चितवन, २ भदौ । जिल्लामा गत आव २०७२-७३ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार २१० जना कारबाहीमा परेका छन् ।
मापसे गर्नेबाट रु २२ लाख २२ हजार राजस्व सङ्कलन गरिएको छ । दुर्घटनामा कमी नआए पनि दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा भने कमी आएको छ । आव २०७१-७२ मा मादक पदार्थ सेवन गरेका एक हजार १६८ जनालाई कारबाही गरी रु ११ लाख ६८ हजार राजस्व सङ्कलन गरिएको थियो ।
आव २०७१-७२ मा अधिकांश मोटरसाइकल चालकको मात्रै मापसे चेकजाँच गरिएको थियो भने आव २०७२-७३ मा मोटरसाइकलसहित कार, जिपलगायतका सबै प्रकारका सवारीमा मापसे चेकजाँच गरिएको थियो । गत आवमा एक हजार ८७४ मोटरसाइकल चालक र २३५ अन्य सवारी चालकलाई चेकजाँच गरिएको थियो । अघिल्लो आवमा एक हजार चारवटा मोटरसाइकल र ७९ वटा अन्य सवारीमा मापसे चेकजाँच गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७२-७३ मा २३० वटा दुर्घटना हुँदा ७५ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिनुभयो । अघिल्लो आवमा १९६ वटा दुर्घटनामा ८३ जनाको मृत्यु भएको थियो भने ११६ जना घाइते भएका थिए ।
“मापसे चेकजाँच कडाइ गरेपछि सहरी क्षेत्रमा दुर्घटनामा कमी आएको छ,” उहाँले भन्नुभयो । ट्राफिक प्रहरीले गत आवमा ५० हजार ७४० सवारी चालकलाई कारबाही गरी रु दुई करोड ९७ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आवमा ४९ हजार ९०० सवारी चालकलाई कारबाही गरी रु दुई करोड ४९ लाख ९१ हजार राजस्व सङ्कलन गरेको बताइएको छ । रासस












प्रतिक्रिया