काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको फिल्म ‘बर्दी’को टिजर, गीत र अडियो सार्वजनिक भएको छ । बनेपास्थित ग्राण्ड समर प्यालेस रिर्सोटमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ फिल्म निर्माता छविराज ओझा, फिल्म वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी, अरनिको टेलिभिजनका एमडी शंकर अधिकारी, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली र फिल्मका कलाकारले संयुक्त रुपमा अडियो सार्वजनिक गरे ।
कार्यक्रममा प्रस्तुतकर्ता आचार्यले आफ्नो फिल्मले सामाजिक सन्देश दिने बताए । प्रमुख अतिथि निर्माता ओझाले लामो समयदेखि सञ्चारकर्ममा सक्रिय कुमारको फिल्म दर्शकमाझ हिट बनोस् भन्ने शुभकामना दिए ।
कार्यक्रममा निर्माता आचार्यको जन्मदिन पनि मनाइएको थियो । निर्माता ओझाले आचार्यको जन्मदिनका अवसरमा उनका छोरा प्रवेशलाई एभरेष्ट फिल्म एकेडेमीमा निशुल्क अध्ययन गराइदिने घोषणा गरे । संगीतकार विकास चौधरीले फिल्मको संगीतको बारे चर्चा गरेको कार्यक्रममा फिल्मको टिजर र दुई गीत सार्वजनिक गरिएको थियो ।
प्रवेश फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विजयविक्रम बस्नेतको निर्देशन छ । फिल्ममा कुशल थापा, अनु शाह, वीरेन डिसी, रुपा खनाल, भानुप्रताप, म्याण्डी बाबुलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानी छ । फिल्ममा गणेश श्रेष्ठको छायांकन, विकास चौधरीको संगीत, प्रदिप श्रेष्ठको नृत्य, रविन्द्र खड्का र साहिल खानको सम्पादन, कुमार महर्जनको द्वन्द्व छ । रिलिज डेट फाइनल नभईसकेको फिल्मलाई श्रीराम बालाजी फिल्मस् र एफडी कम्पनीले वितरण गर्नेछ ।















प्रतिक्रिया