३० आश्विन २०८३, शुक्रबार

ओलीको बहिर्गमन, माधव नेपालको कथन र प्रगतिशील राष्ट्रवाद

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddi-charan-bhattaraiदेश ओलीमय छ । केपी शर्मा ओली संदिग्ध भुमिकाबाट एउटा स्पष्ट भुमिकाका नायक जस्ता देखिएका छन । हिजो महाकाली सन्धी ताका र त्यसयताका केपी शर्मा ओलीको भारतभक्ती आज देशभक्तीमा रुपान्तरण भएको छ । हिजो ओली नेकपा एमालेमा भारतका लागि सबैभन्दा बिश्वास पात्र ठानिने ओली सबैभन्दा राष्ट्रबादका प्रखर प्रबक्ताका रुपमा उदाएका छन् । अर्थात एउटै पात्रको भुमिका समयले फेर्दो रहेछ भन्ने एक गतिलो उदाहरण हो ओली व्यवहार ।

मेरो ओली प्रति कहिल्यै वैरभाव थिएन । मैले सबैभन्दा पहिले ०४७ सालमा गुल्मीका टाहटिममा देखेको हुँ ओलीलाई भर्खर १४ बर्ष जेलबाट निक्लेर राजनीतिमा सक्रियता देखाउँदै गरेका ओली प्ररायुसंघका अध्यक्ष भएका थिए । त्यसपछि हामीले युवा संंघ खोलेर गाउँमा विकास अभियानको थालनी पनि गरेका थियौ । तर ०५२ सालमा आधारातमा महाकाली सन्धी अनुमोदन गर्ने निर्णयमा ओलिको अत्यधिक सक्रियता देखा पर्यो । कमरेड मदन भण्डारीले टनकपुर सन्धीमा देखाएको राष्ट्रबादी आन्दोलन बिरासत तुहाएर जसरी महाकालीमा त्यो खुम्चाइयो यसबाट ओलिप्रतिको नकारात्मक भावले मेरो राष्ट्रबादी मनलाई डसिरहेको थियो । २० बर्षसम्म भर गरेको ओलिप्रतिको नकारात्मक भाव पछिल्लो चरणसम्म जारी थियो किनकि उनका व्यवहारमा पारदर्शिता लाग्दैनथ्यो । मदनभण्डारी फाउण्डेशनका गतिविधी पार्टीका समानान्तरण जस्तै देखिन्थे । त्यस संगठनलाई आउने आम्दानीको श्रोत समेत पारदर्शी थिएन । कतिपयले भारतीय दूतावासले यसको खर्चपर्चको व्यवस्थापन गर्छ समेत भन्थे । भारतले नेपालको संविधान स्वतन्त्र पूर्वक बनाउन दिँदैन भन्ने कुरा हरेक सचेत नेपाली देशभक्तलाई थाहभएकै बिषय थियो । पहिलो संविधानको विघटन यसकै कडि थियो । नेपालमा को प्रधानमन्त्री हुने भन्ने कुरा धेरै परको मुख्य सचिव र न्यायधीशसम्म हस्तक्षेप भारतको बढिरहेको जो कसैलाई थाहा छ । यसैलाई भन्छन छिमेक मामिलामा साउथब्लकको माइक्रो म्यानेजमेण्ट । यसै मुताविक निर्देशित थिए नेपालमा दर्जनौ राजनीतिक एजेण्टहरु । नेताहरु को को पेरोलमा थिए त्यसको त इतिहासले बताउने कुरा हो । तर यो दुष्चक्रबाट जोगिन नै बैद्य समुहले १२ बुँदे समझदारीको बिरोध गरेका थिए । यही दुष्चक्रबाट जोगिन कै लागि नेपाली नेताहरुलाई संबिवधानका अन्तरवस्तुवारे छलफल गर्न लुम्लेको पहाड र विदेशका गोप्य स्थान सम्म पुर्याइएको थियो । पाटीभित्र छलफल नै नगरी झलनाथ र प्रचण्डले ७ बुँदे गोप्य समझदारी गरेर प्रधानमन्त्री तय गरेका थिए । त्यतिखेर केपी कमरेडले झलनाथले यही निहुँमा संस्थागत नंगले नचलेको झापड हानेका थिए । संविधान निर्माण गर्नु अघि ४ दलको १६ बुँदे समझदारी भारतीय पक्षको अनुपस्थितीमै भएर मात्र सम्भव भएको थियो । यतिखेर सायद केपीलाई कसैले संस्थागत निर्णयको लौरोले हिर्काएन । यसो गर्नुमा झलनाथ, प्रचण्ड, महेश मास्के बिशेष हात रहेको कुरा सायद भर्खरै सार्वजनिक तथ्य हो । १६ बुँदे अघि साउथब्लकबाट वेटिंग प्राइमिनिष्टरको रुपमा हेरिएका थिए ओली । भारतलाई थाहा नदिइ गरिएको १६ बुँदे पश्चात ओलीलालाई प्रधानमन्त्री बनाउने कुराका बिरुद्ध साउथब्लक स्पष्ट रुपमा उभिएको छर्लंगै छ । यसपछि शुरु हुन्छ ओलीको राष्ट्रबादको दीव्यज्ञानको पुनरुदय । यो पुनरुदय नेपालीका लागि सुखद आश्चर्य भएको छ । मेरो मनमा पनि केपी ओलीको पुरानो फोटो होइन अहिलेको ताजा राष्ट्रबादी तस्विर कुँदीएको छ । यसर्थ म केपी ओलीलाई बधाई दिन्छु उनको यो अडानलाई समृद्धि र राष्ट्रिय स्वतन्त्रताको आन्दोलनको चट्टानी अडानको रुपमा उभिएर अगाडि बढन अपील गर्दछु । यो नै एमालेको नवौ महाधिवेशनको फैसला पनि हो ।

