काठमाडौँ, ५ भदौ । मलेसियाले नेपालबाट घर व्यवस्थापनसम्बन्धी कामदार ‘हाउस म्यानेज वर्कर’ लैजान सक्ने संकेत गरेको छ ।
नेपाल भ्रमणमा रहनु भएका मलेसियाली मानव संशाधन मन्त्री दातुक रिचार्ड रियट जइम र नेपालका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङवीच बिहीबार भएको छलफलमा मलेसियाली सरकार हाउस म्यानेज वर्कर’ लैजान सकारात्मक देखिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयमा १ घण्टा भन्दा बढी भएको छलफलपछि मन्त्री जइमले नेपालीहरु कामप्रति बफादार र धैर्यवान भएकाले मलेसियाको चासोमा नेपाली कामदार रहेको बताउनु भयो ।
उहाँले नेपाली कामदारको सुरक्षा र श्रम अधिकार व्यवस्थित गर्न छिट्टै दुई पक्षीय सम्झौता (एमओयू) गरिने पनि विश्वास दिलाउनु भयो ।
उहाँले घर व्यवस्थापन सम्बन्धी काममा लैजान चाहेको पनि बताउनुभयो ।
नेपाल र मलेसियाबीच एमओयु गर्नका लागि सहसचिवस्तरमा दुईवटा समिति निर्माण गरिने श्रम तथा रोजगार राज्य मन्त्री गुरुङले जानकारी दिनुभयो ।
दुई देशका सचिवस्तरमा छलफल भई दुई महिनाभित्र एमओयु हुने गुरुङको भनाई थियो । अहिले मलेसियामा झण्डै पाँच लाख नेपाली कामदार छन् ।
















प्रतिक्रिया