२८ आश्विन २०८३, बुधबार

माधव नेपाललाई सम्मानजनक स्थान दिन केपी ओली तयार हुनुहुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-Bhattarai-1

नेकपा एमालेको नवौं महाधिवेशन भर्खरै सम्पन्न भएको छ । महाधिवेशनपछिको अवस्थालाई तपाइँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

नवौं महाधिवेशन ऐतिहासिकरुपले सम्पन्न भयो । हामीले पार्टीको नवौं महाधिवेशनपछि पार्टीको तर्फबाट एउटा नयाँ विचार ल्याएका छौं । नेपाली समाज बदलिएको छ । त्यो बदलिएको नेपाली समाजअनुरुप हाम्रो कार्यदिशालाई पनि बदल्नुपर्छ भन्ने महाधिवेशनले निर्णय गरेको छ । त्यो भनेको हामीले अधिकार प्राप्तिको आन्दोलन जितेका छौं र लोकतान्त्रिक आन्दोलनसँगै हामीले उन्नत किसिमको पुँजीवादी राजनीतिक क्रान्ति सम्पन्न गरेका छौं । अब नेपालका राजनीतिक दल अझ कम्युनिष्ट पार्टीको दायित्व आर्थिक–सामाजिक क्रान्तिको दिशामा जाने हो । त्यसका लागि सम्वृद्ध नेपाल निर्माणको योजनासहित अघि बढ्नुपर्छ भनेर एमालेले भनेको छ । त्यो प्राप्तिका लागि पार्टी स्वयमलाई पनि उत्पादनसँग जोड्नुपर्ने आवश्यकता छ । नेता–कार्यकर्तालाई श्रमसँग जोड्नुपर्छ । यो नीति कार्यान्वयन हुँदा नेकपा एमालेको नेतृत्वमा नेपाल आर्थिक–सामाजिक क्रान्तिको दिशामा नेपाल अघि बढ्ने छ । गरिबी हटाउने रोजगारी सिर्जना गर्ने, शिक्षा–स्वास्थ्यमा जोड दिने जस्ता कुराहरू पनि त्यहाँ पर्दछन् ।

दोस्रो कुरा, एमालेको नवौं महाधिवेशनले अत्यन्त लोकतान्त्रिक विधि र प्रतिस्पर्धाबाट नेतृत्व चयन गरेको छ । हामीले सबैको सहमतिमा यो प्रक्रिया अवलम्बन गरेका थियौं । त्यही कारण महाधिवेशनअघि प्रतिस्पर्धा जुन खालको थियो अर्थात् जित्नका लागि सबैले अनेकौं खालका प्रत्यन्त गरे । त्यो आफ्नै पार्टीभित्रको प्रतिस्पर्धा भएकाले अब जित र हारको कित्ता बनाउनु हुँदैन । हामी सबैले जितेका छौं । यो भावनाका साथ एक जुट भएरअघि बढ्नुपर्छ । केपी शर्मा ओली अध्यक्ष बन्नुभएको छ । उहाँ अध्यक्ष बने पनि केन्द्रीय कमिटिमा सन्तुलित संरचना निर्माण भएको छ । यो अवस्थामा हिजोको जस्तो परिस्थिति सिर्जना गर्नुको कुनै औचित्य हुँदैन । अब सबैजना मिलेर जानु भन्ने महाधिवेशनको पनि सन्देश छ । यो सन्देशअनुरुप नै एमाले अघि बढ्छ ।

महाधिवेशनका बेला देखिएको गुट–उपगुटको प्रभाव जिम्मेवारी दिने कुरामा देखिन्छ कि देखिँदैन ?

महाधिवेशनका बेला देखिएका समूहगत मान्यताहरूलाई हामीले भिन्नभिन्न विचार समूह भनेका थियौं । ती विचार समूहमा केन्द्रीय कमिटीलगायत विभिन्न जिम्मेवारीमा रहनुभएका कमरेडहरू पनि अलग–अलगरुपमा देखिनुभयो । त्यो मानसिकता अहिले एमालेभित्र सम्पूर्ण रुपमा समाप्त भयो भनियो भने सही नहुन सक्छ । अहिले पनि त्यसका केही प्रभावहरू देखिएका छन् । तर, ती प्रभावहरू विस्तारै हट्दै गएका छन् । म आशावादी छु । आगामी दिनमा महाधिवेशनताका समूहगत रुपमा देखिएका गुटबन्दीहरू सम्पूर्णरुपमा हट्ने छन् र नेकपा एमाले नयाँ ढंगले पुनर्गठनको क्रममा अघि बढ्ने छ ।

एमालेभित्र स्थायी कमिटी र पोलिट्ब्युरो छनोटमा समस्या देखिएको छ । खास कुरा के–हो ?

