इजरायल, २० साउन । पर्वत जिल्लामा आपतकालीन तथा साधारण सेवा दिने उद्देश्यले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्न एक सामाजिक संस्थाले अभियान थालेको छ ।
तत्काल उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लिनुपर्ने गम्भीर खालका बिरामी तथा अधिक रक्तश्राव भएकी सुत्करी र गर्भवती महिलाहरुले एम्बुलेन्स अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।
सो एम्बुलेन्स सञ्चालनका लागि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका पर्वतेली आबद्ध संस्था मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल शाखाले अभियान थालेको हो ।
सुविधा सम्पन्न एम्बुलेन्स खरिदका लागि आवश्यक पर्ने रकमको जोहो गरिरहेको र निकट भविश्यमा सवैको पहुँचमा पुग्ने गरी सर्वसुलभरुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष तथा संस्थाका अन्तर्राष्ट्रिय समन्वय संयोजक अनिरुद्र सुवेदीले बताए ।
एम्बुलेन्स अभावमा पर्वतबासीले समयमै उपचार गर्नबाट बञ्चित भएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था भएकाले सवैको साथ र सहयोगबाट पर्वत सेवा समाजले एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न लागेको अध्यक्ष सुवेदीको भनाइ छ ।
निकट भविश्यमै सञ्चालन गरिने एम्बुलेन्स पर्वतका ग्रामीण भेगका साथै सवै क्षेत्रमा सर्वसुलभरुपमा सञ्चालन गरिने छ । एम्बुलेन्स अभावमा पर्वतबासी पोखरा तथा अन्य क्षेत्रबाट चर्को शुल्क तिरेर सेवा लिँदै आएका थिए । समाजले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि सहज रुपमा सेवा पाउने अध्यक्ष सुवेदीले बताए ।
‘अधिक रक्तश्राव भएकी सुत्केरी तथा प्रसव बेथाले छटपटाएकी गर्भवतीलाई भनेको समयमा एम्बुलेन्स नपाउँदा धेरै समस्या रहेको थियो,’ समाज महासचिव दिया चापागाईले भनिन्, ‘वैदेशिक रोजगारीमा रहेका पर्वतेलीहरुले अगुवाईमा थालेको एम्बुलेन्स सञ्चालन अभियानले केही हदसम्म सो समस्या कम हुने छ ।’
महासचिव चापागाईले बिरामी पर्दा अत्यावश्यक सेवाको रुपमा रहेको एम्बुलेन्स सेवा सञ्चालनजस्तो कार्यमा देशविदेशमा रहनुहुने आम पर्वतवासी तथा अन्य महानुभावहरुलाई सक्दो सहयोग गरी पुण्य कमाउन आग्रह गरेकी छन ।
‘एम्बुलेन्स सेवा सञ्चालन गर्न आर्थिक संकलन अभियान थालिएको छ । धेरैजसोले स्वस्फुर्तरुपमा सहयोग पनि गरिरहेका छन,’ अध्यक्ष सुवेदीले भने, ‘एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग गर्ने महानुभावहरुको नाम र संकलीत रकम शिलालेख बनाएर सार्वजनिक गरिने छ ।’
एम्बुलेन्स खरिदका लागि संस्था सल्लाहकार भवानीप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको मातृभूमिका लागि पर्वत सेवा समाजले जनाएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा रहेका पर्वतेलीहरुद्वारा स्थापित मातृभूमिका लागि पर्वत सेवा समाजले यसअघि पर्वतमा निशुल्क आँखा शिविर, निशुल्क पाठेघर तथा स्त्रीरोग शिविर, दैबीप्रकोप पीडितलाई राहत लगायतका सामाजिक कार्य पनि गरेको थियो ।
एम्बुलेन्स सेवा सञ्चालन सँगै समाजलाई पर्वतेलीहरु वैदेशिक रोजगारीमा रहेका देशमा शाखा कार्यालय खोल्ने अभियान पनि थालिएको महासचिव चापागाईले जानकारी दिइन ।












प्रतिक्रिया