३० आश्विन २०८३, शुक्रबार

हुलका हुल चराहरु बसाई सरेछन् …

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sargam bhattaraiभत्कनै आँटेको गुँडमा आकासकै  ओत त के ओत भो र ?,
जहाँ काला कागहरु  सेता फ़ुल चोर्न तल्लीन छन्,
धर्तीमा झर्यो कि खैरा स्याल र ध्वासे व्वाँसाहरु…
तप्तप्ती र्याल चुहाएर बसेका छन्,

हाँगाहरु सुकेर डढेलोको खतरामा छन्,
पानीका मुहान नजिक रगतका टाटाहरु छन्,
अनि प्राण धान्ने गैरी खेतहरु निष्पट्ट बाँझै छन्,
त्यसैले त होला सायद, एक चिम्टी चारा खोज्ने चेष्टामा अचेल,
हुलका हुल चराहरु बसाई सरेछन्….

……..       ……..     ……..      ………..

उड्दैमा चराहरु स्वतन्त्र छन् कसरी भनौँ ?
यो ठूलोआकाश भरि,
चुच्चे र नंग्रे  बाठा चीलहरुको बिगबिगी छ,
चराहरु निडर छन् कसरी भनूँ,
धर्ती भरि काला गोमनहरुको दवदवा छ,
सुकेका हाँगाका अँध्यारा टोँड्काहरुमा,
एक्लो काकाकुल भोकै..बसिरहेको छ,
न आकाशमा भुर्र उड्न न भूईंमा फुत्त झर्न सक्छ,
त्यसैले त होला अनिकालमा ज्यान जोगाउन
हुलका हुल चराहरु बसाई सरेछन् …

……      …….       ……..
थाहा छ ?
बाजहरु अचेल सर्प खाँदैनन् नि !
उनीहरु त सुनका सुनौला फ़ुल चोर्न पो उड्छन्,
गिद्दहरु जिउँदा, ज्यामी ज्यानमा हमला गर्छन्,
कोईलीहरु मिठो गीत कसरी गाऊन् तिर्खाएको बेला,
ढुकुरहरु निस्फिक्री भूँईमा कसरी झरून्,
किनकी,
अचेल या त पासो या त ब्वाँसो यत्र तत्र छन्,
खोई अचेल डाँफे मुनालको निर्मम् बली चढेर हो या…
हुटिट्याउँहरुको  हुट् हुट् र भ्यागुताहरुको ट्वार्र ट्वार्र मात्र सुनेर हो बनबाट अचेल,
हुलका हुल चराहरु बसाई सरेछन्…
……      ……. …….        ……..

poem-charaम चराहरुलाई दोषी मान्दिन,
अहँ मान्दै मान्दिन,
आउँ ! ईजलासमा बहस  गरौँ :
लाखौँ चराहरुलाई म साक्षी बकाउँछु,
दोषी त ती चुच्चे ठूला चराहरु हुन्,
जो निस्फिक्री उड्न सक्छन्,
दोषी त ती लुच्चा शिकारीहरु हुन्
जो मन लागेको बेला लुट्न सक्छन्,
मानौँ यो आकास उनै ठूला चुच्चा र लुच्चाहरुको मात्र साम्राज्य हो,
यी हरिया  रुखहरुमा, पहेँलो बिष छर्ने तीनै हुन्,
निरीह चराहरुको फुल चोर्ने, गुँड फोर्ने र ,
भोकले आँ गरेका बचेराहरुको आहार गर्नेहरु पो दोषी हुन्,
बिचरा आवाज बिहीनहरु चराहरु,
च्वँ च्वँ बिचराहरु…
धर्तीको न आकासको भए पछि के गरून्,
त्यसैले होला,
हुलका हुल चराहरु बसाई सरेछन्…
……     ………     …………….

बिचरा ! ती अबोला चराहरु कसरी अपराधी भए ?
जसले गिद्दहरुको भाग खाँदैनन् ,
आकासमा वाज र धर्तीमा ब्वाँसाहरुको भाग खाँदैनन्,
डराई डराई धुलाम्मे कनिका सम्म खान नपाएर होला,
भोकले आँ आँ गरेका बचेराको चित्कार देख्न नसकेर त होला,
हुर्हुर्ती डढेलो लागेको गुँडमा, आफ्नै मुटु छोडेर फेरि,
हुलका हुल चराहरु बसाई सरेछन् !
कठै ! पखेटा नउम्रिएका निरीह बचेराहरु छाडेर,
दुई टुक्रा कनिकामा प्राण त्याग्न,
हुल हुलका हुल चराहरु बसाई सरेछन् ।

– अमेरिका