काठमाडौं विश्वविद्यालयको ब्याचलर इन मिडिया स्टडिजको एक कक्षामा अध्यापन गरिरहेको बेला एकजना विद्यार्थीको प्रश्न थियो, नेपाल पत्रकार महासंघमा उम्मेद्वार हुन त पार्टीको टिकट चाहिन्छ रे नि, हो सर ? मेरो सहज उत्तर थियो, उम्मेद्वार हुन त केही हजार नगद अनि एक प्रस्तावक र एक समर्थक पार्षद् भए पुग्छ । तर, यो हार्नलाई मात्र पर्याप्त हुन्छ, जित्नलाई चााहि पार्टीको टिकट नै चाहिन्छ । अर्को विद्यार्थीको पुच्छ्े प्रश्न थियो, त्यसो भए हामी अझै मिसन जर्नालिज्मको युगमै छौं त सर ? उनको प्रश्नको उत्तरमा मैले भनें, हामी रिजन बिनाको मिसन अर्थात् फेरि एकपटक पार्टी पत्रकारिताको चंगुलबाट मुक्त हुन नसकेको कुरुप तस्विर हो यो । के यो सही हो त ? तेस्रोको प्रश्न थियो । उत्तरमा मैले भने, यो कुनै कोणबाट पनि सही तस्विर हैन । तर, जताबाट हेरे पनि देखिने आजको धरातलीय तस्विर यही हो । जुनसुकै कलेबरमा होस् आजका सञ्चारकर्मी पनि पार्टीले पगा लगाएका खशी बोका जस्तै हुनबाट मुक्त छैनन् । आज महासंघमा चुनाव लड्नमात्रै हैन, मिडियामा सम्पादक हुन पनि यो तागत चाहिन्छ, त्यस्तो तागत भएका बलवानलाई मात्र मालिकले पत्याउने भएकाले नेपालमा पोटर्स सम्पादकको जागीर चल्छ । त्यसो भए हामीले पढेर के काम ? अन्तिम प्रश्नको उत्तर दिदै मैले भने, सुनको विहानी उदाउँछ रे । अहिले निराशलाग्दो वातावरण छ, तर यही निराशाको त्यान्द्रोमा उभिएर पनि आशाको किरणलाई भेट्ने हो । अहिले हामी त्यही बाटो नाप्ने यात्री हुनुको विकल्प छैन ।
विश्वविद्यालयको कक्षा सकेर फर्कदा नेपाल प्रज्ञाप्रतिष्ठानको चौरमा महासंघको कुम्भ आफ्नो रौनक चढाउँदै थियो । उम्मेद्वारी दर्तामार्फत् सिंगो नेपाली पत्रकारिता दाहिने र देब्रेमा बाँडिएको थियो । पार्टीका हेडक्वार्टर, भातृसंगठनहरु साम, दाम, दण्ड, भेद जे पनि लगाउन तयार थिए । केही बिग्रेड काजमा खटाइएको थियो । हात यो होस् या त्यो, पगाको डोरी दुबैतिर थम्याइएको थियो । उम्मेद्वार, समर्थक, प्रस्तावक अनि मतदाताको अर्गानोग्राममा एउटा संगठन तैनाथ थियो । मानौं, पत्रकार महासंघको चुनाव आफैंमा एउटा महाभारत हो जुन प्रज्ञा प्रतिष्ठानको चौर नामक कुरुक्षेत्रमा केही समयपछि नै मञ्चन हुादैछ । परिस्थिति यस्तो सिर्जना गरिएको थियो कि यो युद्धमा कोही पनि निरपेक्ष बस्न नै सम्भव छैन । यसरी बनाइएको स्युडो माहौलमा व्यावसायिक भनिनेहरुका अनुहार कागती निचोरिएका स्थितिमा पुगेका थिए । केही पार्टी निकट व्यावसायिकहरुले प्यानल उम्मेद्वारमा आफ्नो पनि नाम दर्ज हुने अपेक्षा गरेका थिए । तर, च्यानल मिलाउन नसकेपछि दुबैबाट टिकट नपाएका केही थोरै वागी बनेर व्यावसायिक पत्रकारको विउ जोगाउँदै थिए । यसरी वागी बनेका व्यावसायिकहरुले पछिल्लो अंकगणितमा जित्न सम्भव नै थिएन । हार्न र समीकरण विगार्न सक्ने सम्भावनाको विउ पनि यसपटक जोगिएन ।
