काठमाडौं, २८ साउन । अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
पारिश्रमिकको कुरा गर्यो भने साहुले उल्टै गालि गर्ने, जो बोल्छ उसलाई महिनाको १५ हजार पनि दिने तर जो सिधा छ उ कामबाट निकालिने स्थिती आउने गुनासो नेपाल मजदूर युनियन समक्ष राखेका हुन् ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रवार महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको निर्वाहमूखी ज्याला विषयक अन्तक्रियामा उनीहरुले नेपालको पर्यटन क्षेत्रलाई बडावा दिने मनोरन्जन क्षेत्रको कहि कतै पनि राज्यले प्राथमिकतामा नराखेको आफूहरुलाई श्रमको मूल्यांकन नगरेको कुरा सार्वजनिक रुपमा राखेका थिए ।
सो क्रममा नेपाल स्वतन्त्र होटल क्यासिनो तथा मजदुर युनियनका अध्यक्ष सूर्य कुवरले मनोरन्जन क्षेत्रको पारिश्रमिक समस्या निकै बढदै गइरहेको र चाँडै नै युनियनको सक्रियतामा सञ्चालकहरुलाई बोलाई यसबारे सोधपुछ गर्ने प्रतिबद्धता जनाए । महासचिव दिपक सापकोटाले श्रमको मूल्यांकन भएन भने देशभरिका मजदुरले आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला मञ्चकी संस्थापक अध्यक्ष सिर्जना पुनले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको मानव अधिकार सरकारले सुनिश्चित नगरेको, श्रम ऐनले पनि मनोरन्जन क्षेत्रमा कार्यरत महिलालाई श्रमिक नमानेको र यसका लागि भविष्यमा सशक्त भएर राज्य सामू आफनो अधिकारको माग गर्ने बताइन् । साथै कार्यक्षेत्रमा आफूहरुले सामान्य परिचय पत्र पनि नपाएको गुनासो गरिन् । कार्यक्रम महिलाको निम्ति महिला मञ्चकी अध्यक्ष छलिमाया मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
काठमाण्डौ उपत्यकामा मात्र झण्डै ५० हजारको हाराहारीमा डान्सबार, दोहरी साझ, क्याविन, रेष्टुरेन्ट, खाजा घर मसाज जस्ता क्षेत्रमा श्रमिक महिला कार्यरत छन् ।












प्रतिक्रिया