१ कार्तिक २०८३, शनिबार

खेलकुदले नेपाली झन्डा अन्तर्राष्ट्रियजगत्मा फहराएको छ : राष्ट्रपति भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sport

काठमाडौँ, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा खेलकुदको माध्यमबाट नेपाली राष्ट्रिय झन्डा अन्तर्राष्ट्रिय जगत्मा फहराउन सकेको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज ओलम्पिक खेल्न ब्राजिल जान लागेका खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले भन्नुभयो, “यसपटक पनि सबै खेलका उत्कृष्ट खेलाडीले भाग लिँदै हुनुहुन्छ, मनमा तनाव नलिई आफ्नो कला र सीप प्रयोग गरेर देशको नाम राख्नुहोस्, फर्केर आउँदा स्वागत मात्र होइन, बधाई पनि दिन पाऊँ ।”

राष्ट्रपति भण्डारीले खेलाडीलाई उपाधिकै लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै भन्नुभयो, “खेलकुद हाम्रोजस्तो सानो देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै चिनाउन सक्ने एउटा माध्यम हो ।”
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसपटक खेलाडीको सुविधा, अभ्यास र सुविधामा कुनै कमी हुन नदिएकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।

आगामी अगस्त ५ देखि २१ तारिखसम्म ब्रालिलको रियो द जेनेरियोमा हुने ‘रियो ओलम्पिक–२०१६’मा विभिन्न पाँच खेलका सात खेलाडीले भाग लिँदैछन् । जसमा जुडोकी फुपूल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, आर्चरीका जितबहादुर मोक्तान छन् । त्यस्तै पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई छन् ।

ब्राजिल जाने टोलीको नेत्तृत्व राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले गर्दै हुनुहुन्छ । सात खेलाडी, पाँच प्रशिक्षक र ११ पदाधिकारी गरी २३ सदस्यीय टोली दुई चरणमा ब्राजिल प्रस्थान गर्दैछ । खेल आ–आफ्नो खेल तालिकालाई मध्यनजर गर्दै जुलाई ३१ र अगस्त ५ मा नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गर्ने ओलम्पिक कमिटीले जनाएको छ ।

यसैबीच राष्ट्रपति भण्डारीले राखेपका सदस्यसचिव विष्टलाई झन्डा हस्तान्तरण गर्दै आजै बिदाई गर्नुभयो ।