वाशिंगटन डिसी । देश दुख्दा मुटु दुख्छ, जहाँ भए पनि सीताराम कट्टेल र कुन्जना घिमिरेले गरेको कामको प्रशंसा जति गरे पनि कम नै हुन्छ भन्दै टेक्सास राज्यको हुस्टनमा शृंगार केन्द्र संचालन गर्दै आएकी नेपाली मूलकी भावना पाण्डे बिष्टले आफ्नो जन्म दिवसको अवसरमा धुर्मुस–सुन्तली एकीकृत वस्तीका लागि जन्मदिनको खर्च कटाएर ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
झन्डै ९ वर्ष अगाडि अमेरिका आई नेपाल–अमेरिका आवत–जावत गर्दै पछिल्लो ४ वर्षदेखि अमेरिकामा बस्दै आएकी भावना विदेशमा बसे पनि हरपल मन त आफ्नै देशमा पुगी रहेको हुन्छ भन्दै थोरै सहयोग गर्न पाउँदा हर्ष लागेको बताइन ।
आफूले आफ्नो जन्म दिवसमा अन्य खर्च नगर्ने निधो गरेर संचित रकम फाउन्डेसनलाई पठाएको उनले बताइन ।
उनले बिगत ४ वर्षदेखि आफ्ना एक छोरी र एक छोरासंग अमेरिका बस्दै आएको बताउँदै विदेशमा जीवन झन् जटिल छ तर पनि धुर्मुस–सुन्तलीले गरेको महान काम ठूलो रहेको उल्लेख गरिन् ।
‘मेरी आमाले भनेको जस्तै थोपा थोपा गरेर समुन्द्र बन्छ त्यसैले यो सानो सहयोग गर्ने साहस गरेकी छु’, उनले भनिन ।
धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ ।
भावना पाण्डे बिष्टले चितवन जिल्लामा दुई कक्षाकी छात्रालाई पठन पाठनको लागि वार्षिक लाग्ने खर्च समेत जन्म दिवसकै अवसर पारेर एक मुष्ठ पठाई सकेकी छिन् ।















प्रतिक्रिया