हामी प्रतिस्पर्धाबाट आएका हौं । नवौं महाधिवेशनमा दुईजना अध्यक्षको मतअन्तर हेर्ने हो भने अत्यन्त कम रहेको छ । त्यसैले एमालेमा महाधिवेशनका बेलाको शक्ति संरचनालाई हेर्ने हो भने बराबरको अवस्थामा छ । यो बराबर शक्तिलाई एकताबद्ध गरेर अघि बढ्ने हो भने एमालेमा प्रशस्त सम्भावना छ । तर, कसैले पेलेर वा ठेलेर जाने र सबैलाई ठेगान लगाउने अनि पार्टी चलाउने भन्यो भने पार्टी खरानी भएर जाने छ । त्यसका लागि नेकपा एमालेको लक्ष्य र उद्देश्यलाई मुलमन्त्र ठानेर अघि बढ्नुको विकल्प छैन । हामी क्रमश: एकताबद्ध भएर अघि बढ्छौं ।

अहिले केही गृहकार्य नपुगेकाले हामीले केन्द्रीय कमिटीको तेस्रो बैठकबाट स्थायी कमिटी र पोलिट्ब्युराको विषयलाई टुङ्गोमा पुर्‍याउने छौं । बाहिरबाट हेर्दा तत्कालै स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न सकेन । त्यसैले एमाले केन्द्रीय कमिटी असफल भयो भन्ने सन्देश गएको छ । वास्तवमा भन्ने हो भने त्यसो होइन । हामी अहिले नै हतार–हतारमा यो निर्णय गर्ने पक्षमा छैनौं । कारण के–हो भने हामीसँग अहिले पनि नवौं महाधिवेशनका बेला भएका समूहबन्दीको प्रभाव बाँकी नै रहेको छ । यस्तो अवस्थामा हामीले हतार गरेर अथवा उत्तेजनामा आएर निर्णय गर्नु भनेको पार्टीलाई नराम्रो दिशामा लैजानु हो । त्यसमा हामी सजग छौं । हामी पार्टीका वरिष्ठ नेतासँग विभिन्न चरणमा छलफल गरेर सबैसँग समन्वय गरेर, सबैका भावनालाई कदर गर्दै निर्णयमा पुग्छौं ।

पेल्ने, ठेल्ने र सबैलाई ठेगान लगाउने कुराको अन्त्य गर्न तपाइँको चाँही भूमिका कस्तो रहन्छ ?

सबैभन्दा पहिला हिजोको मानसिकताबाट सबै मुक्त हुनुपर्छ । पार्टीमा कहिल्यै पनि स्थायी खालनको समूहबन्दी छैन । पार्टीका शीर्ष नेताकै कुरा गर्नुहुन्छ भने हारेका महाधिवेशनमा उहाँहरू फरक–फरक समूहमा उभिने गर्नुभएको छ । पार्टीमा स्थायी समूहबन्दी भयो भने त्यसले पार्टीलाई हानी गर्छ । यस हिसावले हेर्ने हो भने यो सकारात्मक कुरा हो । एजेन्डाको आधारमा हुने समूहबन्दीले पार्टीलाई कुनै हानी हुँदैन । विचार समूह पनि रचनात्मक खालको हुनुपर्छ । वैचारिक खालको समूहबन्दीले पार्टीलाई बलियो बनाउँछ ।

पार्टी अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा पटक–पटक भन्नुभएको छ, ‘म दोस्रो पटक अध्यक्ष बन्नुछैन, म अध्यक्ष बन्नु थियो बने । त्यसैले अर्को पटक अध्यक्ष बन्नु पर्ने मेरो आवश्यकता र चाहना नभएकाले मैले कुनै पनि खालको गुटबन्दी गर्नु छैन ।’ उहाँले हामीलाई पनि गुटबन्दी नगर्नु भन्नुभएको छ । त्यो उहाँले मन वा हृदयले नै बोल्नुभएको हो भन्ने ठानेको छु । यदि उहाँले हृदयले नै बोलेको हो भने त्यो नै नेकपा एमालेको मूल स्प्रीट हुनेछ ।

पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरेर जाने कुरामा अध्यक्षको भूमिका चाँही कस्तो अपेक्षा गर्न सकिन्छ ?

