पाँचथर, २१ साउन । पाँचथर जिल्लामा स्थानीय तहको संख्या बढाउनु पर्नेमा सरोकारवालाहरुले दबाब दिएका छन् ।
जनसंख्या र भूगोललाई आधार मान्दा पनि आयोगले तोकेको ५ वटाभन्दा बढी स्थानीय तह हुने उनीहरुको दावी छ । प्रेस चौतारी पाँचथरले फिदिममा आयोजना गरेको कस्तो हुनुपर्छ गाउँपालिका र नगरपालिका ? विषयक अन्तरक्रियामा बोल्दै कांग्रेसका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पाँचथरमा नगरपालिका र गाउँपालिका गरी ११ वटा स्थानीय तह बनाउनु पर्ने बताए ।
उनले आयोगले तोकेको ५ वटा तहको निर्धारण, सीमाङकन, नामाङकन र केन्द्र तोक्ने विषयमा पनि पार्टीले तयारी भने गरिरहेको उल्लेख गरे ।
एमालेका अध्यक्ष राजकुमार भण्डारीले पनि स्थानीय तहको संख्या कम भएको बताएका छन । तर आयोगले तोकेको संख्यामा छलफल नगरेर उम्किने अवस्था भने नरहेको बताएका छन् ।
विकल्प पनि दिँदै अहिले भने ५ वटै तहको निर्धारण,सीमाङकन आदी गर्नु पर्नेमा जोड दिए । संख्या कम हुँदा जनतालाई राज्यको निकायबाट सेवा प्रवाहमा समस्या हुने क्षेत्र भए पहिचान गरेर सम्बोधन गर्नु पर्ने उनको धारणा छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष होम जवेगु सूर्यमानले जनताले सेवा लिएर घर फर्किने गरीको केन्द्र तोकिनु पर्ने बताए । केन्द्रको नामकरण ऐतिहासिकता र भौगोलिकतालाई आधार मान्नु पर्ने भन्दै स्थानीय तहको संख्या थप्नुको विकल्प नभएको उनको पनि भनाई छ ।
राप्रपा नेपालका नेता घलेन्द्रवहादुर कुरुम्बाङले पनि संख्या बढाउनु पर्ने बताए ।
फोरम लोकतान्त्रिकका नेता नरेन्द्र दुलालको विचार पनि सोही थियो ।
राप्रपाका अध्यक्ष मानदेव केरुङले संख्या बढाउनु पर्ने र जिल्ला सभालाई पनि अधिकार दिनु पर्ने औँल्याए ।













प्रतिक्रिया