३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई सुझावपत्र

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Anuragiसम्माननिय प्रधानमन्त्री ‘प्रचण्ड’ ज्यु
नमस्कार !
सर्व प्रथम त हजुरलाई भेटेरै बधाई दिने अभिलाषा हुॅदा हुॅदै पनि भेट्न सकिन । त्यसो त म बधाई लाइनमा पनि नबसेको होईन तर यहाॅको एउटा अभिव्यक्ति ले मलाई पछि हटायो जुन मेरो चाहना पनि थियो । “समय छोटो छ र चुनौतीहरु धेरै छन् त्यसकारण मलाई अहिले रिबन काट्ने र क्याण्डल बाल्ने कार्यक्रम मा नबोलाउनुहोला, म जनताले अनुभूत गर्ने गरी जनताका पक्षमा काम गर्न चाहन्छु ” हजुरले यसो भनिरहॅदा मैले सोचे मजस्तो एक सामान्य शुभचिन्तकले प्रधानमंत्री को यो महत्वपूर्ण समय केबल एक बधाई र शुभकामनाका लागी लिनुहुदैन त्यसका लागी अरु धेरै माध्यम छन् ।आशा छ मेरो यो छोटो समय पनि जनताकै पक्षमा खर्च हुनेछ। त्यसैले आज यहि पत्र मार्फत यहाॅलाई हार्दिक बधाई अनि शुभकामना दिनचाहे ।

प्रधानमंत्री ज्यू अहिले हजुर प्रधानमंत्री भइरहॅदा मलाई ठ्याक्कै हिन्दी फिल्म “नायक” को कथाबस्तु याद आइरहेको छ । उक्त फिल्ममा अनिल कपुरलाई सिएम को पदका लागी एक दिनको समय दिइएको थियो ।देशका तमाम बेथिती एवं बिकृती हटाउन एक दिन त काफी थिएन तर कथामा अनिल कपुरले जसरी जनताका पक्षमा पहलकदमी लिए र त्यसले उनलाई पछि गएर स्थापीत नायक बनाइदियो । ठ्याक्कै त्यसै गरी अहिले नेपाली राजनितीमा तपाई अनिल कपुरकै भुमीकामा हुनुहुन्छ भन्ने लाग्छ मलाई । हुनत चर्चामा आएनुसार हजुरलाई नौ महिनाको समय दिइएको छ जुन समय देशमा कायपलट गर्न त असंभव छैन तर गंभिरतापूर्वक सोच्ने हो र जिम्मेवार भएर काम गर्ने हो भने यो नौ महिनामा पनि धेरै गर्न सकीनेछ देश र जनताका पक्षमा । त्यसका लागी आम जनता, सामान्य कार्यकर्ता र समर्थकहरुको प्रत्यक्ष पहुॅच सिधै प्रधानमंत्री सॅग हुन जरुरी छ । अम्रीस पुरीको भुमीकामा रहेका थुप्रै सामाजीक र राजनैतीक भिलेनहरुको नकाव उतार्न आसेपासे, अन्धा समर्थक र नेताहरुको कुरा सुनेर मात्रै संभव छैन भन्ने लाग्छ ।

प्रधानमंत्री ज्यू तपाई प्रधानमंत्री भैसकेपछि बधाई दिनका लागी तपाइको निवास लाजिम्पाट र अहिले बालुवाटारको भिड राम्रोसॅग नियाल्नुभयो भने तपाईले प्रष्टै देख्नुहुनेछ बिगतमा प्रचण्ड सिद्धीयो र सिध्याउनुपर्छ भन्ने अनुहारहरु । अहिले सामाजीक संजालमा एकथरि जमात लागीरहेका छन् प्रचण्डका कमजोरी कहाॅ भेटिन्छ र खुइल्याउन पाइन्छ भनेर जुन स्वभाबिक पनि होला सॅगसॅगै अर्को डरलाग्दो प्रवृत्ति पनि देखापरेको छ देवत्वकरण गर्ने ।

