काठमाडौं, २४ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्का विभिन्न दलले संविधानको कार्यान्वयन र समयमा विभिन्न तहको निर्वाचन सम्पन्न गर्न सुझाव दिनुभएको छ ।
आजको बैठकमा दाहाललाई बधाई र शुभकामना दिँदै नेपाली काँग्रेसका नेता महेश आचार्यले आफ्ना कार्यकर्ताले आशा, भरोसा, आश्चर्यका साथ नयाँ गठबन्धनलाई हेरेको भन्दै द्वन्द्वको पीडाबाट मुलुकलाई बिर्साउँदै दिगो शान्तिको नायक बन्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो ।
संसद्को ठूलो पार्टीका नाताले प्रधानमन्त्रीलाई हरेक अप्ठ्यारा घडीमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै आचार्यले राष्ट्रिय सहमति र सहकार्यको भावनाबाट अघि बढ्न विपक्षी दललाई पनि आग्रह गर्नुभयो ।
संविधानमा असन्तुष्ट मधेसी समुदायलाई चित्त बुझाउने गरी संविधान संशोधन, पुनःनिर्माणलाई तीव्रता, बेरोजगारीको अन्त्यका लागि आर्थिक समृद्धिका आधार निर्माण गर्न सुझाव दिनुभयो ।
उहाँले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुधार्दै सहयोगको उपयोग गरी मुलुकको कायाकल्प गर्न प्रधानमन्त्रीलाई सफलता मिलोस् भनी शुभकामना दिनुभयो ।













प्रतिक्रिया