सन् १९०२ बाट ‘बुद्ध धर्म व नेपालभाष’ नामको म्यागाजिनबाट नेपालीले पत्रकारिता शुरु गरेको ईतिहास भेटिन्छ । पत्रकारिताको विस्तारक्रममा नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारीताको प्रारम्भ मोतिराम भट्टले गर्नुभएको हो । साहित्यका माध्यमबाट उहाँले वि.सं.१९५० मा ‘सुधासागर’ पत्रिका प्रकाशन गर्ने प्रयास गरेपनि १९५३ मा उहाँको निधन भएपछि १९५५ मा पण्डित नरदेवले सुधासागरको प्रकाशन गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । तत्पश्चात वि.सं. १९५८ बैशाख २४ गतेबाट गोरखा पत्रको नाम दिईएको बताईन्छ ।
अहिले नेपालमा पत्रपत्रिका, रेडियो, एफएम, टेलिभिजन, अनलाईनहरुको संख्या अनगिन्ति छ । देशमा कति वटा सञ्चारमाध्यम क्रियाशील छन् भन्ने आधिकारिक तथ्याङ्क नेपाल सरकारसँग पनि छैन । अझ अहिले अनलाईन पत्रिका त बिना व्यवस्थापन आफुखुशी देखिएका छन् । जसको व्यवस्थापन गर्न अनलाईन सञ्चालन निर्देशिका अगाडी सारिए पनि विवादित छ ।
क्रमिक ढङ्गले विभिन्न आरोह अवरोह गर्दै आएको नेपाली पत्रकारिताले वि.सं. २०१५ सालमा कामको शिलशिलामा डोटी आएका पत्रकार भैरव रिसालले वि.सं २०१८ सालबाट डोटीमा पत्रकारिताको बिजारोपण गरेको गौरवमय ईतिहास छ । तत्कालिन राष्ट्रिय सम्वाद समितिमा आवद्ध पत्रकार रिसालबाट प्रेरित भएका नेपाली साहित्य, मूर्तिकला एवं समाजसेवाका लागि ऐतिहासिक धरोहर, बरिष्ठ व्यक्तित्व एवं जिउँदो ईतिहास धन बहादुर मल्लले राष्ट्रिय समाचार समितिका लागि डोटीबाट काम गरेको पाईन्छ ।
त्यसपछि २०४२ सालमा कपल्लेकी डोटीका मेघराज भट्टले डोटीमै पहिलो पटक ‘दिपायल सन्देश’ नामक साप्ताहिक पत्रिका प्रकाशन गरे । त्यस यता विभिन्न सञ्चार माध्यमले प्रकाशन प्रसारण सेवा दिईरहेका छन् । तुलनात्मक रुपले डोटीमा सञ्चारको विकास बढ्दो क्रममा छ । संख्यात्मक रुपमा जिल्ला प्रशासन कार्यालयमा २५ वटा पत्रपत्रिका दर्ता भईसकेका छन् । रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र र तिन वटा एफएम छन् । एउटा अनलाईन पत्रिका पनि छ ।
तर नेपालमा मिडिया विकास क्रमसँगै पेशागत शुद्धतामा भने निकै समस्या देखिएको छ । पत्रकारितामा विषय नपढेका र कुनै शैक्षिक योग्यता बिना जोसुकैको प्रवेश, अर्काको नामबाट मिडिया दर्ता, सञ्चारको उद्धेश्यका लागि नभई राजनीतिक, आर्थिक लगाएतका निहित स्वार्थ सिद्धिका लागि मिडिया प्रयोग हुनु, कतिपय ठाउँमा दक्षताको कमि देखिनु दुर्भाग्य हो । न्यूनतम् शुल्कमा मिडिया दर्ता गराउने प्रावधान हुनु, संख्या बढि भएका कारण प्रशासनिक नियन्त्रण हुन नसक्नु, प्रेस काउन्सिल जस्ता आचार संहिता पालना गराउने निकायमा समेत राजनीतिकरण हुनु, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा राजनीतिकरण हुनु, यसै अवस्थामा बेरोजगारीका कारण सञ्चारकर्मीहरुले नियुक्ति पत्र समेत नपाईकन काम गर्नुर्ने बाध्यता, कुनै ठाउँका श्रमजिविहरु कुनै ठाउँमा मालिक देखिनु आदि कारणले पत्रकारिता धमिलिएको तितो यथार्थ हो ।
