१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीद्धारा राष्ट्रिय क्रिकेट टोलीको विदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-prachanda-cricket

काठमाडौँ, २१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना दिँदै क्रिकेट विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

उहाँले खेल क्षेत्रले नै राष्ट्रिय एकतालाई मजबुत गर्ने भन्दै बालुवाटार प्रवेशको पहिलो दिनमा नै क्रिकेट खेलाडीलाई विदाई गर्नु आफ्ना लागि सुखद सुरुवात भएको विचार व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले टोलीको जित नै आम नेपालीको जित हुने भन्दै खेलकुद क्षेत्रमा भएको विभिन्न समस्याको पहिचान गरी त्यसको समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

नेपाली टोलीका कप्तान पारस खड्काले टिम ब्यालेन्समा भएकाले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले नेदरल्याण्ड्ससँग दुई खेल खेल्नेछ ।

यही साउन साउन २९ गते पहिलो तथा ३१ गते दोस्रो खेल खेल्नेछ । यसअघि तीन चरणमा ६ खेल खेलेको नेपालले ४ अङ्क जोडेको छ ।
विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छमध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २-२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।

गत वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको हो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ ।

नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।

सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् ।