२८ आश्विन २०८३, बुधबार

कोर्ष र प्रोग्राममा हामी अब्बल छौः प्रा.डा. जयराज अवस्थी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jayraj-awasthi

नेपाली विश्वविद्यालय र विदेशी विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरबारे सुदूरपश्चिमान्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर डा. जयराज अवस्थीसंग कृष्ण महराले गरेको कुराकानीः

यहाँको जन्मस्थानबारे केही बताईदिनुस् न ।

मेरो जन्म २००९ साल असोज १३ गते दार्चुला जिल्ला, शंकरपुर गा.वि.स. गोठेउडी भन्ने ठाउँमा भएको हो । हाम्रो जोइन्ट फेमली हो । मेरो हजुरबुवाहरुको दार्चुलाको तेलीगाउँ भन्ने ठाउँमा बस्ती रहेछ, त्यसपछि तेलीगाउँ बाट गोठेउडी भन्ने ठाउँमा सर्नुभएछ, गोठेउडी भन्ने ठाउँ शंकरपुर हाईस्कुल नजिकै पर्छ ।

आधारभूत शिक्षा कहाँ, कसरी प्राप्त गर्नुभयो ?

मेरो प्राथमिक शिक्षा शंकरपुर हाइस्कुल, दार्चुलामै भएको हो । विद्यालय कति बर्षमा गए त्यो त ज्ञान भएन । हाम्रो त्यतिबेला महाकाली परिक्षा बोर्ड हुन्थ्यो । पाँच र सात कक्षाको जाँच चाही अंचल शिक्षा अधिकारीले लिनुहुन्थ्यो । म चाही महाकाली अंचलमा बोर्ड फर्स्ट भएको रहेछु तर मेरो चाही जोड्दाखेरी गल्ती भएर फर्स्ट हुन पाइन तर पछि चाही मार्क्शिट आएर जोड्दाखेरी त महाकाली अंचल टप गरेको रहेछु । छ कक्षा पढ्दै सात क्लासमा आउदाखेरी म भन्दा दुई ब्याच अगाडीको मनोरथ जोशी जी हुनुहुन्थ्यो, स्कुलको पढाइमा वहाको र मेरो प्रतिस्पर्धा हुन्थ्यो । अर्धवार्षिकमा वहाँले ‘स्कुल टप’ गर्नुभयो भने वार्षिकमा मैले टप गर्थे, अर्धवार्षिकमा मैले टप गरेभने फाइनलमा वहाँले टप गर्नुहुन्थ्यो । म आठ कक्षामा हुँदा वहाँ दश कक्षा पास गरेर जानुभयो । त्यसपछि लगातार मैले नै टप गरे ।

एसएलसी पास गर्दाको क्षणलाई कसरी सम्झिनुहुन्छ ?

मेरो घर विद्यालय नजिकै थियो । त्यहा डेरा गरी बस्ने साथीहरुले मलाई सिकाई देला भनेर एक–दुई दिन डेरामा लगेर राख्थे । म उनीहरुलाई सहयोग गर्थे । त्यसरी २०२४ सालमा मैले एसएलसी जांच दिए, त्यतिखेर चौध बर्ष पुरा नभएको हुनाले मेरो एसएलसीको फर्म भर्ने बेलामा सरहरुले छ महिना मेरो उमेर बढाएर फारम भरी दिनुभएछ । जन्मेको चाही असोजमा तर बैसाख १ गते मेरो जन्ममिति राखिदिनुभएछ । म भन्दा अगाडीको एसएलसी जांच दिने केन्द्र चाही डडेलधुरामा थियो, त्यो भन्दा अगाडी नेपालगञ्जमा थियो अनि हाम्रो पालामा चाही बैतडीको साईलेकमा नै भयो । हामी जांच दिन बैतडीको साईलेक गयौ । हामी जम्मा पन्ध्र जना साथी थियौ जांच दिन जाने पांच जना साथीहरुले चाही गणित विग्रियो भनेर जांच नै ड्रप गरेर हिडे । हाम्रो इतिहाँसमा जांच छोडेर हिड्ने भनेको पहिलो घटना हो । हामी दश जनाले चाही जांच दियौ । दश जनाले जांच दिएकोमा पांच जना पास भयौ त्यो बेला । त्यसरी मैले चौध बर्षमा एसएलसी पास गरे ।

यहाँको त्रिभुवन विश्वविद्यालय यात्रा बारे आम विद्यार्थी र पाठकहरुलाई केही भनिदिनुहुन्छ कि ?

