२८ आश्विन २०८३, बुधबार

म यसकारण मोदीसँग मोहित भएँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-kavitaram-shrestha

मोदीले भारतमा पुगेर पनि आफ्नो स्वतन्त्रा दिवसको सम्भाषणमा नै लालकिल्लाबाटै बुद्धभूमि नेपालको प्रशंसा गर्न छोडेनछन् । म पहिलेनै निक्कै प्रभावित भाको हुँ । अब बढी भएँ । मोदी नेपाल आए र गए । जाँदाजाँदै उनले असंख्य नेपाली मनमा सकारात्मक् प्रभाव छोडेकै हुन् । केही लेख्ने सुर चलेको हो तर केही धक भयो । यस्तै हो, भारतीय नेताहरूलाई हेर्ने दृष्टिकोण हामीहरूमा अलि शंकालु छ नै । म त अझ नवयुवाकालदेखिनै भारतलाई विस्तारवादी भनेर मान्ने स्कूलको विद्यार्थी परें । दचक भयो मनमा । अरूले केही भन्लान् कि भन्ने डर अझ बढी थियो । जे त होला भन्ने सोच्दै फेसबुकमा भने छोटो मनसाय यसरी लेखेको थिएँ ।

मैले मोदीलाई थुप्रै नम्बर दिएँ ।

१. उनले नेपाली भाइलाई लालन पालन गरी पढाएछन् ।

२. उनले नेपाली संसदमा नेपालीमा भाषण दिने प्रयत्न गरी नेपाली भाषालाई सम्मान दिए ।

३. भारतीय विद्वानहरूले बुद्धको जन्मस्थान भारत नै हो भन्ने भ्रम फैलाई रहेको बेलामा नेपालको संसदमा बुद्ध जन्मभूमी नेपालमा काशीको प्रतिनिधित्व गर्दै आएको गर्विलो उद्घोष गरे ।

४. नेपालका माओबादीलाई युद्धको लाईनबाट हार खाएर शान्तिको बाटोमा आएको भन्नेजस्ता अपमानजनक औंला ठड्याई रहेको बेलामा उनले प्रगतिशील रुपान्तरणको सम्मानजनक संज्ञा दिए ।

५. नेपाली जनताको सम्मानलाई उचा राख्न बीच सडकमा ओर्लिएर हात मिलाउन अघि परे ।

सहयोग जस्ता अरू कुरा सँधै भैआएका औपचारिकता हुन् । उनका यी ५ कुरा भने मन छुने रहे । अरू साथीहरूले कसरी सोचेका छन् कुन्नि !

र, यो कुरालाई मेरा फेसबूके मित्रहरूले मेरा अरू स्टाटसभन्दा बढी मन पराए । मैले यसलाई जनमत मनें । तर यो लहरमा प्रबुद्ध मानिने साहित्यकार र राजनीतिकर्मी साथिहरू देखिएनन् । मलाई पहिलोपल्ट लाग्यो अब धेरै पुराना सोच र मान्यताहरूले पल्टा खाएको अवस्था बनेको छ । मेरा नजिकका प्रबुद्ध मानिने साहित्यकार र राजनीतिकर्मीहरूमा यो सत्यलाई अङ्गीकार गर्ने आँट रहेन । आँखामा पुराना चश्मा छन् र त्यसबाट मुक्ति पाएका छैनन् । ढिड मानसिकतामा छन् । अर्थात आजको परिवर्तित अवस्थालाई उनीहरू स्वीकार्दैनन् । आफैले बनाएका विद्वत चश्माले हरेक कुराहरू ढिड परामा हेर्छन् । अनि ती पुराना चश्माले नयाँ कुरा देख सक्दैन ।

modi-speech

उहिले मैले ह्यन्स अन्डरसन को ‘इम्परर्स न्यु क्लोथ’ भन्ने कथा पढेको थिएँ । त्यसमा नयाँ पोशाकको सौखिन राजालाई दुइ ठगहरूले विद्वानले मात्र देख्न सकिने पोशाक बनाइ दिन्छन् र विद्वान हुने ढोंगका राजाकाजी सबै राजाको नाङ्गो शरीरमा सुन्दर कपडा देखेका नक्कल गर्दछन् । एउटा अन्जान बच्चाले राजा नाङ्गो भएको सच्चाई बताएपछि सबै चित पर्छन् ।

