काठमाडौं, १५ साउन । प्रचण्ड र वामदेव गौतम कम्युनिस्ट आन्दोलनका चर्चित नेता । दुवै नेता आफ्ना अभिव्यक्ति र कार्यशैलीका कारण वेलावेलामा विवादमा पनि पर्छन् ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गर्नुअघिसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच घनिष्ट सम्बन्ध थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, अहिले भने यी दुईबीच सम्बन्धमा खटपट आउने संकेत देखिएको छ ।
प्रचण्ड–वामदेव पहिलो भेट
दुई नेताको पहिलो भेट २०५६ सालको आमनिर्वाचनअगाडि भएको हो । दोस्रो भेटघाट भने कम्युनिस्ट पार्टीहरूको बहुचर्चित सिलिगुढी वार्ताका क्रममा भएको थियो । ‘हाम्रो पहिलो भेट दण्डपाणि न्यौपानेजीको सहयोगमा भएको थियो,’ प्रचण्डसँगको पहिलो भेटको स्मरण गदै गौतमले नयाँ पत्रिकासँग भने ।
पहिलो भेटमै प्रचण्डले गौतमलाई सदाकालका लागि साथी बन्न प्रस्ताव राखेका थिए । एकले अर्कोलाई उपयोग नगर्ने सर्तसहित प्रचण्डले त्यस्तो मित्रताको प्रस्ताव राखेको गौतमले खुलाए । ‘पहिलो भेटमा प्रचण्डले मलाई भन्नुभयो, हामी सदाकालका लागि मित्र बन्न सक्छौँ–सक्दैनौँ रु मैले भनेँ, सकिन्छ । म सक्छु । उहाँले मलाई भन्नुभयो, तपाईंले पनि मलाई उपयोग नगर्ने, मैले पनि तपाईंलाई उपयोग नगर्ने, तपार्इंको पार्टीले पनि मेरो पार्टीलाई उपयोग नगर्ने, मेरो पार्टीले पनि तपाईंको पार्टीलाई उपयोग नगर्ने’ गौतमले प्रचण्डसँगको मित्रताको प्रसंग उल्लेख गर्दै संसद् बैठकमै भनेका थिए, ‘यो प्रस्ताव मैले राखेको होइन, प्रचण्डले राखेको प्रस्ताव थियो ।’ त्यसयता दुई नेताबीचको सम्बन्धमा केही परिघटनाले उतारचढाव ल्याए पनि सम्बन्धमा घनिष्ठता देखिन्छ ।
तीनपटक खटपट
प्रचण्ड–वामदेवबीच मित्रतामा केही परिघटनाले भने बादल पनि लागेको छ । अर्थात् दुईबीचको सम्बन्धमा खटपट पनि ल्याएको छ । सबैभन्दा पहिले खटपट गौतम गृहमन्त्री हुँदा माओवादी नियन्त्रण र नियमनका लागि संसद्बाट ल्याउन लागेको अध्यादेश थियो । गौतमले तत्कालीन विद्रोही माओवादीलाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा फौज परिचालन गर्ने गरी आतंककारी तथा विध्वंसात्मक विधेयक ल्याउन खोजेका थिए । त्यसवेला माओवादीले नेपाली सेनामाथि आक्रमण गरिसकेको थिएन । सो विधेयकलाई संसद्ले अस्वीकृत गरे पनि प्रचण्ड–गौतमबीच यो घटनाले सम्बन्धमा दरार पैदा गरेको तत्कालीन अवस्थामा प्रचण्डका सहयोगीका रूपमा काम गरेका विकेश श्रेष्ठ बताउँछन् । त्यसपछि पनि गौतमसँग प्रचण्डको दुईपटक गम्भीर मतभेद भएको थियो । ती मतभेद एमालेभित्रको आन्तरिक समीकरणका कारण भएको थियो ।
२०६८ सालमा माधव नेपाल नेतृत्वको सरकारको विकल्पमा प्रचण्डकै भाषामा झन्डैझन्डै छापामार शैलीमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने । त्यसवेला गौतम खनाललाई प्रधानमन्त्री बनाउने पक्षमा थिएनन् । गौतमको रुचिवेगर नै माओवादीले खनाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि वामदेव चिढिएका थिए । ‘त्यो उहाँहरूको पार्टीभित्रको आन्तरिक विवादका कारण हुनसक्छ, त्यसवेला पनि सम्बन्धमा केही गम्भीर मतभेद सिर्जना भएका थिए,’ विकेशले नयाँ पत्रिकासँग भने, ‘प्रचण्ड–वामदेव सम्बन्धमा देखिएको मतभेदको त्यो दोस्रो शृंखला थियो ।’
