समाज बिकासको क्रमको गहिरिएर अध्ययन गर्ने हो भने बिभिन्न कालखण्डमा यसक्रममा नविन बिचारहरुको बहस हुँदै बैज्ञानिक एवं तथ्यपरक सृजनात्मक सोचहरुको बिकास भई दिर्घकालीन अस्तित्वमा रहेको सत्य हामी सबैले स्वीकार गरेको विषय हो । सामाजिक चेतनाको बृद्धिसँगै मानव जातिमा उपलब्ध प्राकृतिक स्रोत र साधन परिचालन गर्दे विभिन्न कालखण्डमा फरक फरक प्रविधिहरुको आविस्कार भयो । चेतनाको स्तरमा बृद्धि हुँदै जादा मानव जातिका आवश्यकताहरु बढ्दै गए र सोचहरुमा पनि बदलाब हुँदै गयो । सहजताको निर्माणका सम्बन्धमा विभिन्न कालखण्डमा आआफ्नो सामाजिक परिवेश र भौगोलिक अवस्था अनुकुल विभिन्न नविन एवं ब्यवहारीक सोचहरुले स्थान पाउदै गए । उपलब्ध स्रोत साधनहरुलाई सहज मानवीय उपयोगको सम्बन्धमा विकासको परिकल्पना सम्भव भयो । भौतिक रुपमा भएका प्राकृतिक स्रोतको सहि एवं समयानुकुल ब्यवस्थापन नै विकासको सार्थकता हो । समाज र विकासलाई जोड्न र यसको बैज्ञानिक ब्यवस्थापन गर्ने सन्द्धर्भमा इन्जीनियर शब्दको परिभाषा जोडिएको छ । साधन स्रोत र सोचको ब्यवहारीक ब्यवस्थापनमा नवीन कार्ययोजना ल्याई लागुगराउने एकमात्र समुदाय इन्जीनियरिङ्ग समुदाय हो । समाजको आर्थिक रुपान्तरण एवं सामाजिक परिवर्तनको संवाहक शक्ति इन्जीनियरिङ्ग समुदाय हो । अझ हाम्रो जस्तो विकासोन्मुख देश जहाँ विकास र सम्बृद्धि भरखरै मात्र सर्वत्र बहसको विषय बनिरहदा यसको उचित कार्यान्वयनमा इन्जीनियरहरुको महत्वपूर्ण भूमिका रहनेछ । मुलुकले संविधान सभामार्फत आफ्नो संबिधान आफै लेख्ने जनचाहना अनुरुप नयाँ संबिधान भरखरै प्राप्त गरी संबिधान कार्यान्वयनको चरणमा अहिले हामी छौं । विभिन्न राजनैतिक आन्दोलनहरुबाट प्राप्त उपलब्धी रक्षाका निमित्त सदैब सचेत रहन समेत जरुरी छ । आज राजनैतिक अधिकारीहरु स्थापीत भएको परिपेक्षमा अबको हाम्रो साझा गन्तब्य भनेको विकास र सम्बृद्धिको यात्रा हो । विकास र सम्बृद्धिको प्रमुख उर्जा शक्ति यो मुलुकका इन्जीनियरहरु हुन् । इन्जीनियरिङ्ग समुदायहरुलाई पूर्णरुपमा सम्मानका साथ विश्वासमा लिएर अब विकास र सम्बृद्धिको अभियानको नेतृत्व हस्तान्तरण गर्न हामीले ढिला गर्यौं भने हाम्रो लक्ष्य प्राप्ती गर्न सकिन्न । मुलुकको यस्तो विशिष्ठ परिवेशकाबीच आज हामी नेपाल इन्जीनियर्स एशोसिएसनको ३१औं कार्यकारिणी निर्वाचनको पूर्ण सन्ध्यामा छौं । अब पूरातनबादी सोचको अन्त्य गर्दै पेशागत मर्यादा र हितका निमिक्त समयमै हामीले हाम्रो समुदायको नेतृत्व गर्ने टिम एवं ब्यक्तिहरुको छनोट गर्न जरुरी छ । मुलुकमा विद्यमान विकासको चाहनालाई सम्बोधन गरी परिवर्तन सृजना र विकासका संबाहक इन्जीनियरहरुको उर्जा क्षमतालाई राष्ट्र निर्माणमा समर्पित गर्ने दिर्घकालीन सोच भएको नेतृत्वलाई स्थापीत गर्नु आजको प्रमुख आवश्यकता हो ।
