१९ कार्तिक २०८३, बिहिबार

खुटियाको कटान रोक्न संघर्ष समिति गठन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १५ साउन । खुटिया नदीले गरेको कटान रोक्नका लागि सरोकारवाला निकाय गम्भीर नदेखिएपछि स्थानीय बासिन्दाहरु आन्दोलनमा उत्रने भएका छन् ।

३४ वर्षदेखि खुटिया नदीले गरेको कटान रोक्नकालागि माग गर्दै आएपनि हालसम्म कुनै निकायले ध्यान नदिएको स्थानीय बासिन्दाहरु बताउँछन् । २०३९ सालदेखि खुटिया नदीले कटान गर्न थालेपछि तटबन्धको माग गर्न लागेको तर हालसम्म सुनुवाई नभएको स्थानीय बासिन्दा गौरीलाल दमाईले बताउनुभयो । सालसालै नदीले कटान गरेर वस्तीनै प्रभावित हुनलाग्दा समेत कहिँकतैबाट सुनुवाई नहुँदा निकै दुःखी भएको उहाँको भनाई छ । त्यतिखेर खुटियाको आकार सानो थियो तर अहिले कटान तिब्ररुपमा बढ्दै गएपछि ठूलो रुप लिएपछि स्थानीय बासिन्दाहरु आत्तिएकाछन –उहाँले भन्नुभयो ।

खुटिया नदीले कुलोको बाँध र घेचकट्ला भन्ने ठाउँमा गरेको कटानीले पानी वस्तीतिर आउने देखिएपछि स्थानीय बासिन्दाहरु बढी त्रसित बनेका हुन । सो स्थानबाट बस्तितिर पानी आउन करिब २० मिटरमात्र दूरी रहेको छ । उक्त दूरी पार गरेर पानी पश्चिम आएमा खुटिया नदीनै पश्चिम भएर बग्ने सम्भावना बढेको छ । खुटिया पश्चिम बग्ने अवस्था आएमा अत्तरिया नगरपालिकाको वार्डनं.४,५,६,७,८,९ र १० र धनगढी उपमाहानगरपालिकाको सवै भाग प्रभावित हुने देखिएपछि स्थानीय बासिन्दाहरुले समयमै तटबन्धको माग गरेका हुन । अहिले सानो प्रयासले खुटियाको कटान रोक्न सक्ने अवस्था रहेपनि सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण नभएकाले शुक्रवार सरोकारवाला निकायका प्रमुखहरुलाई बोलाएर स्थानीय सूर्योदय सामुदायिक वन समितिले स्याउलेमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । तर बोलाएका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएनन् । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत शितलसिंह ओखेडा बाहेक अरु जिल्लास्थित सरोकारवाला निकायका मानिसहरु पुगेका थिएनन् ।

खास गरेर स्थानीय बासिन्दाहरुले जिल्ला विकास समितिका प्रतिनिधित्व चाहेका थिए । जिल्ला विकास समितिको प्रतिनिधिको प्रतिक्षामा करिव २ घण्टा कार्यक्रम ढिलो गरिएको थियो । स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले कार्यक्रममा जान नभ्याउने भएपछि राजस्व फाँटका प्रमुख योगेन्द्र चन्दलाई पठाउनुभएको थियो तर चन्द कार्यक्रममा नगई बाटोबाट फिर्ता भएपछि स्थानीय बासिन्दाहरु निकै आक्रोशित भएकाछन् । जिल्ला विकास समितिले खुटिया नदी लगायतका नदीमा ठेक्का दिएर राजस्व लिने काम गरेपनि स्थानीय विकास निर्माणमा रकम नुछुट्याएको भन्दै विरोध जनाउँदै आएकाछन् । यस अघिका जिविसका स्थानीय विकास अधिकारीले खुटियाको तटबन्धकालागि सहयोग गर्ने बचन दिएपनि सार्वजनिक कार्यक्रममा उपस्थित भएर प्रतिबद्धता नजानएपछि स्थानीयलाई ठगेको महशुस गरेकाछन् । स्थानीय बासिन्दा गणेश बोगटीले राजस्व फाँटका प्रमुख चन्दलाई १२ बजेतिर फोन गर्दा फोन नउठेको बताएकाछन तर चन्दले ११ बजे सो स्थानमा पुगेको कोही मानिस नदेखेपछि फिर्ता भएको बताउनुभएको छ । स्थानीय कर्ण बोगटीलाई भेटेर मानिसहरु कोही नभेटेपछि फिर्ता भएको बताउनुभएको छ तर बोगटीले शुक्रवार आफू स्याउलेमा नभई अत्तरियामा रहेको बताउनुभयो । आफन्त विरामी भएर अत्तरियाको पद्मा अस्पतालमा रहेकोले जिविसका चन्दसंग भेट नभएको बताउनुभएको छ ।