हुन त हजुरले केहि सकारात्मक शुरुवात गर्नुभएको छ जसले आम शुभचिंतकहरुमा उर्जा पलाएको छ तर काम भन्दा धेरै गरिएको प्रचार प्रसार र कार्यकर्ता लेवलवाट भएको देवत्वकरणले अन्ततः गत्वा यहाॅलाई फाइदा भन्दा बेफाइदा धेरै गर्नेछ ।यदि बिगतकै ओली सरकारको काम भन्दा गफ धेरै गर्ने तरिका अबलम्वन गर्ने हो भने उहाॅ र तपाइमा फरकचाही के रह्यो त ? अहिलेको समय तपाइले नै भनेझै गफ भन्दा काम धेरै गर्नुपर्ने अवस्था हो भन्ने मेरो बुझाइ हो । अज संभब हुन्छभने यहाॅको लेवलवाटै एउटा अपिल हुनुपर्यो प्रधानमंत्री ज्यु, आजका मितीवाट बधाई अनि शुभकामनाका लागी लाइन नबसिदिनुहोला भनेर ।

प्रधानमंत्री ज्यू अहिले हजुरको सरकारलाई भारत परस्तको आरोप लाग्ने गरेको छ । बिगतमा केपी वली सरकारलाई गिराउन भारतले गरेको प्रतक्ष या परोक्ष हर्कतको तपाई स्वयंले डटेर सामना गर्नुभएकै हो तर अहिलेको अबस्थामा केपी ओलीसॅग एकाएक बिग्रीएको तपाइको संबन्ध र सरकार परिवर्तनले यी आरोपहरुमा कतै सत्यता त छैन ? भन्ने आम जनचासो स्वभाबिक पनि त हो ।प्रधानमंत्री ज्यू यसतर्फ हजुरको बिशेष ध्यान जान जरुरी छ । हुन त अहिलेको अवस्थामा दुबै छिमेकीहरुसॅग समदुरीको संबन्ध आबश्यक छ तर पनि बिगतमा भारतले गरेका गलत कृयाकलापहरुले एउटा संदेह अबश्य पैदा गरेको छ ।सायद त्यतीबेला तपाईहरु पनि संलग्न ओली सरकारले राष्ट्रीयताको सबालमा लिएको अडान नै प्रमुख थियो जसले उसलाई राष्ट्रवादी बनायो । त्यसो त ओली कति राष्ट्रवादी हुन् भन्ने कुरा बेला बेला उनकै मुखवाट फुत्कने उखान टुक्काहरुले पुष्ट्याउछ र पुष्ट्याउदै लानेछ । तर अहिलेको अबस्थामा प्रधानमंत्री ज्यू हजुर र हजुरको सरकारले उनि नराम्रा थिए भन्ने भन्दा पनि उनि भन्दा म यस यस अर्थमा राम्रो छु र देशप्रेमी छु भनेर ब्यबहारबाटै देखाउनु जरुरी छ । पक्कै पनि चिनसॅग भएका संधी संझौताबाट बढ्दै गएको संबन्ध र भारतीय एकाधिकारवादी दवदवाको अन्त्यसॅगै थोरै चिसीएको यो दुबै संबन्धलाई सन्तुलीत बनाएर देशलाई बिकाशको बाटोतर्फ अगि बढाउनु अहिलेको आबश्यकता हो ।यसतर्फ प्रधानमंत्री ज्यू पक्कै अनभिज्ञ हुनुहुन्न होला ।

प्रधानमंत्री ज्यू संविधान कार्यन्वयनका सबालमा बिगतदेखी लामो आन्दोलनमा रहेका मधेश केन्द्रीत दलहरुसॅग भएको सम्झौता र प्रधानमंत्री निर्वाचनमा उनिहरुको सहभागिताले पक्कै पनि संविधान प्रतिको असन्तुष्टी अब रहेन भन्ने पुष्टी हुन्छ । सॅगसॅगै हामी सतर्क रहनुपर्ने कुरो के भने मधेश केन्द्रीत दलका केहि मागहरु राष्ट्रीयता र अखण्डताका सबालमा केहि संवेदनशील छन् ।यसतर्फ प्रधानमंत्री को ध्यान पक्कै गएको होला भन्ने बिश्वास गर्छु ।दुरगामी प्रभाव पार्ने मुद्धाहरुमा ब्यापक छलफल र सहभागितामा उनिहरुलाई पनि चित्त बुझाएर अगि बढ्नुको फेरिपनि बिकल्प छैन । संघिय संरचना, स्थानिय चुनाब, प्रादेशिक चुनाब र संसदीय चुनाबको बाताबरण बनाउनु त छ नै सॅगसॅगै एमाले र कांग्रेसभित्र बढ्दै गएको प्रतक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने जनमतलाई पनि साथ लिएर संबिधान संसोधन गर्नसके सबैभन्दा ठुलो उपलब्धि रहनेछ । जसले देशमा स्थायितव र बिकाशका आधारहरु खडा गर्नेछ।

