२९ आश्विन २०८३, बिहिबार

महाकाली एक्सप्रेस : यात्रा संस्मरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Mahara– कृष्ण महरा

नियमित परिक्षा समापन संगै काठमाडौंको बसाईलाई केही समयका लागि विट मार्दे यहि असार १२ गत्ते सुन्दर सुदर नेपाल, महेन्द्रनगरका लागी काठमाडौंको सुन्धाराबाट एक दिन अगाडि नै टिकट लिईयो ।

काठमाडौंमा कतिखेर ट्राफिक जाम हुन्छ र घण्टौं कुर्नुपर्छ भन्नेकुराको ठेगान नभएको हुँदा टिकटमा उल्लेख गरिएको ३ः३० बजे नै बसपार्क आईसक्नुपर्ने निर्धारित समयको झण्डै एक घण्टाअगावै वसपार्क आइयो, चिसो कोकाकोलासंगै, तातो हावा अनि मान्छेहरुको कोलाहल मज्जासंग खाइयो । कोकाकोलाको पैसा तिरियो, हल्ला र हावा भने सित्तैमा ।

बस अर्थात ‘महाकाली एक्स्प्रेस’ उर्फ ‘महाकाली डिलक्स’ सामुन्ने थियो, हामी छुट्ने समय पर्खिरहेका थियौँ । स्टाफहरु यात्रुलाई फकाउदै सिट भर्न व्यस्त देखिन्थे । यात्रु र स्टाफ (खलासीलाई सम्मानित शब्द स्टाफ प्रयोग गरिएको) बीच वार्गेनिङ खुब चल्दै थियो । टिकट लिईसकेका यात्रु आ–आफ्नो सिटमा बसेका थिए भने टिकट नलिई आएकाहरु टिकटको मोलमोलाई गर्दै थिए । यत्तिकैमा एकजना गाडी स्टाफले एकजना यात्रुलाई बसभित्र ल्याए र पछाडितिरको सिट देखाउदै भने, ‘खानाको मिलाउछु, सिट यहि हो’ । ती यात्रु फिटिक्कै मानेनन्, भन्दैथिए, ‘अर्को गाडिमा टिकट पनि कम छ, बाटोमा खाना फ्रि’ । यात्रु सिटमा बस्नै मानेनन् अझ ओर्लन ढोकातर्फ एक पाइला के लम्केका थिए, स्टाफले सानो स्वरमा ‘खाजा र खाना मेरो जिम्मा’, भयो अब ? टाउको हल्लाउदै यात्रु सिटमा बसे, स्टाफ यात्रु खोज्न तिर लागे । एकैछिनमा एउटा यात्रु लिएर आए र पछाडिको सिट देखाए, यात्रुले मानेनन् ।  स्टाफ र ती यात्रु बीच झण्डै ३० सेकेण्ड कानेखुसी भयो, मुस्कानसहित उनी त्यही सिटमा बसे, वार्गेनिङमा कुरा मिलेको हुनुपर्छ । यात्रु र स्टाफबीचको यो रिहर्सल सोही बसको ३ नं. सिटबाट म सुक्ष्म ढंगले नियालिरहेको थिए ।

mahakali-ac

३ः४५ मा महेन्द्रनगरका लागी छुट्ने ‘महाकाली एक्स्प्रेस’ ३ः५० मा छुट्यो । अन्तिम सिट बाहेक सबैजसो सिट लगभग भरिइसकेका थिए । मैले बसभित्र ओहोर­दोहोर गर्ने स्टाफलाई भने, ‘वाईफाई अन गरम न है’ । ‘एकछिनमा अन गर्छु है’ टार्ने वाहनाको उसको जवाफ बुझ्न मलाई कुनै गाह्रो भएन ।

