अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

राप्रपा नेतृत्वले एकताभन्दा सत्तालाई महत्व दिएर एकता प्रक्रिया स्थगित गरेपनि अब देशव्यापी रुपमा कार्यकर्तातहमा एकता हुने र त्यसको सुरूवात आजैबाट भएको उहाँले बताउनुभयो ।

राप्रपाका सहायक महामन्त्री एवं संगठन विभाग प्रमुख हेमजंग गुरुङ, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री जगतबहादुर गुरुङ, केन्द्रीय सदस्य लालध्वज लामा लगायतको पार्टी प्रवेशको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता माथि गंभिर संकटको खतरा भएकोले मुलुकमा एक बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आवश्यक रहेको अवस्थामा राप्रपा नेपालले त्यसको नेतृत्व लिने स्पष्ट पार्नुभयो ।

परिवर्तनका नाममा सनातनदेखि कायम रहेका राष्ट्रका आधारस्तम्भहरु भत्काएर जातीय, धार्मीक र साँस्कृतिक सद्भाव खल्बल्याएकै कारण वाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपमा बढेको बताउँदै अध्यक्ष थापाले आन्तरिक राष्ट्रवादलाई बलियो बनाउन, जनताको सर्वोच्चता र प्रजातन्त्रलाई सुदृढ पार्न समान विचारधारा राख्ने दल, शक्ति तथा समुहसँग एकता गर्ने अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

आगामी चैत भित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुनेमा शंका उत्पन्न भएको बताउँदै उहाँले २०७४ मंसिर सम्ममा तीनवटै निकायको निर्वाचन सम्पन्न नभए नयाँ संविधान कागजको खोस्टोमा परिणत हुने भएकोले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई यसतर्फ सचेत रहन ध्यानाकर्षण गराउनुभयो ।

वनप्रवेशी नेताहरु हेमजंग गुरुङ, जगतबहादुर गुरुङ, लालध्जव लामा, राप्रपा लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठ, क्षेत्रीय अध्यक्षहरु टपबहादुर गुरुङ, चतुर्भुज घिमिरे लगायत राप्रपाको लमजुङ जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, अनेमसंका पूर्व केन्द्रीय सदस्य राधा रिमाल, सर्वोच्च शिखर सगरमाथाको ११ पटक सफल आरोहण गर्ने आरोही टेण्डी शेर्पा लगायत पार्टी प्रवेश गर्नै सबैलाई पार्टी अध्यक्ष कमल थापाले सदस्यता प्रदान गरि स्वागत गर्नुभएको थियो ।

मन्तव्यको क्रममा नवप्रवेशी नेता हेमजंग गुरुङले दुवै राप्रपाको एकीकरणको लागि अन्तिम समयसम्म पहल गर्दा पनि राप्रपा अध्यक्ष पशुपति सम्शेर राणाको व्यक्तिगत स्वार्थका कारण एकता हुन नसकेकोले कार्यकर्ता तहबाट पार्टी प्रवेशको अभियान आरम्भ गरेको प्रष्ट पार्नुभयो । चुनाव चिन्हलाई साध्य मान्दै राप्रपालाई निरन्तर सहयोग पुर्याए पनि त्यो गलत सावित भएको बताउँदै पार्टीको विचार, आदर्श र नेतृत्व मूख्य विषय रहेको महसुश भएर आफूहरु राप्रपा नेपाल प्रवेश गरेको उहाँले बताउनुभयो ।

आफूहरुको प्रवेशले औपचारिक रुपमा पार्टी प्रवेशको ढोका खुलेकोले अब राप्रपामा रहेका हजारौं नेता कार्यकर्ता निरन्तर राप्रपा नेपालमा प्रवेश गर्ने उहाँले ठोकुवा गर्नुभयो ।

कार्यक्रममा आजै राप्रपा नेपाल प्रवेश गर्नुभएका रामेछाप निवासी राप्रपाका केन्द्रीय सदस्य लालध्वज लामा, अनेमसंका पूर्व केन्द्रीय सदस्य राधा रिमाल, राप्रपा लमजुङका जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ समेतले राप्रपा नेपालमा प्रवेश गर्नुको औचित्य प्रष्ट्याउनुभएको थियो ।

सो कार्यक्रममा सयौंको संख्यामा युवा, विद्यार्थी, महिला लगायत विभिन्न पेसामा आवद्ध व्यक्तित्वहरु राप्रपा नेपालको एजेण्डामा सहमत हुँदै पार्टी प्रवेश गर्नुभएको थियो ।