प्रधानमंत्री ज्यु भुकम्पपछिको पुनर्निर्माण र बिगतमा दलहरुबिचको एकताका लागी यहाॅले खेल्नुभएको भुमिका प्रशंसनिय छ नै तर पनि बिगत डेढ बर्षदेखि भूकम्पपिडीत जनता खुल्ला चौरमुनि अझैसम्म कष्टकर जिबन यापन गरिरहेका छन् भन्ने कुरो फेरी तितो यथार्थ पनि हो । भुकम्पले ढालेका हाम्रा ऐतिहासिक धरोहर अझै पनि जिर्ण अबस्थामै छन् । देशमा ब्याप्त बिकृती, बिसंगती, भ्रष्टाचार, कालोबजारी र महंगी दिन दुगूना रात चौगुना भएका छन् जसले आम सर्वसाधरणको जनजिबन चुनौतीपूर्ण बनेको छ । यसतर्फ प्रधानमंत्री ज्यु पक्कै अनभिज्ञ हुनुहुन्न । दिनानुदिन बिदेशीन बाध्य हजारौ यूवा जनशक्तीलाई स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्नु अर्को महत्वपूर्ण बिषय हो भन्ने मेरो बुझाइ हो । प्रधानमंत्री ज्यू समस्या यत्र तत्र छ मात्र एउटा इच्छाशक्ति चाहिएको छ समाधानका उपाय हजार निस्कनेछन् । मेरो एउटै चासो हजुरको कमजोरी भनौ या के भनौ अत्यन्त छिटो उत्साहित भैहाल्ने र हौसिने स्वभाबले यी तमाम बिषयहरुमा तपाइको इच्छाशक्ती हुॅदा हुॅदै पनि कतै असफल हुनुहुने हैन ? भन्ने नै हो । यसतर्फ बिशेष सजग एवं चनाखो रहनुहुनेछ र जनताको तपाइप्रतिको आस्था धर्मराउन दिनुहुनेछैन भन्ने बिश्वास लिएको छु ।

प्रधानमंत्री ज्यू जाॅदा जाॅदै मैले शुरुमा कोट्याएको नायक फिल्मको संदर्भ फेरी जोड्न चाहन्छु । हुनत भनिएला काल्पनिकता र वास्तविकतामा धेरै अन्तर हुन्छ भनेर तर कल्पना बिना सफलता संभब पनि त छैन । जसरी अनिल कपुरले एकदिनमा धेरै संभावना हरुको ढोका खोली आफुलाई स्थापीत नायक बनाउने आधार तय गरे । त्यसै गरी हजुरमा पनि त्यो इच्छाशक्ती र उर्जा छ जसले भोलिका दिनमा यहाॅलाई बलियो कार्यकारी प्रमुखको रुपमा स्थापित गराउनेछ अज भनौ नायकको रुपमा उभ्याउने छ । त्यसका लागी मैले शुरुमा उल्लेख गरेका पात्र र प्रवृत्ति प्रति यहाॅ पुर्ण सजग एवं सचेत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु । मलाई त्यो दिनको ब्यग्र प्रतिक्षा रहनेछ जुन दिन म मेरो आस्थाको नायकलाई फुलमाला सहित बधाई दिन सकुॅ र गर्व गर्न सकुॅ मेरो आस्थाप्रति । सॅगसॅगै मेरो लेवलबाट गर्ने साथ, सहयोग र समर्थन यहाॅलाई रहिरहनेछ प्रधानमंत्री ज्यू ।

धन्यवाद, लाल सलाम !

तपाइको शुभचिंतक
कृष्ण अनुरागी
गितानगर, चितबन
हाल काठमाण्डौ
प्रतिकृयाका लागी [email protected]