११ कार्तिक २०८३, बुधबार

वामदेवले यसरी बचाए माओवादी नेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautamकाठमाडौं, १५ साउन । माओवादीले नेपाली सेनामाथि पनि हमला बोलिसकेपछि अवस्था यस्तो थियो कि, माओवादी–सेना जसले भेटे पनि एकले अर्काे पक्षलाई सिध्याउने मात्रै सोच राख्थे । त्यसवेला राजधानीबाट पक्राउ परेका कतिपय माओवादी नेता–कार्यकर्ता अझै बेपत्ता छन् । तर, तीमध्ये केहीलाई भने वामदेवले मृत्युको मुखबाट बचाएका छन् ।

भैरवनाथ गणमा लामो समयदेखि बेपत्ताको अवस्थामा राखिएका तत्कालीन नेताहरू कृष्ण केसी, हिमाल शर्मालगायतका नेताहरूको सन्दर्भमा गौतमले आफ्नै स्रोत परिचालन गरी अवस्था पत्ता लगाए । त्यसपछि गौतमले सप्रमाण तत्कालीन प्रधानसेनापति, राजालगायतसम्म पुगी जीवनरक्षाका लागि काम गरे । गौतमले आफूले प्रचण्डसँगको दोस्तीकै कारण मृत्युको मुखबाट माओवादीका धेरै नेता कार्यकर्तालाई बचाउन भूमिका खेलेको बताए । ‘माओवादीका धेरै नेता कार्यकर्तालाई युद्धकालमा सुरक्षित अवतरण गराउन मैले भूमिका खेलेको छु । त्यो मैले मेरो पार्टी भनेर गरिनँ । प्रचण्डका कारण मैले सबै गरेँ । प्रचण्डसँग मेरो दोस्ती भयो र उहाँले मलाई जीवनभरिको दोस्तीका निम्ति प्रस्ताव राख्नुभयो । मैले माओवादीका नेता–कार्यकर्तालाई मृत्युको मुखबाट बचाएँ,’ गौतमको भनाइ थियो ।

तत्कालीन अवस्थामा भैरवनाथ गणमा रहेका माओवादी नेता हिमाल शर्मा पनि आफूहरूको जीवनरक्षाका लागि गौतमले भूमिका खेलेको बताउँछन् । ‘हामीले नै अनुभूति हुने गरी उहाँले सचेततापूर्वक हाम्रो जीवनरक्षाका लागि भूमिका खेल्नुभएको थियो,’ शर्माले भने, ‘हामीले पनि उहाँ (वामदेव)लाई पछि धन्यवाद दिएका थियौँ ।’ (नयाँ पत्रिकाबाट)