अर्थात् कसैन कसैले त्यो चश्मा उतारी दिनै पर्छ। नत्र सही देख्दैनन। हो यो हुन्छ । यस्तो हुन्छ समाजमा । समाजशास्त्रमा एउटा शव्द छ cultural lag (सांस्कृतिक बिलम्बना) । समाजमा भौतिक उन्नति जोडतोडले अघि बढ्छ तर सांस्कृतिक उन्नति पछाडी रहन्छ । मान्छेहरू आको परिवर्तित स्थितिलाई प्रयोग त गर्छन् तर सोच पुरानै रहन्छ । हाम्रै कुरो गरौँ स्कूलमा डार्विनको उद्बिकास सिद्धान्त पढ्छौं तर दिमागमा भने ब्रम्हाको सृष्टि सिद्धान्तलाई मलजल गर्छौं । यस्तो सांस्कृतिक लम्बना जहाँकहीं हुन्छ । यो समाजशास्त्रीय नियम हो । तर ढिलाई नै किन नहोस यसमा परिवर्तन हुन्छ । कोही न कोही सत्य देख्ने पक्षले नांगा सत्य देखाई दिएपछि समाजमा परिवर्तन आउँछ । यसरी नै पुराना जीर्ण मान्यताहरूलाई अस्वीकार गर्दै हामीले ढुंगे युगदेखि अन्तरिक्ष युगसम्मका सभ्यताहरू निर्माण गरेका हौँ । यसरी नै हाम्रै जीवनकाल आफ्नै भूगोलमा राणा फालेका हौँ, यसरी नै पंचायात फालेका हौँ र जनयुद्धलाई अन्य शक्तिहरूसँग एकबद्ध गरी निरङ्कूश राजसंस्था फालेका हौँ । भारतसंगको यो चिसोपन के हो र ? कति त हाम्रै कारणले यसलाई मलजल मिलेको छ । हामी झुकेर उनका पाउ पर्न गएका थियौं र उनले हाम्रो टाउकोमा हात राख्न पुगेको हो । अनि हामी नै अनेक आशंकाहरूबाट त्रस्त छौं । मेरै फेसबुकको जनमतबाट स्पष्ट हुन्छ जनता चश्माहीन छन् । उनलाई रोग लागेको छैन । विद्वतवर्गको चश्मा निक्कै बाक्लो छ ।

अहिले मोदीले आफ्नो ६८ औं स्वतन्त्रा दिवसको सम्भाषणमा भारतमा लालल्किल्लाबाटै बुद्धभूमि नेपालको प्रशंसा गरेको स्थिति छ । साथीहरूले धेरैले शंका गरिरहेका छन् । भन्छन् -मोदी चलाक राजनीतिक नेता हुन् र उनको भनाइमा विश्वास गरिहाल्न हुन्न । अब के भन्ने ? उनले दुनियाँको अघि नेपालको संसदमा आएर हाम्रा गुण गाए, आफ्नो फूर्ति देखाएनन्, कुनै हिसाबको धमास दिएनन् अनि उनकै देशमा पुगेर पनि उनका महत्वपूर्ण स्वतन्त्रता दिवसमा भारतको मुटु लालकिल्लाबाट विश्वले नेपालबाट सिक्नपर्ने कुराहरूको बखान लाउँदै यो सम्मानको उद्घोष गरेका छन् । यसमा छलकपट छ र ? दूरगामी कपट छ भने पनि त्यो दीर्घतामा हामी यस्तै नीरिह रही रहने छैनौ । त्यो पछिको कुरा भो । यत्तिखेर मोदिले सलाम गरेका छन्, सलाम फर्काउन पर्छ । यसो गर्दा प्रभुत्व स्वीकारेको ठहरिन्न । जनताले यसरी बुझेका छन् । हिमालयको फेदीमा हुर्केको यो संस्कृतिले मित्रतालाई मैत्रीभाव राख्न सिकाएको छ । बुद्धका सन्तति जो हामी पर्यौं ।

नेपालका एकथरीले मोदीलाई एक कट्टर हिन्दु नेताको रूपमा लिएर यिनको मद्दतबाट राजालाई पुनर्स्थापना गर्ने उत्ताउलो सपना देखेका थिए । केही अर्का थरीहरूमा पनि हिन्दु अतिबादीताको डंकन हुने आशंका थियो । ममा पनि सबै जोगी कान चिरेकै हुने सोचको धुन थियो तर एक पछि अर्को गर्दै, हामी सबैको पूर्वग्रहलाई चित खुवायो ।

