सुर्खेत, २ भदौ । डेढ वर्षअघि जाजरकोटबाट सुर्खेत झर्दा जैसरा सुनारले भविष्यको मीठो कल्पना गरेकी थिइन्। बालबच्चा पढाउने, व्यापार व्यवसाय गर्ने र पैसा कमाउन सकियो भने राम्रो ठाउँमा जग्गा किन्ने उनको योजना थियो।
तत्काल उनले इत्रामखोलामा पाँच लाख रुपैयाँमा ऐलानी जग्गा किनिन्। ऋण जोहो गरेर ६ लाखमा दुईकोठे घर पनि हालिन्।
बिहीबार रातिको मुसलधारे वर्षापछि उर्लेको इत्रामखोलाले उनको सबै सपना बगाएको छ।
‘उतिबेला सस्तोको लोभमा परेर खोलाको ऐलानी जग्गा किन्यौं,’ उनले भनिन्, ‘अहिले त्यही लोभले घरबारविहीन बनाएको छ।’ सुख हुन्छ भनेर सुर्खेत आए पनि जिन्दगीमा सबैभन्दा बढी दुःखका दिन सुरु भएको उनले बताइन्।
इत्रामखोलाको बाढीबाटै घरबारविहीन भएकी कमला पोखरेलको पीडा पनि कम्ती छैन। ससुराको किरिया बसेको आठौं दिन राति बाढीले खोलाकिनारको सबै घरजग्गा बगायो। उनको परिवार पनि जाजरकोट दसेराबाट सस्तो जग्गा खोज्दै खोला किनारमा बसेको थियो। ‘हाम्रो ज्यानबाहेक केही बाँकी रहेन, अब कसरी बाँच्नेरु’ हस्तवीर प्राविमा आश्रय लिएर बसेकी उनले भनिन्, ‘सुख खोजेर पहाडबाट झरेको, हाम्रो सर्वश्व गुम्यो।’
तीन दिनअघि आएको अविरल वर्षाले सबैभन्दा बढी जैसरा र कमलाजस्ता ‘सुकुम्बासी’ लाई आहत बनाएको छ। खोला र नदी किनारको ऐलानी जग्गामा बाक्लिँदै गएको अव्यवस्थित बसोबासले सुर्खेतमा ठूलो धनजनको क्षति निम्त्याएको देखिएको छ। स्थानीय प्रशासनका अनुसार बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित भएका करिब १ हजार ४ सय घरमध्ये ९० प्रतिशत ऐलानी जग्गामा बसोबास गर्ने रहेका छन्।
सुकुम्बासी समस्या समाधान आयोगको आँकडाअनुसार पूर्वी सुर्खेतको राकमदेखि पश्चिमको लगामसम्म भेरी र कर्णाली नदी किनारमा करिब ११ हजार घरपरिवार ऐलानी जग्गामा बसोबास गर्छन्। उनीहरू बसोबास गर्ने जग्गाको केही हिस्सा २०४२ सालमा नापी गरिएको भए पनि हालसम्म ऐलानीकै रूपमा छ।
‘नदी किनारको ऐलानी जग्गामा बसोबास गर्नेहरू सधैं बाढीको उच्च जोखिममा छन्,’ आयोगका पूर्वसदस्य रहेका एमाले नेता मोहन बडुवाल भन्छन्, ‘यसपटकको भारी वर्षाले बढी क्षति पुर्यारएको छ।’
पश्चिमको तरंगा, घाटगाउँ, बाबियाचौर, तातापानीलगायत बाढीले बितण्डा मच्चाएको क्षेत्र ऐलानी जग्गा हो। ती क्षेत्रमा डेढ दसकयता बस्ती बस्न थालेको समाचार आजको नागरिक दैनिकले छापेको छ । तरंगाका शिक्षक बलबहादुर कठायत अधिकांश बस्ती सशस्त्र द्वन्द्वको समयमा बसेको बताउँछन्।















प्रतिक्रिया