देशमा मिडिया संख्या अत्यधिक हुनुलाई एक आँखाले हेर्दा विभिन्न क्षेत्रका सकारात्मक र सुधारात्मक सवालहरु बढि उठान हुन्छन् । जसले नेपाल सरकारका लागि समेत राज्य व्यवस्था सञ्चालनमा टेवा पुग्दछ । जुन सबल पक्ष हो ।
तर, पछिल्लो चरणमा केन्द्रदेखि जिल्ला तहसम्म पत्रकारिता क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भईरहेको पाईन्छ । उद्धेश्य अनुरुप सूचना सम्प्रेषण गर्नेभन्दा पनि स्वार्थ सिद्धीका निम्ति ‘चाखे थाप्न’ सञ्चार माध्यम स्थापना गर्ने र पत्रकार बन्ने गरेको दुःखद अवस्था छ । अझ तिनै पत्रकार विभिन्न गैरसरकारी सँस्था सञ्चालन गरेर बसेका छन् । नेपाल पत्रकार महासंघ र गैसस महासंघमा पनि तिनैको प्रतिनिधित्व छ । तिनैले गैरसरकारी सँस्थाका सूचना, विज्ञापन सम्बन्धित व्यक्ति आवद्ध सञ्चार माध्यममा मात्र प्रकाशन, प्रसारण गरिरहेका छन् । तिनै सँस्थाका बढाईंचढाईंका समाचारमै समय खर्चिरहेका छन् । तिनै पत्रकार खुलेआम राजनीतिक धन्दामा छन् ।
विषेशतः म डोटी जिल्लामा क्रियाशील पत्रकारको नाताले जिल्ला तहको कुरा गर्दा अवस्था योभन्दा फरक पाएको छैन । विज्ञापन पाएमा मात्र पत्रिका प्रकाशन गर्ने, विज्ञापनदातालाई पेश गर्न मात्रै पत्रिका प्रकाशन गर्ने, विज्ञापन लुकाउने, आस्थाका आधारमा विज्ञापन वितरण गर्ने र माग्ने परिस्थिती बनेको देखिन्छ । मन पराएकाहरुलाई विभिन्न कार्यक्रममा सहभागि गराउने, आर्थिक लाभ हुने ठाउँमा सहभागि गराउने, बन्द सञ्चार माध्यमलाई समेत पहुँचका आधारमा विज्ञापन उपलब्ध गराउने, बन्द मिडिया हाउसको नाममा क्यालेण्डरको खेती गर्ने समस्याबाट डोटीले छुट्कारा पाउन सकेको छैन ।
यद्यपी नहिचकिचाई भन्ने हो भने डोटीमा सरकारी कार्यालयहरुले किनेर पत्रपत्रिका पढ्ने, एफएमहरु सुनिदिने, सञ्चारमाध्यममा उठाईएका सवालहरुलाई सम्वोधन गर्ने लगाएतका कुरा त परैका विषय हुन् । पत्रकारितामा राजनीतिक छनक प्रष्टै देख्न सकिन्छ । अझ भन्ने हो भने पत्रकारले नै पत्रकारका उठान गरेका समाचारमा बाहिर–बाहिर टिकाटिप्पणी गर्ने प्रवृत्ति हावि छ ।
पछिल्लो समयमा फेसबुकबाट पनि पत्रकारिता देशभर छाएको छ । बिहान उठेदेखि राती सुत्ने बेलासम्मका कुरा पत्रकार लगाएत अन्य जगतले पनि फेसबुकबाट व्यक्त गर्दछन् ।
हुन त फेसबुक पनि ‘सोसल मिडिया’का रुपमा लिईन्छ । तर त्यसको दुरुपयोग भएको पाईन्छ । एकापसमा आरोप प्रत्यारोपका दोहोरी चल्ने गरेका छन् । जसको प्रत्यक्ष, परोक्ष र धेरथोर असर पत्रकारितामा अवश्य परेको छ ।