एक थरीले उनका हिन्दु कट्टरबादीताको हवाला दिंदै यिनले बुद्धलाई हिन्दुधर्मको सालगोलमा राखेर बुद्धको महिमामा चोट पुर्याउने छ भन्ने सोचे । तर मलाई त्यस्तो लाग्दैन । म बुद्धलाई मान्छु र पुज्छु । तर देउता भनेर होइन । बुद्धलाई देउतै मानेर पूज्नेहरूको आस्थालाई पनि उत्तिकै सम्मान गर्छु । अझ पूर्ववत वैदिक सनातनधर्मका उत्तराधिकारी बनेका समावेशी धर्म हिन्दूधर्मले बुद्धका अहिंसा र प्रेमलाई पूज्दै उनलाई आफ्ना पालनकर्ता देव बिष्णुको अवतारस्वरूप राम र कृष्णकै लहरमा पूज्दा म त अरू प्रभावित छु । यसमा दोष देख्दिनँ । कालान्तरमा बुद्धधर्मनै पनि अनेकन मतान्तरहरू भएका छन् । कतै लागेर भिड्ने मेरो उद्देश्य कदाचित छैन । सबैको मतान्तर बुद्धलाई महान बनाउनैको लागि भएको छ । बस मेरो पनि त्यही सोच हो । मेरो बाउलाई मैले खुट्टामा ढोगी रहंदा कसैले उहाँको हात समाएर चुमेर इज्जत दिंदा म खुशी नै हुन्छु । त्यस्तै हो यो कुरो । म सबैको आस्थालाई पुज्छु र इज्जत गर्छु । हिन्दुमताम्बली मोदीले बुद्धलाई आफ्नो धारमा जोड्नु कुनै अस्वभाविक लाग्दैन । उनले बुद्धलाई उच्च सम्मान दिएर बोलेका छन् । बरू सम्पूर्ण भारतीय मिडियाले बुद्धको जन्मस्थान भारत भनेर झुठको खेति गरिरहेको बेलामा यसको विपरित उनले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल हो भनी सत्य बक्न पुगे । उनले सत्यको पर्याय रहेका बुद्धको जन्मभूमिको सर्वाधिक महत्वको ठाउँ (संसद) मा यो सत्यलाई बकेर आफ्ना देशको विभिन्न निकायबाट हुने गरेको झुठा खेतीको दोषलाई धुने सत्यनिष्ठ प्रयास गरे । संसारभरका पाठ्यपुस्तकमा भएको त्यो गल्तिबाट विच्छिप्त भई संसारभरका नेपालीहरू आन्दोलित भैरहेको बेलामा भारतकै उच्च ओहदाका सबैभन्दा शक्तिशाली पुरुषले त्यति सुधार्दा हाम्रो आन्दोलनलाई एउटा बल मिलेको छ । यो सत्य बकाइमा केही राजनीतिक उद्देश्य छ भने पनि हामी झुठको खेति गर्न नपर्नेहरूलाई केही असर पर्ला भन्ने लागेको छैन ।

