काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले डा.गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै शिक्षण अस्पताल परिसरभित्र अनशन बस्न नहुने भनेर प्रशासनले निकालेको प्रेस विज्ञप्तिको विरोध गर्नुभएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गुरुङले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने डा.केसीको मागमा अस्पताल प्रशासनले आपत्ति जनाएकोमा आश्चर्य व्यक्त गरेका हुन् ।
‘डा.गोविन्द केसीले त्यही शिक्षण अस्पताल परिसरमा यसभन्दा अगाडि ७ पल्ट आमरण अनशन बस्दा तपाईको नयिम आकर्षित भएन प्रा.डा.विमल कुमार सिन्हाज्यू, तर लोकमानलाई महाअभियोग लगाउनु पर्ने कारण सहित माग राखेर आमरण अनशन बस्ने घोषणा मात्रै गर्दा तपाईको नियम आकर्षित भएको विज्ञप्ति पढ्दा मलाईपो लाज लाग्यो डाक्टर साब’, सांसद गुरुङले सन्देशमा लेखेका छन् ।
शिक्षण अस्पतालका प्रमुख प्रा.डा.विमल कुमार सिन्हाले विज्ञप्ति जारी गरेर अस्पताल परिसरभित्र डा.केसी अनशन बसेर उत्पन्न हुने अवस्थाको स्वयं डा.गोविन्द केसी जिम्मेवार हुने भनेपछि सांसद गुरुङले आक्रोश पोखेका हुन् ।
डा.केसीले आफ्ना मागमध्ये एउटा मागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाएर हटाउनुपर्ने माग राखेपछि चौतर्फी आलोचना हुँदै आएको छ ।












प्रतिक्रिया