रुपमा त्यस्तो नदेखिएला तर सारमा हेर्दा महासंघको २४औं महाधिवेशन नयाँ नेतृत्वको चयन गर्ने जलकुम्भीहरुको औपचारिक कुम्भ मात्र थियो । यसको मूल कार्यव्यापार भनेको पार्टीको टिकट लिएर फालिम लागेकाहरुलाई महासंघमा पठाउने औपचारिकता निर्वाह गर्नु थियो । गठजोडपछि अंकगणितले वामपन्थीहरुको ढोका खोलिसकेको थियो । त्यस खेमाको वागी उम्मेद्वारी, आधिकारिक उम्मेद्वारहरुको पीआर, जातीय, लैगिंक, भूगोल, कार्यक्षेत्रलगायतका तत्वहरुले तलमाथि हुने मतले केही फरक पार्ने सम्भावनाको त्यान्द्रो समातेर पोषण प्यानलकी अनिता विन्दुले पदाधिकारीमा त्यो खेमाको बीउ जोगाइन्, त्यो एक किसिमको संजोग मात्र थियो । यसबाट कांग्रेसको लाज मात्र बचेन, महासंघबाट कांग्रेसलाई बाहिर जाने धन्धुकारी निर्णय गर्नबाट समेत रोक्यो भन्दा हुन्छ ।
महासंघको यो निर्वाचनमा पार्टीले टिके उम्मेद्वार बनाइ दिएर हारजित यी उम्मेद्वारको भन्दा पनि माउपार्टीको र ती पार्टीका भातृसंस्थाहरुको हुने खालको माहौल बनाइदिएको थियो । जसले जिते पनि व्यावसायिकताको हार र पार्टीको जीत हुने खालको परिस्थिति सिर्जना गरिदिएको थियो । यस खेलमा फेरि एकपटक वामपन्थीहरु मिलेर कांग्रेसलाई चक्मा दिए, फुटाउ र राज गर भन्ने सिद्धान्तबाट फाइदा लिन सकिन्छ कि भनेर छिर्केदाउमा लागेको कांग्रेस आफ्नो दाउमा असफल भएर तीन चित खाएको छ ।
यो परिणामले विगतमा महासंघका भित्तामा अधिकांश जयनेपाल फोटो टाँस्न सफल कांग्रेस नराम्ररी तिल्मिलाउनेछ । र, हारको पीडा खप्न नसकेर सदस्यतामा जालझेल गरेकोलगायतका आरोपको ताती लगाउनेछ । तर, त्यो आफूलाई प्रजातान्त्रिक भन्न चाहने कांग्रेसका लागि हरुवा गोरुको छेरुवा दाउ बाहेक केही हुने सम्भावना देखिदैन ।
अध्यक्षका दुबै उम्मेद्वारको यो दोस्रो प्रयास थियो । यसअघि दुबै पराजित थिए र पार्टीले शंकाको सुविधा दिदै फेरि एकपटक मौका दिएको थियो । एकपटक त्यही पदमा हारिसकेपछि पनि नजितिञ्जेल उठिरहने यो वालहठ अनैतिक थियो । तर, दुबै उस्तै भएपछि एकलाई छान्नु मतदाताको बाध्यता थियो । दुईमध्ये, महेन्द्र विष्टको जीतको कारण वामपन्थी एकता त थियो नै, त्योभन्दा पनि पर कांग्रेसले दोस्रोपटक पनि आफ्नो उम्मेद्वार पोषण सरकारी सञ्चार माध्यमको एक कर्मचारी भएको बिस्र्यो । राज्यको चौथों अंगको नेतृत्वमा तेस्रो अंगको एक कर्मचारी, यो धेरैलाई जचेन । शायद, अंकगणित बाहेकको यो ज्यामिति पनि पोषणको पराजयको एउटा कारण थियो । दुबैतर्फ सरकालिन इष्र्याका कारण मत साट्ने अन्तरघातीहरु पनि देखिए, यो संख्यामा पोषण अलि अघि देखिए पनि त्यो पर्याप्त भएन । मोफसलका कतिपय सभासद्लाई महेन्द्रको नाम अगाडिको डाक्टरले पनि धेरथोर प्रभाव पाऱ्यो । एकजना पार्षद भन्दै थिए, जो जसका लागि सम्वन्धित छ मा डाक्टरको सही छाप गराउन पनि महेन्द्रलाई मतदान गर्ने हो । झट्ट सुन्दा अलि अपत्यारिलोजस्तो लागे पनि यो तर्कले समेत केही संख्यामा मतलाई प्रभावित पारेन भन्न सकिन्न ।