जब मैले सानोठिमीमा बि.एड.टप गरे, टप गरेपछि त्यतिबेलै युनिभर्सिटीले आइ.एड. मा पढाउन असिस्टेन्ट लेक्चररमा स्थायी विज्ञापन खोल्यो अनि मैले पनि दरखास्त हाले । ३५ जनामा ३ जना छानिए त्यसमा म पनि परेछु । असिस्टेन्ट लेक्चररमा स्थायीमा नाम निस्कियो । स्थायी भएपछि मैले सानोठिमी जान खोजेको थिए तर रोजेको ठाउँ जान पाइएन । असिस्टेन्ट लेक्चररमा एक नम्बरमा निस्किएपछि मैले सानोठिमी जान पाउनु पर्छ भनेर जिद्दी गरे तर मलाई नेपालगन्ज पठाए । जम्माजम्मी १ बर्ष ३ महिना जति भएको थियो, मलाई इन सर्भिसमा पढ्न आउनु पर्यो भनेर डीन कार्यालयबाट चिठी गयो । अनि म कीर्तिपुर पढ्न आए इन सर्भिसमा । मेरो किर्तिपुर यात्रा कसरी सुरुभयो भन्दा पहिला के थियो चलन भने आइ.एड. मा वीस वटा क्लास पढाएर पछि मात्रै बि.एड. मा पढ़ाउन पाइने । ताहाचलमा बि.एड. थिएन, आइ.एड. मात्रै थियो, ताहाचलमा वीस दिन पढाएर मात्रै किर्तिपुर बि.एड. मा पढाउन पाउने । मैले ताहाचलको क्लास चाही दिनको तीन–तीन वटा लिएर एक हप्तामै सके । केही दिन पछि डीन कार्यालय जाँदा त मेरो कीर्तिपुरमा सरुवा नै भइसकेको रहेछ । त्यसपछि नेपालगन्ज गए, दश–पन्ध्र दिनजति पढाएपछि रमाना लिएर कीर्तिपुर आए ।

कीर्तिपुरमा पढाउंदाको अनुभवलाई कसरी लिनुभएको छ ? स्मरण गर्न सकिन्छ ?

कीर्तिपुर आएपछि डिपार्टमा सबैभन्दा जुनियर र कलिलो पनि भए त्यै भएर होला मलाई चार वटा बिषय बि.एड. मा पढाउन दिनुभयो दुईवटा एम.एड. मा । कीर्तिपुर एम.एड. को पहिलो ब्याचका मेरा विद्यार्थीहरु चाही ताहाचलको ज्योतिकृष्ण श्रेष्ठ र मिना कार्कीहरु, दोश्रो ब्याच अर्को ग्रुप थियो अनि तेश्रो ब्याच चाही प्रोफेसर गोविन्द राज भट्टराई, लक्ष्मी महर्जन, आङकाजी शेर्पाहरुको थियो । त्यतिबेला दिनभरी पढ़ाएको पढायै, अतिरिक्त कक्षाको पैसा भन्ने कुरा हुँदैनथ्यो । सबै विद्यार्थीलाई पढाउन पाए, सबै कोर्स पढाउन पाए हुन्थ्यो झैँ लाग्थ्यो । नोटहरु पनि म आफैले टाइपराइटरमा टाइप गरेर दिन्थे, कतिपय बिद्यार्थीले त मलाई यो टाईपिस्ट हो कि भनेर पनि ठान्थे भने कतिले दुईवर्षे वा एक बर्षे बि.एड.को विद्यार्थी भन्थे, एम.एड. को पनि भन्दैन्थे । त्यसो हुँदा दाह्री पाले अलिअलि देखिन्छ कि भनेर नत्र म बिद्यार्थी झैँ देखिन्थे । मैले पढाएका विद्यार्थीहरु आज देश विदेशको उच्च ओहदामा छन्, मलाई त्यो सम्झिदा गर्व महसुस हुन्छ । २०३६ तिर हो म कीर्तिपुर आएको । २०५५ मा प्रोफेसर भएको थिए र प्रोफेसर भएको १८ बर्ष पछी म रिटायर्ड भए । जम्मा मैले ४० बर्ष त्रिवि अन्तर्गत पढाए स्कुलको पनि जोड्दा ४३ बर्ष जति हुन आउछ ।

‘लिन्गुस्टिक्स’ (भाषाविज्ञान) विषय भन्ने वितिक्कै हरेक व्यक्तिले सुरुमा यहाँलाई सम्झिन्छन्, यहाँले कुन युनिभर्सिटीमा पढ्नु भएको हो ?

