३० आश्विन २०८३, शुक्रबार

के लोकतान्त्रिक पार्टीमा पक्ष र विपक्ष नभई हुदैन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmal-bhattraiलोकतन्त्रका गुण अवगुण दुवै हुन्छन् । गुणै गुणले सम्पन्न कोही र कुनै चिज हुदैन । लोकतन्त्रमा पनि त्यो कुरा हुने नै भयो । सबैलाई थाहा छ – संसारमा लोकतान्त्रिक व्यवस्था र साम्यवादी एकदलीय व्यवस्था प्रचलनमा छन् । यी दुई व्यवस्थामा भिन्नता देखाउने प्रमुख विषय नै त्यसमा प्रतिपक्षको अस्तित्व र भूमिका के छ भन्ने हो । त्यस अर्थमा प्रतिपक्ष रहने अवस्था हालसम्म अभ्यासमा रहेको लोकतन्त्रको आत्मा हो भन्दा अत्युक्ति हुदैन ।

कुनै पार्टी लोकतान्त्रिक हो कि होइन भन्ने खुट्याउन त्यसमा अभ्यास भैरहेको सत्तापक्ष र प्रतिपक्षको परम्परालाई लिन सकिन्छ । नेपाली कांग्रेस यस्तो अभ्यास गर्नेमा लामो इतिहास भएको पार्टी हो । तर वि पीको पालादेखि चल्दै आएको यो परम्परामा विकृति देखा पर्दैछ । अकूत पैसा खर्च गरेर महाधिवेशन प्रतिनिधि खरीद गर्ने र चुनाव जित्ने परिपाटी भित्रिसकेको छ । विपी, गणेशमान र कृष्णप्रसाद भट्टराईजस्ता नेताको आदर्श सम्झने चलन हराउँदै गएको छ कांगे्रसमा । प्रतिपक्ष नभई पनि नहुने, प्रतिपक्षमा बस्न चाँहि कोही नचाहने ।

तत्कालीन नेकपा (माले) र पछि बनेको एमालेले लोकतान्त्रिक अभ्यासमा आउन लामो समय लगाएको छ । माओको राजनीतिबाट प्रभावित भएर मैनाली ओलीले शुरु गरेको झापा सशस्त्र आन्दोलनबाट बनेको पार्टी दुई दशक नवित्तै लोकतन्त्रमा पदार्पण गर्यो । नाममा कम्युनिष्ट लेखे पनि सारमा एमाले नेपाली कांगे्रसभन्दा भिन्न देखिदैन । नेता फरक छन्, पार्टी सदस्य फरक छन्,पार्टी नेतृत्वको निर्वाचन फरक मितिमा हुन्छ बस् । रुपमा भिन्नता सारमा समान । उसले भन्ने गरेको बर्गीय पक्षधरता विस्तारै ढोंगी शब्दावलीमा परिणत हुदैछ । एउटा जनसंगठन अखिलको नेतृत्व निर्वाचनमा त करोडौं खर्च गर्ने पार्टीको केन्द्रीय नेतृत्वको चुनावमा कति खर्च होला अनुमान गर्न सजिलो छैन । एउटा सत्य स्वीकार्नै पर्दछ, ने का र एमालेमा हुने आन्तरिक प्रतिस्पर्धाले ती पार्टीलाई झन मजबुत बनाएको छ ।

भर्खरै उदय भएको तर व्यापक जनताको ध्यान तान्न सफल नयाँ शक्ति नेपाल तेश्रो ठूलो लोकतान्त्रिक पार्टीको रुपमा स्थापित भएको छ । प्रत्यक्ष लोकतन्त्रमा आधारित अन्तरिम विधान लागू भए पनि पार्टीभित्र वास्तविक लोकतन्त्रको अभ्यास शुरु नै भएको छैन । प्रत्यक्ष लोकतन्त्र र क्लस्टरल समावेशीकरण विल्कुल नयाँ विषय भएकाले लोकतान्त्रिक अभ्यास पनि तात्विक रुपमा फरक हुने नै भयो । टोलदेखि केन्द्रसम्म राष्टव्यापी नेतृत्वको निर्वाचन हुँदा प्रकट हुने प्रतिस्पर्धाले नयाँ शक्तिलाई साच्चै शक्तिको रुपमा स्थापित गराउनेछ । नेपालको ईतिहासमै उच्चतम लोकतन्त्र अंगीकार गर्ने पहिलो पार्टी यही हो ।

माओवादी २०६४ सालदेखि संसदीय खेलमा सामेल भए पनि आन्तरिक पार्टी प्रतिस्पर्धा उनीहरु अवलम्वन गर्न तयार छैनन् ।
उनीहरुको विचारमा यो विषय ‘पूँजीवादी’ विषय हो । पार्टीमा देखिने सत्तापक्ष र प्रतिपक्षलाई उनीहरु दुई लाइन संघर्ष भन्दछन् किनभने लेनीन र माओले त्यही भने । देखे बुझेकै हो, दुई लाइन संघर्षमा प्रतिस्पर्धा होइन, निषेध वा विभाजन हुन्छ । सबै माओवादी गूटमा आज त्यही भइरहेछ । कथित दुई लाइन संघर्षलाई आन्तरिक लोकतन्त्रमा परिणत नगरेसम्म उनीहरुले त्यस्तै नियति भोग्नु अनिवार्य छ । बाबुराम निस्कने,बादल जोडिने, प्रकाश फाट्ने, किरण र विप्लव फुट्ने आदि घटनाको श्रृंखला चलिरहने छ । कार्यकर्ता मूकदर्शक भइरहेछन् । अनि जनता अलग थलग । फरक मत राख्ने जति बाहिर धकेलेर बाँकि रहेका नेमकिपा, माले, मधेशवादी दललाई कसरी लोकतान्त्रिक भन्नु ?

एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा पक्ष विपक्ष हुने कुरा नितान्त स्वभाविक विषय हो । अग्रगमन र मजबुतीका लागि कठोर आन्तरिक प्रतिस्पर्धा अनिवार्य शर्त हो । यसले पार्टी जीवनलाई खेलमय समेत बनाउने हुनाले सबै नेता, कार्यकर्ता र सदस्यले उत्साह पूर्वक भाग लिन चाहन्छन् । प्रतिस्पर्धाको सिलसिलामा त्यसलाई अस्वस्थ बनाउने बाहिरी पक्षलाई नियन्त्रण गर्न सके राजनीतिप्रति जनताको नकारात्मक सोचाईमा क्रमिक सुधार हुने थियो ।

(भट्टराई नयाँ शक्ति नेपालका केन्द्रीय नेता हुन् ।)