माधव नेपालः गलत स्थानको रोदन

Oli-Nepal-Uml

माधव नेपालमा नेकपा एमालेमा मदन भण्डारीको बिरासत सम्हालेका नेता हुन । उनकै महासचिवको कार्यकालमा मदन भण्डारी विनाको एमालेलाई मुलुकको ठूलो दलको रुपमा स्थापित गरेर ९ महिने सरकारको सफल नेतृत्व दिएकै हुन् । तर ०५४ सालपछि पार्टी विभाजनको धक्का र माओवादी जनयुद्धको रापका बीचमा उनको नेतृत्व वैचारिक र सैद्धान्तिक भन्दा पनि समन्वयकारी मात्र बन्यो । सम्झौताकारी बन्यो । यही कालमा पुर्वपञ्चहरुको पार्टीलाई प्रधानमन्त्री स्वीकारेर राजनीतिमा स्थायी र शत्रु र मित्र भन्ने कुरा हुँदैन भन्ने मान्यता स्थापित गरियो । शेरबहादुर देउवाको संसद विघटन पछिको प्रतिगमनलाई पहिचान गर्न नसक्नु यही सिद्धान्तहिनताको कारण थियो । त्यसयता नै मैले एमाले नेतृत्वमा रायमाझिपथको यात्रा श्रृंखला देखेको थिएँ र लेखेको पनि थिँए । यही कारण पार्टी कारवाही पनि भोगियो । जनताको बहुदलीय जनवादी व्यवस्था केहो ? त्यो व्यवस्था संसदीय नै व्यवस्था होकि अरु कुनै व्यवस्था हो ? यही कुरा पहिचान गर्न समेत एमाले चुक्यो । माओवादी तानाशाहि राजतन्त्रको बिरुद्धको नायक जस्तो र संसदीय पार्टी त्यसका प्रतिछायाँजस्ता देखिने अवस्थाबाट युद्धकाल चल्यो । राजतन्त्रको प्रतिगमनकारी भुमिकालाई आधा सच्चिएको भ्रम पाल्ने र प्रधानमन्त्री आव्हानमा दरखास्त हाल्ने जस्ता कुराले एमालेको क्रान्तिकारी छविमा धुमिलपन आएकै हो । सायद यतिखेर पार्टीका दक्षिणपन्थी लाइनकाबिरुद्ध खुलेर लेख्ने र जबजको क्रान्तिकारी कार्यदिशा पक्रन बैचारिक दबाब दिने बाहिर भएपनि म एक्लै थिएँ । केपी कमरेडहरु त त्यो धारबारे छलफल गर्ने तहमा पनि विकसित भएको थिएन उहाँको सोँच माधव नेपालकै वरीपरि फन्का मारिरहेकै थियो । राजाले शासनसत्ता आफनो हातमा लिएपछि नै एमाले होस खुलेको हो भन्छु म । युवा बिद्यार्थीहरु गणतन्त्रको लाइनमा आएपछि एमाले नेतृत्व लतारिएको हो । जनता र युवामत अगाडि नेतृत्वको सोँच पछाडि रहँदै आएको हो एमालेमा । आन्दोलनको यो पुरानो पुस्ताको सोँच र आजका युवाको सोँच जरुर भिन्न छन । यसैको अन्तरबिरोध गहिरोगरी प्रकट हुँदैछ एमालेमा । नवौ महाधिवेशनमा युवापुस्ता नेतृत्व सम्माल्ने गरी उठन सकेन तर यो नेतृत्वको घाँटी घाँटीसम्म अवस्य पुगेको छ । दुई गुटका आधारमा प्यानल गत चुनाव लडेपछि देशव्यापी मनोविज्ञान दुई धु्रवमा विभाजित छ । तर यसभित्र पार्टी भित्रको नवौ महाधिवेशनका फैसला बमोजिम पार्टी संगठनलाई विकसित सुदृढ गर्ने कुरामा ध्यान पुगेको छैन । यसका प्राधिकार केपी ओली नै पार्टीलाई एकताबद्ध रुपले चलाउने र अवसरहरुको न्यायोचित वितरण गर्ने कुरामा गुटमय भएका छन् । यस प्रतिको स्वाभाविक आक्रोश ठाउँ ठाउँमा प्रकट भएका छन ।

