धनगढी, १४ साउन । बस सेवा सञ्चालनका विषयलाई लिएर सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडीमालिका यातायात प्रालिबीचको विवाद चर्किदै जाँदा धनगढीमा दुवै पक्षबीच झडप भएको छ ।
शुक्रबार गन्तव्यतर्फ गइरहेको बडिमालिका यातायातको बा ४ ख ८७७ नंको बसमा तोडफोड भएपछि भएको बादविवाद र झडपमा एकजना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट सो बसमा क्षति पुगेको छ । प्रहरीले लाठी प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटासहित छ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच, कर्णाली रिभर साइड यातायात र सुदूरपश्चिम यातायात व्यवसायी समितिले प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै भोलि यातायात बन्द गर्ने घोषणा गरेको छ ।
विवादको कारणबारे बुझ्न खोज्दा सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायातका पदाधिकारीसँग सम्पर्क हुन सकेन । रासस












प्रतिक्रिया