२८ आश्विन २०८३, बुधबार

अमेरिकामा एन्मा र नासाको सम्मेलन अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anma-Nasea-logo

कोलोराडो । एशोसिएसन अफ नेप्लीज इन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लिज एशोसिएसन इन साउथवेष्ट अमेरिका (नासा) को १० औं संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत ऋषिराम घिमिरेको बिशेष उपस्थितिमा यही अगष्ट २९ देखि ३१ सम्म कोलोराडोको डेनवर्कस्थित क्राउन प्लाजा होटलमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा अमेरिका र क्यानडामा बसोबास गर्ने २ हजार भन्दा बढी नेपालीहरुको सहभागिता रहने एन्माका अध्यक्ष गोपेन्द्र भट्टराईले बताएका छन् ।

बिशेष गरि नयाँ पुस्तालाई हाम्रो रहनसहन, भाषा, संस्कृति तथा भेषभुषाको जानकारी गराउन तथा अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन, कार्यक्रम आयोजना गरिएको र यसबाट मातृभुमि प्रतिको कर्तब्य स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउन कार्यक्रमले सकारात्मक प्रभाव पार्ने भट्टराईको दाबी छ ।

कोलोराडोस्थित नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको सहआयोजनमा हुन लागेको सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यको नेतृत्वमा गठित खेलकुद, संस्कृति तथा मनोरन्जन, प्रचारप्रसार, सूचना तथा संचार, स्रोत संकलन तथा ब्यवस्थापन जस्ता बिभिन्न १७ उपसमितिले अहोरात्र खटेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।

आयोजक एन्माका अध्यक्ष भट्टराईका अनुसार सम्मेलनका बिशेष आकर्षक गोपाल नेपाल (फिस्टे), नायिका रेखा थापा, गायक सुनिल उप्रेती, संजिव प्रधान, दिपेशकिशोर भट्टराई, बिजय अधिकारीको कार्यक्रममा जोडदार प्रस्तुति रहने छ ।

त्यस्तै पूर्वनेपाल सुन्दरी इशानी श्रेष्ठ, बहु प्रतिभाशाली ब्याक्तित्व शुदर्शन गौतम, चलचित्र निर्देशक तुलसी घिमिरे, गायक हिरण्य भोजपुरे तथा बिदेशी पाहुनाहरुमा कोलोराडाका सिनेटर लिन्डा न्युवेल, नेपालमा मेडिकल क्षेत्रमा उल्लेखनीय योगदान गर्ने डा जेम्स क्यान्सन्को कार्यक्रममा उपस्थिति रहने छ ।

त्यसैगरी सहभागीहरुलाई कार्यक्रममा सक्रिय सहभागी गराउन खेलकुद प्रतियोगिता, साहित्यिक कार्यशाला गोष्ठी, हेल्थ क्याम्प, युथ ट्यालेन्ट शो, ओम्यान फोरम, एनआरएन फोरम, रक्तदान, कबि गोष्ठी जस्ता कार्यक्रमहरु संचालन हुने प्रचारप्रसार संयोजक रमेश गुरुङले बताएका छन् ।

एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, नासाका अध्यक्ष डा रामचन्द्र बराल, रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष एबं मुल समितिका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, आयोजक समिति र उपसमितीका सबै सदस्यहरुले अमेरिका तथा क्यानडामा बस्ने नेपालीलाई सम्मेलनमा सहभागिताका लागि आग्रह गरेका छन् ।

आयोजक समितीले कार्यक्रमबारे थप जानाकारी लिन तथा रजिष्ट्रेसनको लागि कन्भेन्सनको आधिकारिक वेभसाइट “जोइन्ट कन्भेन्सन डट अर्ग” संचालन गरिएको जनाएको छ ।