काठमाडौं, २४ असार । आन्दोलतर थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलनको घोषणा गरेको छ ।
समितिले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा असार २४ गते देखि साउन २३ गतेसम्म नेपाल सरकारद्वार आयोजित सम्पूर्ण कार्यक्रमहरूलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने रहेका छन् ।
सो समयमा थारु समुदायले हातमा कालोपट्टी बाध्ने, थरुहट जिल्लाका प्रत्येक घर, चौक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन, दियो, टुकी र मैनबत्ती बालिनेछ ।
पायक पर्ने स्थानमा साउन १५ गते मुखमा कालोपट्टी बाधेर लाल्टिन जुलुस र धर्ना दिने, असार ३१ गते काठमाडौंको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्रसंघको कार्यालय अगाडि दिउँसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दियो र मैनबत्ती बालेर मुखमा कालोपट्टी बाँधी धर्ना दिने तथा साउन २७ गते आन्दोलन एक वर्ष पुगेको अवसरमा आन्दोलनलाई थप उचाइँमा पुगाउने गरी मनाउने रहेको छ ।
समितिले संबैधानिक परिषद, न्यायपरिषद, मन्त्रिपरिषदले राज्यको विभिन्न अंग, निकाय र तहमा भएाक मनोनयन र नियुक्तिहरू संघीय गणतान्त्रिक संविधानको मर्म र प्रस्तावना विपरित रहेको भन्द गम्भीर आपत्ति प्रकट गरेको छ ।
समितिले एकल जातीय नस्लबादीहरूलाई हालसम्म पनि अघोषित बिशेषाधिकार र आरक्षण कायम गरेर थारुहरूलाई निषेध गरिएको यो घटना समानुपातिक प्रतिनिधित्वको विपरित भएको दावी गरेको छ ।
समितिका सदस्य राजकुमार लेखीले थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी नभएसम्म आफूहरूको आन्दोलन नरोकिने स्पष्टपार्दै मुद्दा मिल्ने सबै समूहसँग कार्यगत एकता हुन सक्ने बताउनुभयो । उहाँले मधेसी मोर्चा र संघीय गठबन्धन देश टुक्राउने र कुनै जातिलाई लखेट्ने उद्देश्यले नभएको भए आफूहरूसँग सहकार्य हुन सक्ने बताउनुभयो ।












प्रतिक्रिया