– झलक पाली
डोटी, १२ साउन । “मेरो सासुआमा बित्नु भएको एक वर्ष भो । उहाँ निकै बिरामी भएपछि रगतको तत्काल आवश्यकता थियो । भाग्यवश मैले रगतदान गर्न मौका पाएँ र मेरो सासुआमा झण्डै एक महिना बाँच्नु भो । रक्तदान गर्दा बाँचेपछि मेरी ‘सासुआमा’ले मलाई बुहारी होईन तिमि मेरो ‘आमा’ हौ भन्नु भाथ्यो ।”
यो भनाई स्वेच्छिक रक्तदाता एवं पद्यम पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गीता जोशीको हो ।
नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले बुधबार डोटी सदरमुकाम सिलगढीमा आयोजना गरेको रक्त सञ्चार सेवाको स्वर्ण जयन्ती समारोहमा भावविह्वल हुँदै उनले यस्तो अभिव्यक्ति दिईन् ।
“रगत अभावले मानिस अन्तिम अवस्थामा हुँदा कस्को रगत हो ? कस्तो रगत हो ? भनेर सोध्दैन”–उनले भनिन् – “तसर्थ जीवनको सर्वाेत्कृष्ट दान रक्तदान हो ।”
समाजमा अझै पनि रगत दान गर्नुहुँदैन भन्ने मानसिकता विद्यमान रहेको र त्यसमा पनि महिलाले त सन्तान जन्माउने भएकाले झनै दिनुहुदैन भन्ने मान्यता रहिआएकोमा रगतदानबारे अन्धविश्वास हटाउन सबैले सचेतना फैलाउनु पर्नेमा उनको जोड थियो । उनले भनिन्– “मैले ५ पटक रक्तदान गर्ने मौका पाएको छुँ, व्रत बसेको दिनमा, स्कुलमा पढाउँदै गरेको कक्षा छोडेर पनि रक्तदान गरेको छुँ । ”
त्यस्तै कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा प्राविधिक रुपमा सहयोग गर्ने तथा स्वइच्छिक रक्तदान गरेर सहयोग पुर्याउने विभिन्न २१ जनालाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरेको छ ।
रेडक्रसले डोटीमा वि.सं. २०६३ बैशाख २५ गतेबाट आपतकालिन रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको थियो ।
जसमा रगत सञ्चित गर्नका लागि सुविधायुक्त फ्रिज नहुँदा समस्या भएको रेडक्रस डोटीका मन्त्री देव बोहराले बताए । साथै रक्त सञ्चार सेवालाई प्रभावकारी बनाउन एक जना स्थायी प्राविधिक जनशक्ति पनि आवश्यक रहेको उनले बताए ।
हालसम्म रेडक्रस डोटी शाखालाई सहयोग गर्दै आएका र रक्त सञ्चार सेवामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएका सबैलाई नेपाल रेडक्रस सोसाईटी डोटीका अध्यक्ष लक्षीराम कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।
स्वर्ण जयन्तिकै अवसरमा रेडक्रसले ९ जनाको कार्यक्रम स्थलमै रगतको ग्रुप परिक्षण समेत गरेको छ ।
त्यस्तै सामुदायिक विकास मञ्च डोटीका सामुदायिक कार्यकर्ता तेजबहादुर सिंह र दिपायल सिलगढी नगरपालीका २ का सुरेन्द्र थापा ‘च्याङ्’ले एक–एक पिन्ट रगत दान पनि गरेका छन् । डोटीकै लाटामाण्डौ गाविसकी एक सुत्केरी महिलाका लागि उनिहरुले रगत दान गरेका हुन् ।













प्रतिक्रिया