तेस्रो विवाद पनि एमालेभित्रकै आन्तरिक समीकरणलाई लिएर भएको थियो । एमालेभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा केपी ओली ‘रुढ’ थिए । उनी माओवादीलाई उग्रवामपन्थी भन्दै खरो आलोचना गर्थे । खिलराज रेग्मी नेतृत्वको सरकारका वेला गौतमले ओलीसँग पार्टीभित्रको आन्तरिक समीकरणमा गठजोड गर्दै जान थाले । त्यसपछि नै ओली एमालेमा बलियो बन्दै गए । एमालेभित्रको ओलीको उदयलाई माओवादीले रुचाएको थिएन । तर गौतम ओलीलाई नै स्थापित गराउने गरी खुला हुँदै गए । ओली–गौतम गठबन्धनले पनि प्रचण्ड गौतमबीचको सम्बन्धमा केही दूरी बढाएको थियो । ‘माओवादीलाई देख्नै नचाहने ओलीसँग गौतमको बाक्लिँदै जान थालेको सम्बन्धले पनि अध्यक्ष र गौतमबीचको सम्बन्धमा केही दरार ल्याएको थियो,’ श्रेष्ठ बताउँछन् ।
ओली नेतृत्वको सरकारको गठबन्धन तोड्ने माओवादी निर्णयपछि भने वामदेव प्रचण्डसँग दुःखी भएका छन् । ‘म आज दुःखी छु,’ गौतमले संसद् बैठकमा भनेका थिए, ‘पार्टी अध्यक्षका विरुद्ध अविश्वास प्रस्ताव छ, अविश्वास प्रस्ताव दर्ता गर्ने नायक घनिष्ठ मित्र कमरेड प्रचण्डको नाममा पहिलो हस्ताक्षर भएको छ, यसले म असाध्यै दुःखी छु ।’
यसरी बचाए वामदेवले माओवादी नेता
माओवादीले नेपाली सेनामाथि पनि हमला बोलिसकेपछि अवस्था यस्तो थियो कि, माओवादी–सेना जसले भेटे पनि एकले अर्को पक्षलाई सिध्याउने मात्रै सोच राख्थे । त्यसवेला राजधानीबाट पक्राउ परेका कतिपय माओवादी नेता–कार्यकर्ता अझै बेपत्ता छन् । तर, तीमध्ये केहीलाई भने वामदेवले मृत्युको मुखबाट बचाएका छन् ।
भैरवनाथ गणमा लामो समयदेखि बेपत्ताको अवस्थामा राखिएका तत्कालीन नेताहरू कृष्ण केसी, हिमाल शर्मालगायतका नेताहरूको सन्दर्भमा गौतमले आफ्नै स्रोत परिचालन गरी अवस्था पत्ता लगाए । त्यसपछि गौतमले सप्रमाण तत्कालीन प्रधानसेनापति, राजालगायतसम्म पुगी जीवनरक्षाका लागि काम गरे ।
गौतमले आफूले प्रचण्डसँगको दोस्तीकै कारण मृत्युको मुखबाट माओवादीका धेरै नेता कार्यकर्तालाई बचाउन भूमिका खेलेको बताए । ‘माओवादीका धेरै नेता कार्यकर्तालाई युद्धकालमा सुरक्षित अवतरण गराउन मैले भूमिका खेलेको छु । त्यो मैले मेरो पार्टी भनेर गरिनँ । प्रचण्डका कारण मैले सबै गरेँ । प्रचण्डसँग मेरो दोस्ती भयो र उहाँले मलाई जीवनभरिको दोस्तीका निम्ति प्रस्ताव राख्नुभयो । मैले माओवादीका नेता–कार्यकर्तालाई मृत्युको मुखबाट बचाएँ,’ गौतमको भनाइ थियो ।
तत्कालीन अवस्थामा भैरवनाथ गणमा रहेका माओवादी नेता हिमाल शर्मा पनि आफूहरूको जीवनरक्षाका लागि गौतमले भूमिका खेलेको बताउँछन् । ‘हामीले नै अनुभूति हुने गरी उहाँले सचेततापूर्वक हाम्रो जीवनरक्षाका लागि भूमिका खेल्नुभएको थियो,’ शर्माले भने, ‘हामीले पनि उहाँलाई पछि धन्यवाद दिएका थियौँ ।’















प्रतिक्रिया