व्यक्तिका हिसावले दुबै हासमुख र उस्तै उस्तै चेहरा भएका चकलेटी उम्मेद्वार हुन् । सेन्स अफ ह्युमरमा त दुबै बेजोड मानिन्छन् । हारलाई स्वीकार गर्नमा पोषण महेन्द्रभन्दा अलि ठूलो छाति भएको छन् । गत महाधिवेसनमा शिव गाउँलेसँग पराजित हुँदा पनि उनी मध्यरातमा आफैं आएर वधाइ दिन भ्याए, सम्वोधन गर्न भ्याए । पोषणको यो हारलाई पनि स्वीकार्न सक्ने संस्कार सिक्नलायक गुण हो । यो हारले पोषणलाई दोस्रो कार्यकालका लागि पनि पदेन सल्लाहकार बनाएको छ । तर, अब यो नै अन्तिम हुनुपर्छ । किनकि, सधैँभरि आफूलाई मात्र मतदान गरिरहनुपर्ने बाध्यताको बन्दीबाट सभासद पत्रकारलाई उन्मुक्ति दिनुपर्छ ।
विजयी महेन्द्रले जे जसरी र जुन कोटरीबाट आए पनि त्यसलाई जीतको परिस्थितिजन्य बाध्यकारी आधार निर्माणको रुपमा मात्र लिन सक्नुपर्छ । र, आफूलाई प्रेस चौतारी या वामपन्थी दुर्गबाट माथि उठाएर सबैलाई समेट्दै महासंघलाई नेपाली आमसञ्चारकर्मीको चौतारीका रुपमा विकास गर्ने दिशामा लाग्न सक्नुपर्छ । त्यसो गर्न सकियो भने महासंघमा हारेको व्यावसायिकताको शिर मात्र उठाउने काम हुने छैन कि महेन्द्रले आफ्नो नाम अगाडिको डाक्टर र व्यावसायिक पत्रकारको मर्यादाको मान राख्न सक्नेछन् । अन्यथा, लगाम बल्खुलाई दिएर महासंघमा ब्यावसायिक सञ्चारकर्मीहरुको नेतृत्व गर्छु भन्नु ठेला चढेर अमेरिका जान्छु भन्नुजस्तै हो । महासंघको केन्द्रीय सदस्यमा मेरा नम्बरी नवनिर्वाचित अध्यक्ष महेन्द्रले यस सत्यलाई राम्ररी बुझ्नेछन् यो स्तम्भकारको विश्वास हो ।
महासंघबाट शिव गाउँले निवृत भएका छन् । यसबाट दुई दशकभन्दा लामो समयसम्म महासंघका विभिन्न पद र भूमिकामा देखिएका एक मोडरेट पत्रकार नेताको सफलतम् विदाइ भएको छ । प्रेस चौतारीबाट उम्मेद्वार भएर विजयी हुने वित्तिकै उनी महासंघका अध्यक्षका रुपमा आफूलाई बढी प्रस्तुत गरेका थिए । यो उनको माउ पार्टीलाई खासै हजम भएको थिएन । तर, उनले जहाँबाट जसरी आए पनि आफ्नो व्यावसायिक छविलाई धुमिल हुन दिएनन् । यसका लागि शिव गाउँले धन्यवादका पात्र बनाइनुपर्छ । र, महेन्द्रले आफ्ना अग्रजबाट सिक्नुपर्ने राम्रो कुरा पनि सम्भवत: यही हुनुपर्छ । यद्यपि, महेन्द्रको पृष्ठभूमी र उनको राजनीतिक महत्वाकांक्षालाई हेर्दा उनी त्यो बाटोमा हिड्लान् भन्न गाह्रो छ । तर, पनि अफ्ठयारोमा हिड्नेहरुकै इतिहास लेखिने कुराको हेक्का राख्नसक्ने हैसियतमा छन् उनी । त्यसका लागि उनले जलकुम्भी निराकरणतिर लाग्न सक्नुपर्छ । तर, त्यसो नगरेर जलकुम्भीको घेरामा परे भने उनी आफू त सकिन्छन् नै, जलकुण्ड पनि जोगाउन सक्दैनन् । के गर्लान्, अनुमानको खेती गर्नुभन्दा पनि समयलाई पर्खनु जायज होला । जो जो म्यान भएर हैन, उनको र महासंघको शुभचिन्तक हुनुको नाता यो विलोम मत दर्ज गराउने विनम्र प्रयास मात्र हो । आगे उनै जानुन् ।












प्रतिक्रिया