पहिलो मास्टर्स मैले त्रिभुवन विश्वविद्यालयबाटै गरेको हुँ । कीर्तिपुर आइसकेपछी २०४० मा बाहिर जानलाई फुल ब्राइटको लागी अप्लाई गरे । नाम पनि निस्कियो । टेस्ट दिनुपर्ने भएकोले जी.आर.इ. को तयारीतिर लागे । जर्ज टाउन, टेक्सास, मेसिगन र अर्को एउटा गरी चार वटा युनिभर्सिटीबाट कन्फरमेसन लेटर आयो । लेटर आइसकेपछि यसो विचार गरे, मेसिगन भनेको चाही ‘अप्लाइड लिन्गुस्टिक्स’ र ‘लिन्गुस्टिक्स’को मुटु नै हो किनभने प्रोफेसर स्यालिंकर, प्रोफेसर ग्यास, प्रोफेसर लेडीफोगड, प्रोफेसर वार्डर, प्रोफेसर केनेथ पाइक, प्रोफेसर डेनियल फ्रिमन जस्ता मुर्धन्य व्यक्तित्व पढेको ठाउँ हो त्यो । अमेरिका गइसकेपछि छ हप्ता टेक्सासमा प्रि–एकेडेमिक प्रोग्राम भयो । त्यसपछि बाँकी मेसिगनमा पढे । मेरो अड्भाइजर हुनुहुन्थ्यो सुजन ग्यास र वहांले मलाई गाइड गर्नुभयो । मैले दुई सेमेस्टरमा मास्टर पुरा गरे विथ डिसटिंसन । त्यसपछि पी.एच.डी. कोर्ष सुरु गरे जहाँ रबर्ट ल्याडो, केनिथ पार्क र चार्ल्स फ्रिजले पढाउनु भएको थियो । मैले इन्टनसिप पनि त्यही गरे । प्रोफेसर जोन्स हजलले १ सय ३५ जनालाई पी.एच.डी. गराई सक्नुभएको थियो, वहाँको अन्तर्गत मैले इन्टनसिप गरे । ल्यांग्वेज टेस्ट ब्याट्री, टोफेल जस्तैमा मलाई काम गर्न दिनुभयो । मैले त्यो पनि सजिलै पास गरे तर एक्कासी मार्चमा आएर युनिभर्सिटीले ‘अप्लाइड लिन्गुस्टिक्स’मा पी.एच.डी. क्यान्सिल ग¥यो । ‘थिअरिटिकल लिन्गुस्टिक्स’मा म जान नचाहने । अब के गर्ने, समस्यामा परे । अमेरिकन युनिभर्सिटीमा जनवरी सम्म अप्लाई गरिसक्नुपर्छ नत्र पाउदैन । अन्य इन्डियाना, कोलोराडो लगायतका युनिभर्सिटीले अड्मिसन त दियो तर स्कलरसिपको लागी ’हामीले अगाडी नै वितरण गरिसक्यौ’ भन्दियो । अनि म फर्के । मास्टर्स त भयो तर पी.एच.डी.भएन । पी.एच.डी. कोर्स चाहीं सबै सके तर खाली क्वालिफाई एग्जाम दिएर थेसिस लेख्न मात्रै बाँकी थियो ।

म नेपाल फर्कीसकेपछि कोलोराडो युनिभर्सिटीले ८ हजार डलर दिन्छौ आउ भनेर बोलायो तर त्यो बेला आफ्नै समस्याका कारण गएन । अब के गर्ने भनेर सोच्दा सोच्दै, हैन मैले पी.एच.डी. त जसरी भएपनि गर्नैपर्छ भन्ने अठोट लिए । कोर्स गरिसकेको छु, ज्ञान छंदैछ, मैले गर्ने पर्छ भनेर लागे । पी.एच.डी. गर्नकै लागी मैले हैदरावाद युनिभर्सिटीमा चिठी पठाए र प्रोफेसर प्रपल दास गुप्ता भन्ने हेड हुनुहुँदो रहेछ, वहाँले तुरुन्तै मलाई फोन गर्नुभयो र फारम समेत पठाईदिनु भयो । वहाँचाही न्युयोर्क बाट पी.एच.डी. गर्नु भएको म चाहीं मिसिगनमा पढेको भनेपछि वल्र्ड क्लास युनिभर्सिटी भयो, सबैले श्रदा गर्ने । मेरो ग्रेड पोइन्ट हेर्ने बित्तिकै वहाँले भन्नुभयो ‘तिमीले एम.फिल. केही गर्नुपर्दैन, आउ र पी.एच.डी. जोइन गर’ । त्यसपछि मैले गएर भर्ना गरे । यसरी मैले ’अप्लाइड लिन्गुस्टिक्स’ अन्तर्गत ’एरर अन्यालसिस एंड एरर ग्य्राभिटी’मा २०५२ मा पी.एच.डी. गरे ।

त्रिभुवन विश्वविद्यालय वा नेपाली विश्वविद्यालयको शिक्षा र बाहिरी विश्वविद्यालयको शिक्षामा के फरक पाउनु भयो ?