जहाँ सम्म संसदमा माधव नेपालको भाषणबारे को चर्को टिप्पणीले उनको छविमा ठूलै प्वाल पारेको छ । आप्mनै भद्र सहमतिको जग लत्याएर अगाडि बढेका केपी ओलीको बिरुद्ध बोल्नुपर्ने भएपनि संसदको त्यो वेला उपयुक्त स्थान थिएन । केपी ओली साउथब्लकबाट निर्देशित चक्रव्युहबाट घेरिएका बेलामा उनलाई पार्टीका सबै नेताको ढाडस जरुरी थियो । एकता जरुरी थियो । एमालेभित्रको एकताले बाह्य हस्तक्षेपको प्रभावमा परेर अविश्वास प्रस्ताव ल्याएका प्रचण्ड देउवा गठबन्धनलाई दह्रो राजनीतिक झापड दिन्थ्यो । तर माधव नेपालले गलत ठाउँमा सहि कुरा गरेको भएपनि सन्देश राम्रो दिएन । उनले पार्टीभित्र उठाउने कुरा कुठाउँमा उठाए । उनका राम्रा कामको चर्चा पाएन भन्ने गुनासो गर्ने वेला त्यो थिएन ।

सबैलाई लागेको कुराः भद्र सहमति भएको पक्कै हो । भारतमा मनमोहन सिँहलाई प्रधानमन्त्री बनाएर सोनिया गान्धि नायक भए झै प्रचण्डलाई प्रधानमन्त्री बनाएर केपी ओलीले भद्र सहमतीको पालना गरेको भए उनी सहज पोजिशनमा मात्र होइन जनअपेक्षा अनुरुपको काम हुन्थ्यो । सत्तालिप्साको चरम आकांक्षामा माओवादी थिए र यसले आफ्नो सत्तालाई खतरामा पुराउँछ भन्ने ओली लाई थाहा नभएको बिषय होइन । बाह्य चलखेलका वावजुद गठबन्धन जोगाउँदा नै ओलीको सफलता ठहरथ्र्यो । त्यो कुरा त्यसका सहमतिकर्ता वामदेव र झलनाथलाई लाग्नु पनि अस्वाभाविक होइन । भद्र सहमतिको लिखत खोजेर प्रचण्डलाई ओलीले गिज्याएको जो कसैले पनि अनुमान गर्ने बिषय थियो । यो केपी सरकारका कथित सल्लाहकारको असफलता होकि केपी कै जिद्धीको परिणाम हो यो त खुल्दै जाला । ओली गुटका अन्ध अनुयायीहरुको चकचकीबाट पार्टीलाई जोगाउन पार्टीभित्र जबवजस्त शुद्धिकरण अभियान जरुरी भएको बेलामा गलत स्थानको माधव कथनले त्यो अभियानलाई नै धुमिल पारेको छ ।