खुटिया नदी नियन्त्रणकालागि जिविस लगायतका निकायको के भूमिका हुनसक्छ भन्ने बारेमा अन्तक्र्रिया राखेका थिए । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय,भू–संरक्षण कार्यालय , जिविस कार्यालय कैलाली लगायतका करिब दर्जन सरोकारवाला निकायलाई खबवर गरेकोमा जिल्ला प्रशासन बाहेक अन्य निकाय नआउँदा स्थानीयहरु निकै दुःखी भएका थिए । खुटिया कटान नियन्त्रणकालागि सरोकारवाला निकायले समयमा ध्यान दिएनन् भने अत्तरिया नगरपालिका र धनगढी उपमहानगरपालिकाका बासिन्दाहरुको भविष्य उजाड हुने अवस्था आउनसक्ने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेकाछन् । वर्षातको समयमा खुटिया किनारका बासिन्दाहरु जाग्राम बस्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दा तथा थरुहट तराई पार्टीका नेता माधव चौधरीले बताउनुभयो । खुटिया नदीमा तटबन्ध नहुँदा खुटिया पुलभन्दा दक्षिणतिरबाट नदी गाउँपस्ने अवस्था भएकाले तत्काल रोक्नकालागि जिविससंग माग गरेको उहाँको भनाई छ । जिविसले खुटियाबाट पैसा लैजाने तर खुटिया बचाउन खर्च नगरेकाले ठूलो समस्या आउन सक्ने भन्दै खबरदारी गरेको चौधरीको भनाई छ ।

खुटिया किनारमा रहेका करिब ७०० घरधुरीका मानिसहरु वर्षातको समयमा निकै चिन्तित हुने गरेको स्थानीय बासिन्दा जगत्रादेवी सिंहले बताउनुभयो । तटबन्धकालागि बारम्वार जिल्लामा जाने गरेपनि कसैले सुनुवाई नगरेको उहाँको भनाई छ । स्थानीय बासिन्दाको जिविस लगायतका अन्य निकायमा कुनै पहुँच नभएकाले आन्दोलन बाहेक अन्य विकल्प नभएको शेरबहादुर अधिकारीले बताउनुभयो । आन्दोलन र चक्काजाम गरेमात्र सुन्ने चलन भएकाले अव खुटिया क्षेत्रका जनताले सशक्त आन्दोलनमा उत्रने चेतावनी स्थानीय बासिन्दा टेकबहादुर देउवाले बताउनुभयो ।

शुक्रवार स्याउलेमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाले उठाएको कुराप्रति आफ्नो पार्टीको समर्थन रहेको बताउँदै जनताका आन्दोलनमा ऐक्यवता रहने जनाएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका हिक्मत बहादुर शाह,एमालेका कृष्ण सुवेदी,राष्ट्रिय जनमोर्चाका नन्दराज भट्ट, माओवादी केन्द्रका टंक कोइराला ,थरुहट तराई पार्टीका मनिराम चौधरी, राप्रपा नेपालका प्रेम बोगटी,राप्रपाका लक्ष्मी भण्डारी,इलाका वन अत्तरियाका प्रमुख कृष्ण बाहोरा लगायतकाले जनताले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने जानकारी दिनुभएको थियो । रमेश बोगटीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व सूर्योदय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छबि सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।