modiभारतीय पक्षले जन्मस्थानको बारेमा झुठको खेति गर्नमा पनि हाम्रै अकर्मण्यताले नै प्रमूख रूपमा काम गरिरहेको भुल्न हुन्न । पहिले लुम्बिनी कहाँ थियो भन्ने कुरो कुनै पक्षलाई थाहा नहुँदा पुरातत्ववीद अलेक्जाण्डर कनिङ्घामले आफ्नो पुस्तक “Ancient Geography of India” मा लुम्बिनी र कपिलवस्तु हिमालयको काखमा रहेको भनेर लेख्न पुगे । उनले यो पनि बुद्धको उक्तिको आधारमा सन् १८६२ मा (डेढ सय वर्ष अघि) भनेका थिए । बुद्धले ‘बिम्बिसारलाई म हिमालयको काखमा अवस्थित शाक्य गणराज्यको राजा सुद्धोदनको छोरा हुँ’ भनेर परिचय दिएका थिए । उ बेला न आजको नेपाल थियो न भारत नै । त्यो बेलाको शाक्य गणराज्य आज नेपाल र भारत दुवै देशमा फैलेको कारणले कनिङ्घामले भारतदेखि नेपालसम्म पनि लुम्बिनीको खोजि गर्न चाहेका थिए । तर राणाहरूले त्यसबेला उनलाई नेपाल पस्न दिएनन् र आफ्नो पुस्तकमा उनले त्यसरी लेखेर टुंग्याए । त्यही किताब संसारभरको लागि श्रोतपुस्तक बन्न पुग्यो र बुद्धको जन्म भारतमा भएको कुरा पढाइ भईरह्यो । तर १८९६ मा नेपालको तराइको जंगलमा बुद्धको जन्मस्थान लुम्बिनी यही हो भन्ने लेखसमेतको अशोकले २३०० वर्ष अघि गाडेको स्तम्भ फेला पर्यो र साबित भयो कि बुद्धको जन्म भारत होइन नेपालको भूभागमा भएको रहेछ । तर उबेलादेखि नेपालको तर्फबाट कुनै सच्याउने कार्य भएन र अहिले १०० वर्ष नाघिसक्दा पनि भएन । संसारभर आजसम्म पनि पुरानै गलत कुराको पठनपाठन भैरहेको छ । संसारभरका तीर्थयात्रीहरू बुद्धजन्मस्थल भनी भारत आउँछन् र सत्यको पर्याय रहेको बुद्धको नाममा झुठका शिकार भईरहेका हुन्छन् ।

आजसम्म पनि भारतमा बन्दै गरेका ठूला ठूला बजेटका शैक्षिक र संचार सामग्रीहरूमा यही झुठका खेति भईरहेको छ । त्यताका साधु सन्त त्यही बोल्ने, अनि नेता पनि त्यही बोल्ने । त्यसो त भो भो हाम्रै भूमीभित्र लुम्बिनी क्षत्रमा भारतीय गाइडहरूले पर्यटकहरू ल्याएर नेपाल पसेको थाहै नदिई भरतै हो भन्ने पार्दै फिर्ता लान्छन् । नेपालले उनिहरूले छोडेका फोहोर मात्र बोक्न परेको स्थिती छ । नेपाल किन्चित बोल्दैन ।

यसै अवस्थामा २००९ को डिसेम्बर १ मा लुम्बिनीको स्तम्भको आविष्कारकै दिन पारेर संसारभरिका नेपालीहरूले “Buddha was born in Nepal: भन्ने नारासाथ साइबर प्रबिधिमार्फत ‘लुम्बिनि कपिलवस्तु दिवस’ मनायो । त्यस दिवशले विश्व अभियानको रुप लियो र अहिले १९ देशको राष्ट्रिय समितिसमेत गरी विश्व समिति पनि गठन भएको छ र यसको संजाल नेपालको राष्ट्रिय समितिअन्तर्गत सर्किट समिति, जिल्ला समिति र स्थानिय स्तरमा समेत समिति गठन भएको छ । यसरी जनअभियान झाङ्गिई रहंदा पनि भारतको त्ख् सिरियलमा बुद्धको जन्मभूमि भारत देखाउने जस्तो हेपाहा कार्य भयो र त्यस्ता सामग्रीहरूलाई बहिष्कार गर्नसमेत नेपालमा जनलहर उर्लियो । तर नेपाल किन्चित बोलेन । नेपालमै त्रिवि विश्वविद्यालयमा एमए अंग्रेजी विभागको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको पाठ्यपुस्तक रहीरह्यो र यस अभियानले त्यसलाई बन्द गर्न विज्ञप्ति दियो । नेपाल सरकारलाई समेत यस्तो कुरामा विश्वभर कुटनीतिक पहल गर्न विज्ञप्ति दीयो, तर नेपाल अझै बोलेन (http://worldamity.wordpress.com/) । त्यसै अवस्थामा मोदीले संसारलाई साक्षी राखेर नेपालमै यो सत्य बोले । उन्का देशको तर्फबाट आजसम्म जे झुठको खेती हुंदै आएको थियो अब अन्त्य हुने प्रश्ट प्रस्ट छ । यस्को अरू दूरगामी प्रभाव पर्ने पनि म देख्दछु । भारतीय पक्षबाट भैआएको झुठोखेतिको दोष त अब मेट्यो नै हाम्रै सत्तामा रहने नेताहरू समेतलाई भारत सामू खुलेर ‘बुद्ध नेपाली भूमिमा जन्मेका हुन्’ भनी सत्य बोल्न बाटो खुलेको छ । ज्यादा क्युं ?

