काठमाडौं, ३१ साउन । केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ५३ जनाको मृत्यु भएको छ। यसअघि बिहीबार १२ जनाको मृत्यु भएको थियो।
देशका विभिन्न क्षेत्रमा वर्षासँगै बाढी र पहिरोमा सयौं बेपत्ता छन् भने हजारौं घरबारविहीन भएका छन्। ठाउँठाउँमा सडक यातायात, बिजुली, टेलिफोनलगायत दैनिक आधारभूत सेवा ठप्प हुँदा जनजीवन कष्टकर भएको छ। पूर्वी क्षेत्रमा बिहीबार रातिदेखि वर्षा थामिए पनि मध्यपश्चिम र सुदूरपश्चिममा अझै जारी रहेको जनाएका छन्।
मुसलधारे वर्षापछि आएको बाढी–पहिरोमा परेर सुर्खेतका विभिन्न ठाउँमा २१ जनाको मृत्यु भएको छ। नागरिककर्मी कलेन्द्र सेजुवालले जनाएअनुसार जिल्लाका विभिन्न स्थानमा गएका बाढी र पहिरोमा कम्तीमा ४४ जना हराइरहेका छन्। करिब एक हजार ३ सय घरपरिवार विस्थापित भएका स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी सुर्खेत उपत्यकामा ९ जनाको मृत्यु भएको छ। बाबियाचौरमा चार, तरंगामा तीन, साटाखानीमा दुई र हरिहरपुर, मटेला र साहारेमा एकरएकजनाको मृत्यु भएको पौडेलले जानकारी दिएको समाचार नागरिक दैनिकले छापेको छ ।
पश्चिम सुर्खेतको तातापानीमा २२ जना व्यक्ति हराइरहेका छन्। भेरी नदीको तटीय क्षेत्रमा रहेका घर डुबानमा परेपछि त्यहाँका स्थानीयको अवस्था अज्ञात रहेको प्रशासनले जनाएको छ। ‘उपत्यकाका साथै बाढी–पहिरो प्रभावित क्षेत्रका अन्य ठाउँमा पनि व्यक्तिहरु हराइरहेका छन्,’ पौडेलले भने, ‘यसको यकिन विवरण अझै आइसकेको छैन।’
क्षेत्रीय हावापानी कार्यालयका अनुसार सुर्खेतमा ५२ वर्षपछि यति ठूलो मुसलधारे वर्षा भएको हो। यसअघि सन् १९६३ जुलाई २१ मा ३७३ मिलिलिटर पानी परेको थियो। बिहीबार राति भने ४२३ दसमलब १ मिलिलिटर पानी परेको कार्यालय प्रमुख निराजन सापकोटाले जानकारी दिए।
वर्षाले मानवीयका साथै भौतिक रुपमा पनि भयानक क्षति पुर्यापएको छ। शुक्रबार साँझसम्म प्राप्त विवरणअनुसार करिब एक हजार तीन सय घर आंशिक वा पूर्ण रुपमा क्षति भएका छन्। लेखपराजुलमा पहलबहादुर वली, गंगबहादुर डाँगीलगायत स्थानीयका करिब ५० घर पहिरोले बगाएको छ।
उपत्यकाभित्र र भेरी किनारको तटीय क्षेत्रमा बाढीले क्षति पुर्यारए पनि लेखराजुल, साटाखानी, मटेलालागयत उच्च क्षेत्रमा भने पहिरोले नोक्सान गरेको छ। ‘माथिबाट खसेको पहिरोले घर पुरै बगाएर लग्यो,’ लेखपराजुलका पहलबहादुरले टेलिफोनमा भने, ‘पानी परिरहेको छ, कहाँ गएर बस्ने हो सोच्नै सकिएको छैन।’
जिल्ला प्रशासन कार्यालयका अनुसार तीनवटा विद्यालय भवन पूर्ण र १४ वटा आंशिक रुपमा क्षति भएका छन्। तीनवटा पूल बाढीले बगाएको छ। क्षतिको विवरण शुक्रबार बिहानैदेखि आए पनि प्रहरी–प्रशासनले उचित कदम चाल्न सकेको देखिएन।
प्रकोपबाट पीडित स्थानीयले प्रहरी–प्रशासनको आलोचना गरेका छन्। ‘मैले इत्रामखोलामा बाढी आउन थालेपछि बिहीबार राति १२ बजे प्रहरीमा फोन गरेर सहयोगको लागि अनुरोध गरेँ,’ कालुन्चोकका हरिप्रसाद घिमिरेले भने, ‘तर प्रहरीले हामी हजुरकोमा आउन सक्दैनौं, आफ्नो सुरक्षा आफै गनुैहोस् भनेर फोन राखिदिए।’
प्रशासनले पनि उपत्यकाबाहिर उद्धारकार्य हुन नसकेको स्विकारेको छ। सबैभन्दा बढी प्रभावित तातापानी र तरंगामा हेलिकोप्टरबाट उद्धार गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गरिएको थियो। तर, दिनभर प्रयास गर्दा पनि हेलिकोप्टर आएन। सुर्खेतका लागि भनेर आएको हेलिकोप्टर गृहमन्त्री बामदेव गौतमले बर्दिया मोडेको स्रोतले बतायो।
यस्तो अवस्थामा स्थानीय प्रशासनले सबै तिरको क्षतिको विवरण संकलन गर्ने काम गरेको थियो। ‘उपत्यकाभित्र भने केही उद्धारको काम पनि भएको छ,’ प्रशासकीय अधिकृत पौडेलले भने, ‘भोलिदेखि राहत र व्यवस्थापनको काम हुन्छ।’ उपत्यकाका प्रकोप–प्रभावितलाई नजिकका स्कुल र खुला ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले बताए।
गाउँतिर पहिरोबाट प्रभावितहरु सुरक्षित ठाउँको खोजिमा डाँडा र जंगलमा बसिरहेका छन्। उनीहरुका चौपाया, खेतबारी र धनमालको नोक्सानी भएको छ।















प्रतिक्रिया