यति मात्रै होईन एउटा मिडियामा आएका विषयमा अर्काे मिडियाले खण्डन गर्ने समेत प्रवृत्ति कायम छ । नियमले भन्दा कुनै मिडियाले उठाएको विषय चित्त बुझ्दो नभए सोहि मिडियाबाट खण्डन गर्नुपर्ने हो तर त्यो देखिंदैन कतै पनि ।
यतिसम्म कि केहि मिडियामा आफ्ना विचारहरु मात्रै राख्न थालेको भान हुन्छ । कसैको व्यक्तिगत जीवनसँग जोडेर प्रहार गरेको पनि पाईन्छ । पत्रकारिताको आचरणहिन बनेर रोष प्रकट पनि गरेको भेटिन्छ । अरुलाई सूचना दिने सञ्चार माध्यमले पेशागत आचरण पालना गर्न नसकेर मनमा क्रोधको भूत चढाएर विषय पस्कनु निकृष्टता, निचता शिवाय केहि पनि हुन सक्दैन ।
कतिपय पत्रकारहरुमा अध्ययनको कमि, कार्य दक्षता नभएका कारण, नियुक्ति पत्र र उचित पारिश्रमिक नपाएकै कारण चाहारिंदै–चाहारिंदै गएपछि आक्रामक ढङ्गले सञ्चारमाध्यममा पड्किने गरेको पनि पाईन्छ ।
कतिपय ठाउँमा समाचार लेखिदिने भन्दै कुनै व्यक्ति, सँस्थाहरुसँग बार्गेनिङ् गरेका हल्ला पनि सुनिन्छन् । यद्यपी यस्ता कुराको प्रमाण जुटाउन निकै कठिन पनि हुन्छ ।
पत्रकार न कसैका वर्ग मित्र हुन वा न कसैका वर्ग सत्रु नै । तर यहाँ बढाईंचढाईं र पक्षपोषणका समाचार उठान गर्ने, देखेका कमिकमजोरी लुकाएर बस्नेको विगविगी कम छैन । जस्ले कमजोरी वा सुधार गर्नुपर्ने कुराको उठान गर्छ त्यसलाई सार्वजनिक कार्यक्रममा सहभागि गराईदैन, विज्ञापन सूचनामा विभेद गरिन्छ, विपक्षी झैं बनाईन्छ ।
सत्य कुरा निश्पक्ष तरिकाले बाहिर ल्याउनु न कसैको चाकरी हो न कसैसँगको शत्रुता नै । सञ्चार क्षेत्र सामाजिक क्षेत्र भएकाले यसलाई कसैले आफु अनुकुल हुने गरी प्रयोग गर्न पाईँदैन र गर्नुहुँदैन पनि । कलम दौडाईरहँदा सञ्चार क्षेत्रमा राम्रो अभ्यास र योगदान गर्ने पत्रकार नभएका होईनन् भन्न कदापि खोजिएको होईन । तर सिमित चाखेहरुका कारण समग्र पत्रकारिता धमिलिएको अवश्य हो ।
आफु मिडिया सञ्चालक भएको अनुभव
मेरो पत्रकारिता जीवन धेरै भएको छैन । वि.सं. २०६७ साल श्रावण २२ गतेबाट परिक्षण प्रसारण शुरु गरेको डडेल्धुराको रेडियो अमरगढीबाट मेरो पत्रकारिताको शुरुवात हो । वि.सं. २०६४ मा विकास सञ्चार समूह डोटीले प्रदान गरेको आधारभूत पत्रकारिता तालिम र मेरो रुचिसँगै म पत्रकारितामा प्रवेश गरेको हुँ । वि.सं.२०६७ देखि २०७१ सम्म मैले दुई वटा एफएम डडेल्धुराको अमरगढी र डोटीको शैलेश्वरीमा काम गर्ने मौका पाएँ । वि.सं. २०७१ कार्तिक ३ बाट नजर नेपाली साप्ताहिक पत्रिका प्रकाशक तथा सम्पादक भएको र वि.सं. २०७२ कार्तिक २२ बाट रफ्तार न्यूज दैनिक पत्रिकाको प्रकाशक,सम्पादक भई काम गरेको अनुभव छ । त्यस्तै केहि अनलाईन तथा राजधानी राष्ट्रिय दैनिकमा डोटीबाट अहिले समाचारदाता भएर काम गर्ने अवसर जुरेको छ ।
