३० आश्विन २०८३, शुक्रबार

रहेन टेपरी गाउँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tepari Gauबाँके, ७ भदौ । साताअघिसम्म यो गाउँमा छुट्टै रौनक थियो। झुरुप्प घरहरूमा जीवन चलमलाउँथ्यो। लम्मेतान फाँटहरूमा आशा र सपना उम्रन्थे।

जिन्दगी सपार्ने अनेकौं योजना फक्रन्थे, घरैपिच्छे। दुःख पनि थियो। दुःखमा साथ दिने छिमेकी थिए, समाज थियो।

तर, अबरु यी सबै कुरा बढारिएका छन्। मानौं, प्रलयपछिको भयानक सन्नाटा मात्र छ, जताततै। घामका प्रकाशमा पहिलेजस्तो चमक छैन। हावामा शीतलता छैन। लाग्छ, हावाले केही दिनलाई अक्सिजन ‘बारेकोु छ।

यी सबै शोकमा डुबेका छन्। र, कोरा बसेका छन् दिवंगतका स्मृतिमा। वातावरणमा व्याप्त छ, भयंकर नीरसता।

पूरै बस्ती बाढीले सोहोरेपछि होलिया–५ को टेपरी गाउँमा अब केही घरका भग्नावशेष मात्र बचेको समाचार आजको नागरिक दैनिकले छापेको छ । राप्ती नदीले खेतीयोग्य जमिन लुछेर मरुभूमिझैं बनाएको छ, पटबाँझो। बाढीले तीव्र कटान सुरु गरेपछि गत वर्ष नै यहाँका आधाभन्दा बढी बासिन्दा विस्थापित भएका थिए।

यस वर्ष त राप्तीले गाउँको निसानै मेटेपछि पूरै बासिन्दा घरबारविहीन भएका हुन्। ‘अहिले गाउँभरि नदी मात्रै छ, पहिलेको सबै सपनाजस्तो लाग्छ,’ स्थानीय प्रेमलाल बाहुनले भने, ‘आफ्नै आँखाअगाडि नदीले गाउँको नामोनिसाना मेट्यो।’

यतिसम्म कि कतिले आफ्नो घर र खेतबारी कहाँ थियो भनेर छुट्याउनसमेत नसक्ने अवस्था छ। टेपरीमा करिब १ सय १५ घरपरिवारको बसोबास थियो। अहिले एक दर्जन घर, तिनका पनि भुइँमा सुतिरहेका छानाबाहेक केही देखिँदैन। बाढीले यति छिट्टै गाउँको अस्तित्व मेटाउने कल्पनासमेत नगरेका पीडित अब बास माग्नुपर्ने हबिगतमा छन्।

‘स्थायी तटबन्ध गरेर सरकारले गाउँ जोगाइदिएको भए हामी आफ्नै थातथलोमा पसिना बगाउँथ्यौं, अब त जति तटबन्ध गरे पनि यो ठाउँमा सुखसँग बाँच्न पाइएलाजस्तो लाग्दैन,’ स्थानीय एक महिलाले भनिन्।

गत वर्षसम्म गाउँ जोगाउन स्थायी तटबन्धको माग गर्थे उनीहरू। अब त गाउँ नै रहेन, के जोगाउनुरु फेरिएर थप निरीह बनेको जीवनसँगै माग पनि फेरिएको छ– अन्यत्रै कुनै उचित स्थानमा पुनर्वास गराइयोस्।

‘बस्ने घर र जोतेर खाने खेतबारीमा नदी बग्छ,’ बाहुनले भने, ‘के आस गरेर यहाँ बस्नुरु’ गत वर्षसम्म गाउँको आधा भाग बाढीले क्षति पुर्या्एकोमा यसपटक पूरै सखाप पारेको उनी बताउँछन्।