कोर्षहरु हेर्ने हो भने हाम्रा विश्वविद्यालय विश्वस्तरका नै छन् । जस्तो एम.एड. कोर्ष लाई नै उदाहरणको रुपमा लिउ । कुनै पनि अमेरिकन, इन्डियन जुनसुकै युनिभर्सिटीमा पनि यही लेभलको कोर्ष हो । कोर्ष र प्रोग्रामको रुपमा हामी अब्बल दर्जाका छौ । दुईवटा कुरामा हाम्रो कमी छ । एउटा हाम्रो शिक्षण सिकाई वातावरण छैन । किन छैन भन्दा हामी विभाजित मनस्थितिमा छौ । शिक्षकहरु फलानो पार्टीको हौ भन्ने कुरामा गौरब गर्छन् र बिद्यार्थीहरुलाई पनि फलाना पार्टीको हुँ भन्न पाए हुन्थ्यो झैं महसुस हुन्छ । बाहिरको शिक्षण–सिकाई कस्तो छ भन्दा पहिलो दिनमै शिक्षकले कोर्ष दिन्छ, किताबको लिस्ट दिन्छ, विध्यार्थीलाई शसक्त गर्छ र भन्छ अब तिमीले पढ्नुपर्छ । विद्यार्थीको आत्मियतालाई हेर्छ र उनीहरुको विश्लेषण क्षमता हेरेर शसक्त बनाउने गर्छ । विद्यार्थीलाई रिसोर्स दिने र आफुले मार्गदर्शन गर्ने मात्रै काम गर्छ । कहिले काँही मात्रै लेक्चर दिने हुँनाले अरु जम्मै विद्यार्थीलाई गर्न लगाउछ र विद्यार्थीहरुलाई शैक्षिक काम भन्दा अन्य फाल्तु काममा लाग्ने समय नै हुँदैन । टाइम बाउन्ड भएको हुनाले त्यहाँ एक दिन जाँच सर्ने भन्ने होइन, तीन बर्ष अगाडी नै रुटिन दिएको हुन्छ र विद्यार्थीले तिन बर्षको योजना बनाउछ । त्यही अनुसार गरिसकेको हुन्छ । विद्यार्थीलाई दुई वा दिन बर्षको योजना अगाडी नै दिनु भनेको विद्यार्थीले आफ्नो प्लान बनाउने प्रशस्त मौका प्रदान गर्नु हो । समयको महत्व विद्यार्थी र शिक्षक दुबैले बुझेका हुन्छन् । जहाँ समयको सम्मान गरिन्छ त्यहाँको शिक्षा साच्चिकै अब्बल र गुणस्तरीय हुन्छ ।

प्रविधिको भरपुर उपयोग गरिन्छ । हामीकहा नविनतम् प्रविधि प्रयोग गर्न सक्ने जनशक्ति वा शिक्षकको अभाव छ । विदेशमा विद्यार्थीहरुलाई युनिभर्सिटीले नै सुविधासम्पन्न लाइब्रेरीको एक(एक कोठा दिइएको हुन्छ ।

नेपालको एउटा विश्वविद्यालय पनि विश्वका एक हजार विश्वविद्यालयहरुको सुचीभित्र पर्न सकेको छैन, अब विश्वविद्यालयहरुमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न के गर्नुपर्ला ?

विश्वविध्यालयहरुले कटिबद्द भएर आफ्नो शैक्षिक क्यालेन्डर लागु गर्नुपर्दछ । जति बर्षको कोर्ष हो सो कोर्ष सुरु हुनु अगावै उक्त कोर्षको शिक्षण-सिकाई तालिका विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्दछ । अहिलको जस्तो पहिलो सेमेस्टरको परिक्षा भइसक्दा समेत दोश्रो, तेश्रो र चौथो सेमेस्टरको पाठ्यक्रम नै नबनेको अवस्था आउनु हुँदैन । शिक्षकहरुले फलानो पार्टीको हौ भन्ने कुरामा गर्व गर्ने होइन, फलाना विषयको अध्यापक वा विषय विज्ञ हुँ भनेर गर्व गर्नुपर्छ । विद्यार्थीहरु यो वा त्यो वहानामा विश्वविद्यालय वन्द गर्ने, तोडफोड गर्ने होइन, विश्वविद्यालयहरुलाई रचनात्मक सहयोग गर्नुपर्दछ । अहिलेको युग भनेको सूचना प्रविधिको युग हो, विहान एउटा कुरा पढाउँदा बेलुकाको कक्षाका लागि अर्कै नयाँ तथ्यको विकास भइसकेको हुनसक्छ । यो विषयमा शिक्षक एकदमै चनाखो हुनुपर्छ । अनि बन्नेछन्, नेपालका विश्वविद्यालय विश्वकै अब्बल र उत्कृष्ट ।