बहुदलीय ब्यवस्थाको स्थापना पश्चात बहुविश्वविद्यालयको अवधारण अनुरुप विभिन्न विश्वविद्यालयहरुको स्थापनासंगै खुलेका विभिन्न निजि क्षेत्रका कलेजहरु आज नेपाली इन्जीनियरहरुको उत्पादनको प्रमुख थलो बनेका छन् । हिजोजस्तो सिमित क्याम्पस र प्रविधिको घेरामा आज हामी छैनौं । यसरी हजारौ इन्जीनियरहरुको स्वदेशमै उत्पादन भइरहँदा आजसम्म यो जनशक्तिको ब्यवस्थापनका निमित्त स्थायी सोच निर्माण गर्न नसक्नु हाम्रो दुर्भाग्य हो । एक सामान्य परिवारको मानिस लाखौं रुपौया ऋण एवं लामो अथक मिहेनतका साथ इन्जीनियर बन्छ अनि आफ्ना मानिसहरु राजनैतिक नेतृत्वमा नभएका कारण क्षमता हुँदा हुँदै अवसरबाट बन्चीत भएको यथार्थता बुझ्न जरुरी छ । हामीले अध्ययनका क्रममा सिकेका कुराहरु र आविस्कार गरेका प्रविधिहरुलाई राज्यले बौदिक सम्पतिको रुपमा सम्मान गर्न सकेको छैन । अधिकांश युवा इन्जीनियरहरु अवसरको अभावमा आज गुज्रीरहेको यथार्थतालाइ्र्र हामीले भूल्न हुँदैन । यो संगौ प्राकृतिक रुपमा भैगोलीक आकर्षकतालाई सही योजनाका साथ नेपाली इन्जीनियरहरुको सोचलाई राज्यले उचित सदुपयोग गर्नेसके पर्यटकीय हिसाबमा राज्यले ठूलो लाभ लिन सक्ने थियो । जलस्रोतको अपार सम्भावनालाई विदेशी लगानी आकर्षित गरी नेपाली इन्जीनियरको क्षमताको सदुपयोग गर्नसके हामी दिनहुँ लोडसेडिङ्गको मारबाट मुक्त मात्र नभई बिद्युतको विदेश आपूर्तिले देशको आर्थिक क्षमतामा मजबुदी थप्ने थियौ । सूचना प्रविधिको ठूलो जनशक्तिलाई आज राज्यले पहिचान गर्न नसक्दा विज्ञ इन्जीनियरहरु अवसरको खोजीमा विदेशिनु परेको बाध्यता सर्वविदितै छ । राज्यले सूचना प्रविधि क्षेत्रमा उचित नियम ल्याउन सके नेपाल सूचना प्रविधिको दक्षिण एसियाको हबको रुपमा बिकास हुनसक्ने सम्भावना छ । भूकम्पपछिको क्षतविक्षत भैतिक संरचना र हाम्रो मानसीकता उठाउनका निमित्त अब एकताबद्ध भई हामी सबै इन्जीनियरले ब्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ ठूलो हो भन्ने भावनाका साथ अगाडी बड्न जरुरी छ । आज उपभोक्ता समुह र ठेकेदारको चरम लापरवाहीमा हुने गलत क्रियाकलापमा इन्जीनियरहरुलाई मुछिने गर्दछ । ज्याला दारीमा काम गर्ने मजदुरको न्यूनतम