बर्दिया, ४ भदौ । ‘सानी छोरीलाई काखमा सारीले बाँधेर राखेकी थिएँ तर बचाउन सकिनँ। पाँच वर्षीया छोरी काखबाटै बगी, सासूससुरालाई पनि बगायो’, किरियामा बसेकी राजपुर टापरकी २२ वर्षीया तुलसी खत्रीले रुँदै भनिन’, ‘६ जनाको हाम्रो परिवारमा अहिले तीनजना मात्र बाँचेका छौं।’
लगातार वर्षासँगै बाढी आउँदा तुलसीको परिवारले पाएको कष्ट सहिनसक्नुको छ। सुरुमा घर डुबाएर एउटा छाना बगायो, त्यसपछि श्रीमान्ले हामीलाई अर्को छानामा सार्नुभयो, हेर्दाहेर्दै त्यो पनि बगायो।
त्यसपछि मलाई दुईवटी छोरीसँगै रूखमा लगेर राख्नुभयो, तुलसीले दुस्ख सुनाइन्, ‘दिउँसो १२ बजेदेखि ४ बजेसम्म त्यो रूखमा दुई छोरीलाई लिएर बसें। सानीलाई सारीले कम्मरमा बाँधे, ठूलीलाई रूखमा दह्रो समाउन लगाएँ।’ उनीहरूलाई रूखमा पुस्याएर तुलसीका पनि गोविन्द खत्री बाबुआमालाई बचाउन भनेर घरतिर गएका थिए।
‘सासूससुरालाई बचाउन सक्नुभएन, आफू पनि बग्नुभएछ तर बाँच्नुभयो’, तुलसीले भनिन्, ‘यता हामी बसेको रूख पनि ढल्यो, सानी छोरीलाई काखैबाट बगायो, म पनि बगें। ठूली छोरी खै कसरी बाँची, थाहा छैन। म तीन सय मिटरजति बगाएपछि एउटा रूखलाई समात्न पुगेछु र बाँचे।’ उनले आफू दुई दिनसम्म त्यहीं रूख समातेर बसेको र त्यसपछि मात्र उद्धार भएको पनि बताइन्।
रूख समात्दासमात्दै आफू बेहोस भएको र अस्पताल पुगेपछि मात्र होस् आएको पनि तुलसीले बताइन्। पौडी खेल्न जान्ने भएकाले मात्र आफू बाँचेको उनले सुनाइन्।
तुलसीकी पाँच वर्षीया छोरी मन्जु, सासू ४५ वर्षीया आइती र ससुरा ६० वर्षीय बलबहादुरलाई बबईको बाढीले बगाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । उनका पति गोविन्दले पनि डेढ घन्टा बाढीसँग जुधेर ज्यान बचाएका थिए। परिवारका तीन सदस्य गुमाएका गोविन्द र तुलसी किरियामा बसेका छन्।















प्रतिक्रिया