कञ्चनपुर, २७ साउन । नेपाल विद्युत् प्राधिकरण, महेन्द्रनगर वितरण केन्द्र र नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीबीच विद्युत्भार कटौती घटाउने विषयमा बुधबार बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।
वितरण केन्द्रले विद्यार्थीका माग पूरा गर्न नसक्ने जनाएपछि वार्ता निष्कर्षविहीन भएको हो ।
क्रान्तिकारीले अग्राधिकारको अधिकारसहित माग राखेर कञ्चनपुरलाई विद्युत्भार कटौती मुक्त वनाउन प्राधिकरणलाई तीनदिने अल्टिमेटम दिएको थियो ।
विद्यार्थीको अल्टिमेटमपछि प्राधिकरणले बुधबार विद्यार्थीलाई छलफलका लागि बोलाएको हो ।
क्रान्तिकारीका जिल्ला सचिव वीरेन्द्रराज विष्टले सङ्गठनले राखेका माग पूरा गर्न नसकिने बताएपछि छलफल निष्कर्षविहीन भएको बताउनुभयो ।
छलफलमा वितरण केन्द्रका प्रमुख इन्जिनियर गणेश पाण्डेयले विद्युत्भार कटौती घटाउने बढाउने कार्य अत्तरिया ग्रिडबाट गरिने भएकाले आफूलाई यसबारे केही अधिकार नभएको बताउनुभयो ।
वितरण केन्द्रले छलफलमा १५ मेगावाट विद्युत् दाङको लमहीस्थित सिमेन्ट फ्याक्ट्रीलाई दिने गरिएको जानकारी गराएको छ ।
विद्युत् कर्मचारीले कमिसनका लागि सिमेन्ट फ्याक्ट्रीमा विद्युत् दिएर विद्युत्भार कटौती हुने गरेको भन्दै गतवर्ष पनि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । रासस












प्रतिक्रिया