ओलीको देवत्वकरण खतरा

मरिचमान सिँह पनि कम राष्ट्रवादी थिएनन । राजा महेन्द्रको राष्ट्रवादी अडानको पनि एक हदसम्म हामीले प्रशंसै गरेको सुन्छौ । तर यी दुवैसंग लोकतन्त्र थिएन । फगत राष्ट्रवादी कुराले जनताको मन छुने अवस्था थिएन । कांग्रेससंग लोकतन्त्रको नारा त थियो तर विपीको कतिपय भुमिकाले राष्ट्रवादी अडान मुखरित गर्न सकेको थिएन । ०४६ सालको जनआन्दोलनपछि जबज मार्फत मदनभण्डारीले प्रगतिशिल राष्ट्रवादको अवधारणा अगाडि ल्याउनु भयो । हाम्रो राष्ट्रवादको अवधारणा यसैबाट निर्देशित हुनुपर्छ । दुवै छिमेकीसंग स्वाधिन राष्ट्रको हैसियतमा सम्वन्ध कायम गर्नु आफनो राष्ट्रिय हित मुखरित गर्न सक्नुमा नै प्रगतिशिल राष्ट्रवाद हो । यसले जनतालाई गास बास कपास र समृद्धि दिनु पर्छ । पार्टीको आन्तरिक लोकतन्त्र बलियो भएन भने राष्ट्रवाद पनि लडखडाउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

ओलीले भारतको नाकाबन्दीलाई निर्भिकतापूर्वक सामना गरे । नेपालीको शिर झुक्न दिएनन । आधापेट खाएर कष्ट सहन्छौ तर भारतसंग झुक्दैनौ भन्ने नेपाली मनोविज्ञानको उनले राम्रै प्रतिनिधित्व गरे । तेल नदिएर थला पार्ने भारतीय कुटनीतिलाई चीनसंगको व्यापार पारवहन संझौता गरेर रणनीतिक झापड दिए । भारत त्यसपछि छोटो दुरी समुद्री मार्ग दिन सहमत भयो । यो उपयोग गरेर नेपाल अव स्वाधिन रहन सक्छ । यो नै केपीले लगाएको देशका लागि महत्वपूर्ण गुन थियो । ओलीको स्थानमा अरु भए के गर्थे ? यो काल्पनिक बिषय होला तर ओलीले जनअपेक्षालाई कुठाराघात हुन दिएनन । यसैमा राष्ट्रभक्तहरुले सन्तोष मानि रहेका छन ।

अर्कोतिर ओलीको भुमिकालाई अतिरञ्जीत गरेर देवत्वकरण गरिएको छ जुन कुरा कम्युनिष्ट पार्टीका लागि सुहाँउदो बिषय होइन । ओली जुन पार्टीमा रहेका छन त्यो पार्टीलाई संस्थागत हिसावले चलाउने, जनवादी हिसावले परिचालित गर्ने, अनुशासनवद्ध पार्ने र नवौ महाधिवेशनका फैसलाबमोजिम पार्टीको पुनर्गठन अभियान चलाएर पार्टीलाई बलियो नबनाइकन राष्ट्रियताको जग बलियो हुन सक्दैन । साउथब्लकले बलिया पार्टीलाई बिभाजन गर्ने कुरामा मलजल गर्दै आएको छ । एमाले, कांग्रेस र माओवादीहरुपटक पटक विभाजित हुनुमा यसको प्रभाव समेत बरकरार छ । यसर्थ केपी ओली फेसबुक उल्लेखित प्रसंशा वा अतिरञ्जीत गुणगानमा मख्ख परेर पार्टी आन्तरिक विपक्षीहरुलाई कटाक्ष गर्नमै तल्लीन भएभने उनको स्खलन शुरु हुनेछ । पार्टी उनका नीजि हनुमानहरुको मात्र पक्कै होइन । सबैको पार्टीमा योगदान छ । हनुमानहरुलाई लाभका पद दिँदैमा राष्ट्रवादी अभियानको जग बलियो हुँदैन । हनुमानहरु त सेवा लिँदासम्म तपाई का हुनेछन नपाउँदा तपाईका बिरोधी । तसर्थ ओली कमरेड तपाईलाई पार्टीले र देशले समेत आशापूर्ण नजरले हेरेको छ । यो आशालाई निराशामा परिणत हुन नदिनु तपाईको पहिलो कर्तव्य हुनेछ । राष्ट्रवादी भावनाका उर्लदो भेललाई प्रगतिशिल राष्ट्रवादी चेतले प्रशिक्षित गर्नु पर्नेछ ।

(लेखक नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य हुन ।)