३० आश्विन २०८३, शुक्रबार

बगायो परिवारै बबईले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghana Khatriदाङ, ५ भदौ । दाङ डुरुवा–२ की १२ वर्षीया घना खत्रीले गत वर्ष बाबु गुमाइन्। भदौ १२ गते बुबाको वार्षिकीको चाँजोपाँचो मिलाइँदै थियो, १५ दिनअघि नै विपत्ति बनेर बबई नदी घर छिर्‍यो।

तीन दिनको वर्षापछि उर्लेको बाढीले घरमा रहेका सबैलाई सोहोरेर लग्यो। घनाको परिवारमा कोही बचेन। न आमा बचिन्, न दिदी–बहिनी। नितान्त एक्ली बनेकी छिन् घना। बबईको बाढीले उनको जीवनमा असह्य कहर ल्याइदिएको छ। न उनको घर छ, न कोही सहारा।

सबै सुतिरहेका थिए। मध्यरात घरभित्र पानी पस्यो। दिदी उर्मिलाका पति (घनाका भिनाजु) शेरबहादुर भुजेल एक महिनाकी छोरी र घनालाई लिएर हतार–हतार निक्लिए।

उनीहरू गाउँदेखि अलि पर अग्लो डाँडामा गएर बसे। आमा लुमकुमारी, दिदी उर्मिला र बहिनी लीला धेरैबेर भइसक्दा पनि घरबाट निक्लेनन्। खोज्न जाने आँट पनि कसैमा भएन। बबईको भेलले गाउँ पूरै ढाकिसकेको थियो। घरहरू भत्किरहेका थिए।

तैपनि, आउलान् भन्ने आस लागिरह्यो घनालाई, कतै जोगिएर बसेका होलान्। उज्यालो भयो तर कोही आएनन्। बबईको भेल कम भइसकेको थियो।

गाउँलेले बाढीमा पसेर खोजतलास सुरु गरे। घरदेखि केही पर आमा र दिदी मृत भेटिए। शव भेटिएको हल्ला सुने पनि घनालाई आफ्नै आमा, दिदी वा बहिनी होलान् भने विश्वास भएन।

‘गाउँकाले लास निकालेपछि नजिकै गएर हेरेँ,’ उनले बुधबार सुस्केरा हालिन्, ‘आमा र दिदी मरिसकेछन्।’

८ वर्षीया बहिनी लीला त बाँचकै होलिन् भन्ने आस थियो, उनको आस चकनाचुर भएको समाचार आजको नागरिकले समाचार छापेको छ । शनिबार मध्याह्न बहिनी लीला पनि घरबाट अलि टाढा झ्याङमा अड्किएको अवस्थामा मृत फेला परिन्। ‘बहिनी त बाँचेकी होली भनेको ऊ पनि मरिसकेकी रैछे,’ घना भक्कानिइन्, ‘मेरा आफ्ना भन्ने सबै मरिसके, अब कोही छैन।’

सिंगो परिवार बबईमा काल भएपछि यी अबोधको अहिले बिचल्ली भएको छ। तीन दिन छिमेकीको घरमा रात कटाइन्। त्यसपछि मानपुर वनकट्टाका ठूलोबुबाकहाँ पुगिन्। ठूलोबुबा भेट्दा उनलाई भगवान मिलेजस्तो भयो। अहिले उनी ठूलोबुबाकै सहारामा छिन्।

घनाले अझै त्यो सत्य पत्याउन सकेकी छैनन्। ‘तिमीहरूलाई धेरै पढाएर मात्रै मर्छु भन्नु हुन्थ्यो,’ उनले भनिन्, ‘अझै पनि जिउँदो भएर आउनुहुन्छ कि जस्तो लागिरहेछ।’

अब उनले आमाको सपना पूरा गर्ने उद्देश्य लिएकी छन्। ‘आमा मलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो, आमाको सपना पूरा गर्न पाए हुन्थ्यो, तर कसले पढाउला ररुु उनी भन्छिन्।
सधैं ठूलोबुबाकहाँ बस्ने सोचेकी छैनन्।

घनाले कुनै राहत सामग्रीको अपेक्षा गरेकी छैनन्। पढाइदिने कोही दाता आइदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ। ‘मैले चामल लगेर के गर्नेरुु उनले भनिन्, ‘मलाई पढाउने मान्छे कोही आइदिए हुन्थ्यो।’

बाढीले घर नै लगेपछि उनका किताब, कापी के जोगिन्थे। लाज ढाक्न गाउँलेले दिएका थोत्रा लुगा बेरेकी छन्। ‘किताब–कापी केही छैन,’ उनले भनिन्, ‘न लगाउने लुगा छ।’

घनाका भिनाजु शेरबहादुर श्रीमती उर्मिलालाई गुमाउँदाको पीडाबाट उत्रिएका छैनन्। ससुरा (घनाका बुबा) को वार्षिक तिथिका लागि श्रीमती उर्मिलासँगै शेरबहादुर पनि ससुराली गएका थिए।

सुत्केरी श्रीमतीलाई चाँडो निक्लन भन्दै हतारहतार बाहिरिए। बाहिर धेरैबेर कुरे। सुत्केरी श्रीमती कहिल्यै नफर्कने गरी गइन्।

‘मर्ने त मरेर गइगयो,’ उनले भने, ‘नवजात छोरीलाई कसरी बचाउँर ?’ श्रीमतीको नासो बच्चीलाई केही नभइदिए हुन्थ्यो।’