अर्को महत्वको कुरो यो छ कि नेपालका माओबादीलाई युद्धको लाईनबाट हार खाएर शान्तिको बाटोमा आएको भन्दै जनयुद्धको युगान्तकारी देनलाई छायाँमा राखेर खुइल्याउने नियत हावी भई रहेको बेलामा उनले माओबादीहरूको शान्तितिरको रुपान्तरणलाई भारतको सम्राट अशोकको युद्धनितिबाट शान्तिनीतिमा रुपान्तरण जस्तो उचाइको गर्विलो अवतरणको संज्ञा दिन पुगे । त्यतिमात्र होइन अहिले नेपालको यो उपलव्धिलाई विश्वको लागि अनुकारणिय मान्दै र यो पाठ नेपालबाट सिक्न पर्छ भन्दै आफ्नै मुलुकको मुटुमै कुर्लेर सन्देश दिइरहेका छन् । भन्दैछन् भारतका माओबादीहरूले यसबाट पाठ सिक्न पर्छ । यसो भन्दा भन्दै जाति र धर्मको नाममा निरंकूश भएर दल्ने पीडा दिने कुनै पनि शक्ति यथा शक्तिशाली रहन सक्दैन एक दिन उनै सिमान्तिकृत उत्पीडित जनको मारमा पुगिन्छ वा नामेटै होइन्छ भन्ने पनि उनले आफ्ना कुलिन हुनुको धमासमा मात्तिएका जनतालाई नेपालको जनयुद्धको सफलता र राजसंस्थाको अबसानको सांकेतिक उदाहरणसाथ नरम हुन तथा समावेसी हुन सन्देश दिएका हुन् । अझ यो उनको संदेश समस्त विश्वलाई हो ।

हामीले देख्यौं भारतका सबै नेता उस्तै नहुने रहेछ । आरएसएसको ब्याक ग्राउण्ड भएकाले चरमपन्थी हुन्छन् भन्ने हाम्रो अपशंकाले फेल खाएकै हो । त्यही ब्याक ग्राउण्डले पो मोदीलाई त्यति सालीन र अनुशासित पारेका हुन् कि भन्ने ठाउँ पो बरु रह्यो । हामी कहिल्यै परचक्रीको साशनमा परेनौं बरु आफ्नै समाजभित्रका कलुषबाट मुक्ति पाउन आफैबीच जनयुद्धजस्तो शस्त्र समेतको द्वन्द्वात्मक मन्थन गर्न लागि पर्यौं । यी हाम्रा स्वन्तन्त्रता प्रियताको सुनौलो इतिहासकै आधारमा उनीहरूले हामीलाई शीर नुहाउने चक्री होइनन् भन्ने राम्रै बुझेका छन् र इज्जत गर्छन् । हामीमै पनि यो गर्व हुनु पर्यो कि हामीसंग विश्वमै नभएको बुद्धदेखि जनयुद्धसम्मको शान्ति प्रयासका अनुकरणीय अनुभवहरू छन् र हामी कहिल्यै कम्जोर रहेनौं र हुने छैनौं ।

यो नेपाल र भारत भन्ने देश हामीले बनाएको त ३०० वर्ष भन्दा पनि कम समय भाको छ । तर हाम्रो सहबास त हज्जारौं वर्षदेखि हुँदै आएको हो । राज्यको सीमा कहिले बेपत्ता यता पर्यो कहिले बेपत्ता उता पर्यो, तर हामीले एकसाथ हज्जारौं वर्षदेखि यसै भूगोलमा साझा संस्कृतिको विकास गरेका हौँ । एकार्काबाट कटाक्ष गर्दै ढिड भई रह्यौं भने हामीले धेरै कुरा हासिल गर्नबाट बन्चित हुनुपर्ने छ । समान समझदारीमा हामीले धेरै गर्न सक्ने छौं । बडी बोल्यो नभन्नुहोला आफू बलियो भएर लघुताभासको चश्मा भने हामीले फेर्नै पर्छ । अस्तु !