काठमाडौं, १ भदौ । पश्चिम अफ्रिकी मुलुकमा इबोला भाइरसको महामारी फैलिएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) अफ्रिकाका संयोजक हिक्मत थापालाई भ्याइनभ्याइ छ। ‘परिवार, नातेदार, साथीभाइसँग अरू नेपालीले फोन र इमेल गरेर सोधेको सोध्यै हुन्छन्,’ इबोला भाइरस प्रभावित नाइजेरियामा कार्यरत उनले टेलिफोनमा भने, ‘यहाँभन्दा बाहिर पो बढी त्रास रहेछ।’
थापाका अनुसार पश्चिम अफ्रिकी मुलुकमा कार्यरत नेपालीमा भाइरस संक्रमण भएको जानकारी छैन। ‘यतातिरका सबै नेपालीसँग सम्पर्क भइरहेको छ,’ उनले भने, ‘कोही पनि संक्रमित छैनन्। सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छौं। उनीहरू निकै सचेत पनि छन्।’
इबोलाबाट पश्चिमी अफ्रिकाका लाइबेरिया, सियरा लियोन, गिनी बढी प्रभावित छन् भने नाइजेरियामा पनि केही संक्रमित देखिएका छन्। इबोलाका कारण १ हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ। लाइबेरियामा मात्रै ६ सय ७० संक्रमितमध्ये ३ सय ५५ जनाको मृत्यु भइसकेको छ।
डब्लुएचओमा ट्रपिकल डिजिज र पब्लिक हेल्थ विशेषज्ञका रूपमा कार्यरत नेपाली चिकित्सक ताराप्रसाद श्रेष्ठले सचेत मानिस भएको ठाउँमा बढी त्रास रहेको बताए।
नाइजेरियाको कार्डुना क्षेत्रमा रहेका उनले नाइजेरिया र अन्य स्थानमा रहेका नेपालीले सम्पर्क गरिरहेको बताए। ‘कसरी बच्ने भनेर फोन आउँछ,’ श्रेष्ठले नागरिकसँग टेलिफोनमा भने, ‘विभिन्न खालका अफवाह फैलिने गरेका छन्। त्यसले पनि त्रास बढाएको छ।’ एनआरएनले त्यहाँका नेपालीलाई आवश्यक परे श्रेष्ठसँगै सम्पर्क गर्न सूचना जारी गरेको छ।
इबोला फैलिएका देशमा भेट हुँदा हात मिलाउन छाडिएको समाचार आजको नागरिक दैनिकले छापेको छ। ‘कार्यालयभित्र प्रवेश गर्ने स्थानमा हात धुने व्यवस्था गरिएको छ,’ नाइजेरियाको लेगोसमा रहेका थापाले भने, ‘सरकारले जनचेतना बढाउन विभिन्न कार्यक्रम सुरु गरेको छ। डिटोल बोकेर हिँड्न थालिएको छ।’















प्रतिक्रिया