स्केल तोकीन्छ तर योजनाविद् इन्जीनियरको तलब स्पष्ट निर्धारण भएको छैन । आज विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा इन्जीनियरहरुमाथि अपहेलना हुँदा आफ्नो पेशागत मर्यादाको पक्षमा सशक्त हाम्रा आवाजहरु उठ्न सकेनन् । त्यस्तौ नयाँ इन्जीनियरहरुलाई पहिलो त रोजगारी प्रवेशको सहजता छैन र दोस्रो रोजगारदाताको असाध्यै न्युन सेवा सुविधामा काम गनुपर्ने बाध्यता छ । आखीर यी सब कुरा पछाडी हाम्रो पेशागत हकहितका निमिक्त आवाज उठाउने साझा थलोमा सहि नेतृत्व स्थापीत हुन नसक्नु नै प्रमुख कुरा हो ।
बिकास र समृद्धीको चर्चा गरिरहँदा नेकपा एमालेको नेतृत्वमा बनेका सरकारले अगाडी सारेका अवधारणहरु नै देश परिवर्तनका राष्ट्रिय सोच हुन् र पछिल्लो कालखण्डमा नेकपा एमालेका आदरणीय अध्यक्षले नेतृत्व गर्नुभएको सरकारले आज हरेक जनजनमा समृद्धिको सोचमा बृहत हलचल ल्याएको यथार्थता हामीले भूल्न सकिन्न । केपि आलीको नेतृत्वमा “गरे विकास सम्भव छ” भन्ने भावनाले हाम्रो राष्ट्रिय एकतालाई मजबुद गर्दै सम्भावनाका धेरै ढोकाहरु खुलेका छन् । यो महान उपलब्धी नेपाली राजनीतिमा ओली डक्ट्रीनको रुपमा स्थापीत भइसकेको छ ।
नेपाल इन्जीनियर्स एसोसिएसनको निर्वाचनको पूर्ण सन्ध्यामा अब विगतका कार्यकालमा भएका विभिन्न कुराहरुको समीक्षा हुन जरुरी छ । आज हाम्रो कोषको पारदर्शीता छैन् । कोष परिचालनको स्पष्ट योजना अभावले गर्दा हामीमा धेरै शंका उपशंका उब्जिएका छन् । आज वर्तमान नेतृत्व नितिहिनता र विलासीताको जोडघटाउमा फसेका कारण हाम्रो सिंगो समुदायलाई हाक्न नसकी बैचारीक पतनको कोमामा रहेको छ । तसर्थ सम्पूर्ण इन्जीनियर साथीहरुको अपनत्व महसुस हुने किसिमको साझा संस्थाको रुपमा हामीले हाम्रो संस्थालाई बिकास गर्न जरुरी छ । यसपटकको निर्वाचनमा हामी यी माथि उल्लेखीत मुद्धाहरुको दिर्घकालीन समाधानको स्पष्ट रणनीतिका साथ आगामी कार्य योजनाहरु समेत अगाडि सार्दै तपाईको अमुल्य भोट परिवर्तनको पक्षमा रहेको छ भन्ने विश्वासका साथ प्रगतिशील तथा पेशागत समूहको तर्फबाट डा. सुमित्रा अमात्यको नेतृत्वमा चुनावी मैदानमा छौं । अब विगतको बिरोध गर्नुभन्दा भोलीको सहि सोचको बहस जरुरी छ । तसर्थ सम्पूर्ण इन्जीनियर साथीहरुलाई यो महत्वपूर्ण क्षेत्रमा एकताबद्ध भइ हाम्रो समुहलाई मतदान गर्नुहुन अनुरोध गर्दछौं ।
कोषाध्यक्ष पदका उम्मेद्वार
नेपाल इन्जीनियर्स एसोसिएसन ३१औं कार्यकारीणी परिषद्
प्रगतीशिल तथा पेशागत समूह















प्रतिक्रिया