काठमाडौं, १३ साउन । राप्रपा अध्यक्ष पशुपति समशेर राणाले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले प्रचण्डलाई समर्थन गर्ने स्पष्ट भएपनि सरकारमा सहभागी हुने वा नहुनेवारे अहिले छलफल भैरहेको बताए ।
उनले भने, ‘सरकारमा जाने वा नजानेवारे अहिले छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर हामी एउटै निश्कर्षमा पुग्छौं ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त गरे ।
केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेशको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे । उनले अघि थपे, ‘स्भाविक रुपमा अब ओलीजीको विरुद्धमा उभिएकाले अब बन्ने प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्छौं ।’
पछिल्लो समय नेपालको राजनीतिमा चिनियाँ कार्ड प्रयोग भैरहेको छ अरे नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘तासको पत्ताजस्तो तुरुप प्रयोग गर्नुहुँदैन, नेपालको पराष्ट्र नीति एउटै छ, हामी दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं ।’












प्रतिक्रिया