मैले प्रकाशन तथा सम्पादन गरेको दैनिक पत्रिका शुरुवातमा केहि साथिहरुको साथमा अगाडी बढियो । डोटी जिल्ला सदरमुकाममा एउटा पनि दैनिक पत्रिका नभएपछि सर्वपक्षिय सहजतालाई मध्येनजर गरि सञ्चालन गरेको दैनिक पत्रिकामा कारणबस शुरुवाती सहकर्मीको निरन्तरता रहन नसकेपछि अधिक जिम्मेवारी एक्लैले पनि सम्हाल्न परेको अनुभव छ । अफसेटको मूख्य समस्या रहेको डोटी सदरमुकाम सिलगढीमा दैनिक पत्रिका सञ्चालन गर्दा केहि दिन प्रकाशन हुने, केहि दिन बिराउनु पनि पर्ने, आजको पत्रिका भोलि पनि बजारमा पठाउनु पर्ने समस्याबाट उभो लाग्न नसकेपछि दैनिक पत्रिकालाई निरन्तरता दिन नसकिने अनुभव छ । यस अवस्थामा विभिन्न पक्षका टिकाटिप्पणी आलोचना पनि नआएका होईनन् । कोहिले भन्छन् आज पत्रिका किन ढिलो ? कोहिले भन्छन् आज पत्रिका किन आएन ? कोहिले भन्छन् विज्ञापन भएको दिन मात्रै पत्रिका छापिन्छ नि ? आन्तरिक बाध्यता जेसुकै भए पनि यस्ता बाहिरका तमाम आरोपसमेत खेप्नुपर्ने अवस्था नआएको होईन । तर यस्ता प्रश्नकर्ता र आरोप लगाउनेहरुमा मेरो प्रतिप्रश्न –‘तपाईं नै डोटी सदरमुकाम सिलगढीमा दैनिक पत्रिका चलाउनुहोस् र अनुभव बटुल्नुहोस् ।’
एकातिर भौगोलिक कठिनाई, अर्काेतिर पत्रकारितामा स्वार्थ लिप्सा, योग्यता, दक्षताको कमि, राजनीतिकरण लगाएत कारणले अहिलेको नेपाली परिवेशमा विशुद्ध पत्रकारिताको कल्पना गर्न समेत सकिंदैन । किनी स्थिती भयावह छ । यसका आधिकारिक नियमनकारी निकाय नै यसबाट टाढा रहन सक्दैनन् त अरुका के कुरा ?
मैले डोटीमा बसेर वि.सं. २०६९ बाट पत्रकारिता गरेदेखि प्रेस काउन्सिल नेपालको उपस्थिती केहि दिन पहिले यसैपटक देखेको हुँ । अनि कसरी आचारसंहिताको अनुमगन हुन्छ र व्यभिचारीहरु किनारा लाग्छन् ?
नेपाल पत्रकार महासंघले आचार संहिता त के पालना गर्नसक्थ्यो र ? किनकी माथि उल्लेखित परिस्थितीबाट टाढा रहेको महासंघ पनि छैन । पत्रकारिताका ऐन, नीति, नियम, आचारसंहिता मिचेकैहरु न हुन् । तसर्थ पनि तत्कालै नेपाली पत्रकारिता उँभो लाग्ने देखिंदैन ।
अन्तमा नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को आरम्भबाट न्यूनतम पारिश्रमिक कडाईकासाथ लागु गरिने भनिएको छ । प्रेस काउन्सिलले पत्रकारको योग्यता तोक्ने, परिक्षा लिने लगाएतका कुरा अगाडी सारेको छ । जुन स्वागतयोग्य त छन् नै, तर यसको प्रभावकारी कार्यान्वयनमा भने शंका नै छ । मेरो सुझावका रुपमा भन्ने हो भने जबसम्म गल्ती गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई कडा कानुनी कार्वाही हुँदैन, च्याउँ खुले झै खुलेका मिडियाहरु मर्ज गरेर हुन्छ या कसरी हुन्छ व्यवस्थापन गर्न सकिंदैन तबसम्मका लागि समस्या समाधान नहुने प्राय निश्चित छ । सञ्चार जगतमा सुधार गर्न राज्यले पनि नियमित अनुगमनको प्रभावकारी संयन्त्र बनाउनु पनि अपरिहार्य छ ।
(लेखक प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष हुन् ।)















प्रतिक्रिया