सबैभन्दा पहिला नवौं महाधिवेशन अघिसम्म हामीले उहाँलाई र उहाँले हामीलाई जसरी बुझ्नु भएको थियो । त्यो बुझाइमा परिवर्तन आवश्यक छ । त्यो भनेको एक आपसमा मिलेर र सहकार्य गरेर अघि बढ्ने कुरा हो । यो भयो भने हामी रुपान्तरण हुन्छौं र पार्टी पनि रुपान्तरण हुनेछ ।

अध्यक्षको प्रतिस्पर्धामा थोरै मतले पराजय हुनुभएका नेता माधवकुमार नेपालको जिम्मेवारी पार्टीमा के हुन्छ ?

उहाँ हाम्रो पार्टीको इतिहास हो । जीवित नेताहरूमध्ये वरिष्ठ नेता पनि हो । ज्यादै कठिन अवस्थामा पनि उहाँले पार्टीलाई नेतृत्व गरेर आउनुभएको छ । पार्टीलाई जनस्तरमा स्थापित गर्न पनि उहाँको ठूलो योगदान रहेको छ । पार्टी र राष्ट्रलाई जोगाउन उहाँले खेलेको भूमिका अमूल्य छ । त्यस हिसावले हेर्ने हो भने केपी शर्मा ओली पनि अभिभावक हो । महाधिवेशनपछि अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमका बीचमा सौहार्दपूर्ण वातावरण बन्दै गएको हामीले महसुश गरेका छौं । यो सकारात्मक कुरा हो । नेपाल स्वयमले महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्न म तयार छु भनेर दिएको अभिव्यक्तिले पनि उहाँ अभिभावक भएको प्रष्ट हुन्छ ।

यसरी हेर्दा पार्टीले उहाँलाई सम्मानजनक स्थान दिनुपर्छ । हामीले पार्टी अध्यक्षलाई हामीले नेता नेपाललाई अहिले स्थायी कमिटीमा ल्याउनुपर्छ भनेका छौं । त्योसँगै उहाँलाई संविधान निर्माणको सन्दर्भमा विगतको अनुभवलाई पनि हेरेर महत्वपूर्ण स्थान दिनुपर्छ भनेका छौं । पछिल्लो समयमा अध्यक्ष पनि त्यो कुरामा सकारात्मक देखिनुभएको छ । समग्रमा भन्ने हो भने माधवकुमार नेपाल सम्मानित रुपमा स्थायी कमिटीमा रहेर पार्टीलाई सन्तुलित बनाउन समन्वयकारी भूमिका खेलेर अघि बढ्नु हुनेछ ।

वर्तमान सरकारको कार्यशैलीबारे तपाइँको प्रतिक्रिया के छ ?

सरकार गतिहीन छ । सरकार प्रभावकारी ढंगले चल्न सकेको छैन । एमालेको साझा निष्कर्ष हो यो । तर, अध्यक्षले पटक–पटक बैठकमा हाम्रो ध्यान सत्तातिर होइन संविधानतिर जानुपर्छ भन्नुभएको छ । त्यसकारण हामी अहिले सरकार बदल्ने कार्यसूचीमा छैनौं । यो सरकारलाई प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ । हामी त्यही कार्यसूचीका साथ अघि बढेका छौं । त्यही कारण हामीले नेपाली कांग्रेसको उच्चतहमा कुराकानी गरिरहेका छौं । आउने दिनमा सरकारले जनस्तरमा देखिने गरी परिणममुखी काम गर्नुपर्छ । राजनीतिक, संवैधानिक अंगको नियुक्तिमा पनि सरकार सुस्त देखिएको छ । हामी अहिले निर्धारित मितिमा संविधान जारी गर्नेगरी सबै दलसँग सहकार्य गरेर सरकार अघि बढ्नुपर्छ भन्ने मान्यतामा छौं । संविधानसभा बाहिर रहेका दललाई पनि संविधान निर्माणमा अपनत्व रहनेगरी ल्याउन सरकार लाग्नुपर्छ । एमाले पनि त्यसप्रति सचेत छ ।