३० आश्विन २०८३, शुक्रबार

भदौ महिना भित्रै सडक खोल्छौंः सेना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Senaकाठमाडौं, ४ भदौ । सिन्धुपाल्चोकको माङ्खा– १ मा साउन १७ मा गएको पहिरोका कारण अवरूद्ध काठमाडौं–तातोपानी सडक खण्डमा वैकल्पिक सडकको सुचारू भदौ महिना भित्रै गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले मंगलबार जानकारी दिएको छ ।

पहिरोका कारण ७ सय मिटर सडक क्षति भएको छ भने एक किलो मिटरभन्दा बढी सडक कृतिम तालमा डुबेको छ । निर्देशनालयको पत्रकार सम्मेलनमा वैकल्पिक सडक खण्डको लम्बाई करिब ११ किलो मिटर हुने जनाएको छ । यो बाटो टेकनपुरदेखि धुसकुन गाविससम्म हुनेछ ।

भू(गर्वविद तथा नेपाली सेनाका सेनानी रामचन्द्र तिवारीका अनुसार वैकल्पिक बाटो काठमाडौंदेखि खाडी चौरसम्मको ७८ किलो मिटरबाट एक किलो मिटर भन्ने ठाउँमा एक किलो मिटरसम्म पुगेपछि सुरू हुनेछ । जुन पहिरोको ठिक पारीबाट खुल्न थालेको हो ।

‘त्यहाँबाट तौथली खोलासम्म २.६ किलो मिटरको बाटोमा साधारण सुधार गर्नु पर्छ । त्यसपछि तौथली खोलाबाट ठेकनपुर गाविससम्म १.१ किलो मिटर छ,’ तिवारीले थपे, ‘त्यसपछि करिब २.८ किलो मिटर फ्रेस कटिङ गर्नु पर्ने हुन्छ । त्यसपछि ३.५ किलो मिटर पुरानो बाटोलाई सुधार गरिएपछि बाह्रबिसेसम्म पुगिन्छ ।’

यो वैकल्पिक मार्ग नियमित मार्ग यात्रा गर्नुभन्दा ४ किलो मिटर लामो हुनेछ । पारीबाट फेरि सुनकोशी तरेर बाह्रबिसे आउनका लागि अमेरिकाले सहयोग गरेको एक्रो बिज्रको प्रयोग गरिने उनले बताए ।

बाटो बनेसँगै जमेको पानीलाई बगाउन पनि सहज हुने तिवारीले बताए । उनले भने, ‘मंगलबारसम्म २.८ मिटर फ्रेस कटिङ गरिएको र अब ६ सय १० मिटर कटिङ पूरा भएमा हामीलाई चाहिने सामाग्रीलाई सहज हुन्छ ।’

सेनाले अहिलेसम्म पीसी एक सय इस्काइभेटरको मात्र प्रयोग गर्दै आइरहेको छ । त्यो पनि हेलिकप्टर लान सकिन्न । पाट-पुर्जा फुकालेरै लानु पर्छ र त्यहाँ गएर फेरि जोड्नु पर्छ । ‘बाटो गएपछि पीसी दुई सय इस्काइभेटरको प्रयोग गर्न सकिन्छ । त्यसले काम गर्न सहज हुन्छ,’ विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी सुरेश शर्माले भने ।

पहिरोका कारण सुनकोशी नदी थुनिएर बनेको ड्याम ४२ मिटर अग्लो रहेको छ । त्यसलाई सेनाले विभिन्न उपाय लगाएर अहिलेसम्म एक मिटर घटाएर पानीको बहाबलाई बढाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘हामीले १५ मिटर घटाउन खोजेका छौं,’ सेनाले भन्यो, ‘त्यसो भएपछि पानी बग्नुका साथै सानीमा हाइड्रो पावर पनि सुचारू गर्न सकिन्छ, नियमित सडक देख्न सकिन्छ र साथमा पुरिएका केही घरहरू पनि देख्न सक्छौं ।’

कसेसम्म बढी र छिटो पानी निकास गर्न भूगर्वविद रन्जनकुमार दाहालले दुई तरिका अपनाएको जानकारी दिए । उनले भने,’पहिलो तरिका पहिरोको भागबाटै अहिले गइरहेको पानीलाई बग्न दिइरहने र अर्को अर्को भागबाट पनि पानी बगाउनका लागि बाटो बनाउने हो ।’ उनका अनुसार दोस्रो बाटो बनाउनुको कारण पहिरो पट्टीको भाग कमजोर भएका कारण त्यसको अर्को पक्षबाट पानी बगाउन लगाइएको हो ।