१९ कार्तिक २०८३, बिहिबार

माओवादी नेतृ शर्माद्वारा प्यूठानका बाढी पहिरो पीडितलाई राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha Sharmaप्यूठान, ३ भदौ । राजधानीमा मन्त्री बन्न हानथाप भइरहेका बेला माओवादी केन्द्रका एक दम्पत्ती भने बाढी पहिरो पीडितलाई राहत बाँड्न प्यूठानका विकट गाउँमा देखिए । जनतालाई परेको पीडामा मल्हम लगाउन गाउँ आएका दम्पत्ती हुन् पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा र उनका पति कृष्णध्वज खड्का ।

शर्मा र खड्का माओवादी केन्द्रका नेता हुन् । प्यूठानका बाढी पहिरो प्रभावित क्षेत्र नगद तथा खाद्यान्न सामाग्री वितरणमा झण्डै एक हप्तादेखि उनीहरु सक्रिय छन् ।

पूर्वमन्त्री शर्माले लुङ, डामृ, खवाङ, स्याउलिवाङ, र फोप्ली गाविसको वडानम्बर ७ मार्केमा राहत वितरण गरेकी छन् । यसैगरी उनका पति खड्काले अर्खा, रजवारा, पुजा, तुसारा, ओखरकोट, नारीकोट, बाँदीकोट, फोप्ली, मच्छी, रातामाटामा राहत वितरण गरेका छन् ।

मृतक एकजना बराबर ५ हजार नगद र २५ किलोको एक बोरा चामलको दरले पीडितहरुलाई राहत वितरण गरिएको छ । यसैगरी पूर्णरुपमा घर क्षति भएर विस्थापित भएका परिवारलाई नगद ३ हजारसँगै एक बोरा चामल र पहिरोको उच्च जोखिममा परेर विस्थापित भएका परिवारलाई पनि १–१ बोरा चामल राहत वितरण गरिएको पूर्वसामान्य प्रशासन मन्त्री शर्माले जानकारी दिइन् ।

बहाने क्षेत्रमा १४ मृतकका परिवार, ६६ पूर्ण घर क्षति भएका र उच्च जोखिममा रहेकालाई गरी बुधबारमात्रै १ सय १५ बोरा चामल वितरण गरिएको छ ।

माओवादी केन्द्र र प्यूठान–काठमाडौं जनसम्पर्क मञ्चले संकलन गरेको करिब ६ सय बोरा चामल पीडितहरुलाई वितरण गरिएको नेता खड्काले जानकारी दिए ।

राहत वितरण टोलीमा शर्मा र खड्कासँगै माओवादी पोलिटव्युरो सदस्य पितबहादुर एमसी, सांसद पुनाराम थापा, नवराज अधिकारी, केन्द्रीय सदस्य कृष्ण अधिकारी, प्यूठान–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्य, सदस्य राजेन्द्र भट्टराई, ओमप्रकाश जिसी, कृष्ण घिमिरे, राधा अधिकारी, बबी शर्मालगायत छन् ।

राहत वितरण कार्यक्रममा बाढी पहिरोले प्यूठानमा पु-याएको क्षतिबारे दुःख व्यक्त गर्दै पूर्वमन्त्री शर्माले राज्यबाट पाउने सेवा सुविधाबाट प्यूठानी जनतालाई वञ्चित हुन नदिने प्रतिबद्धता जनाइन् । अहिले वितरण गरिएको राहत पर्याप्त नभएकाले अझै बढाउँदै लैजाने पनि उनले बताइन् ।

‘नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले प्रत्येक मृतकको परिवारलाई १–१ लाख नगद र २ बण्डल जस्तापाता दिने निर्णय गरिसक्नु भएको छ,’ उनले भनिन्, ‘त्योसँगै घर बनाउनका लागि बैंकबाट सहुलियत ब्याजमा ऋण लिन पाउने व्यवस्था पनि हामीले गर्ने छौं ।’

परिवार गुमाएका बाल बालिकाहरुको पढाई–लेखाईदेखि अभिभावकत्वको भूमिकाको जिम्मा पनि सरकारले नै लिनुपर्ने पक्षमा आफू रहेको शर्माले जानकारी दिइन् ।

प्यूठान–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्यले राहत संकलन कार्यमा स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

अविरल वर्षासँगै गत असारमा गएको बाढी र पहिरोबाट प्युठानका बिभिन्न गाविसमा ५३ जनाको मृत्यु भएको स्थानीय प्रशासनको तथ्यांक छ ।