थानकोटबाट बस तल झर्न थालेको थियो । स्टाफले गीत बजाउन सुरु ग¥यो । नौविसे पुगेपछि चालकले एक होटलको आँगनमा घच्याक्क ब्रेक लगायो । ‘लौ खाजा खान झरौ है’ ढोकैमा उभिएको स्टाफ ठुलो स्वरले बोल्यो । खाजामा चाउचाउ र तरकारी लिँए । डाडुमा राखेर जोख्ने हो भने एक डाडु चाउचाउ र हाफ जति तरकारी हुँदो हो र एक चम्चाजति अमिलो पिरो तरकारी । चैत्र २६ गत्ते १०० रुपैयाँ मात्रै तिरेको स्वयमले त्यो दिन भने १५० तिर्नुपर्यो । खाजा थप्नेहरु भन्दा पैसा बुझ्ने मान्छे अलि मोटो र ठुलो भुडी भएको थियो । ‘दाई अस्ति १०० थियो हैन र’ ? मलिन स्वर मिश्रित मेरो प्रश्न खस्न नपाउदै ‘सधैँ एउटै रेट हुन्छ त भाई’ ? उ जंगियो ।

mahakali-ac-1

उसको रुखो जवाफपछि मैले दोहोर्याएर प्रश्न गर्ने दुस्साहस गरिन किनकी त्यसरी राजमार्गका होटल–पसलहरुमा खानाको गुणस्तर र मुल्यबारे सोधिखोजी गर्ने जोकोही यात्रुहरु भौतिक आक्रमणको सिकार भएको कयौपटक देखे भोगेको विगत साक्षी थियो । होटल छेउमा रहेको सानो खोका पसलबाट कुरकुरे किन्दा अंकित मुल्य थियो ४० तर मागियो ६० । ‘अस्तिसम्म ४० पर्ने कुरकुरेलाई ५० त तिरेकै थियौँ तर आज कम्पनीको मुल्य यथावत् हुँदा कसरी ६० भयो’ ? मैले यसरी अचाक्ली आफुखुसी मुल्य बढाउनुको कारण जान्न चाहे ।

‘राजमार्गको पसलमा मुल्य तोक्ने कम्पनीले होइन्, हामी आफैले हो, लाने भए लानुस् नत्र छोड्दिनुस्’, उसले ठुला आँखा तान्दै मेरो हातमा आइसकेको कुरकुरे खोसिन् । त्यति गर्दापनि म रु. ६० तिरेरै भएपनि किन्न बाध्य भए किनकी मैले त १५० तिरेर चाउचाउ र तरकारी खाइसकेको थिए तर संगै केहि खान नमानेको भतिज थियो । उसको लागी किन्नै पर्ने वाध्यतामा थिए म र किनिहाले ।

खाजा खाइवरी सबैजना बसमा चढे बस अगाडि हुँइकियो । नौविसेबाट बस अगाडि बढेपछि बसका एकजना स्टाफले फिल्म बजाए । फिल्म अन भएसंगै वाइफाइ पनि अन भयो, टावर देखायो तर नेटवर्क चलेन । वाइफाई टावर देखिएपनि नेटवर्क नचलेपछि मैले स्टाफलाई सोधे, ‘भाई नेट चल्दैन त, के भाको हँ’ ?

टावर छँदैछ, चलेन त म के गरु ? उसले रेडिमेड जवाफ दियो, मैले ट्राई गरिरहे तर नेट चलेन, अहँ रातभरी चलेन । उसलाई यात्रुहरुलाई वाईफाईबारे थाहा नहुन सक्छ झैँ लाग्यो होला, प्रचार र देखाउनकै लागी राखिएको वाईफाईमा रिचार्ज गरिएको थिएन भन्ने जोकोही यात्रुले बुझेकै हुनुपर्छ ।

नौविसेमा खाजा खाएर हिडेको बस एकैचोटी जुगेडीको एक होटलको आँगनमा पुगेर मात्रै रोकियो । गाडिको स्टाफले यात्रुहरुलाई खाना खान यो पटक पनि त्यसरी नै उर्दी जारी गर्यो जसरी खाजा खानेबेला नौविसेको एक होटलमा गरेको थियो । खाना खाने होटल हो या सार्वजनिक शौचालय ? छुट्याउनै गाह्रो थियो । न सरसफाई न सद्धे खाना । मलाई राजमार्गका होटलले दिने खानाबारे पहिले नै थाहा थियो । टोकन सिस्टम भन्दै सुरुमा उनीहरु पैसा असुल्छन्, त्यसपछि मात्रै खाना दिन्छन् । पैसा तिरीसेकेको हुन्थ्यो, यात्रुहरु खाना राम्रो वा नराम्रो भएपनि खान बाध्य हुन्छन् ।

mahakali-ac-2

होटलको अर्को कुनै विकल्प नभएपछि केही यात्रुहरुले खाना खाए बाँकीले संगै रहेको खोका पसलमा चाउमिन र अण्डा खाएर चित्त बुझाए । ‘खाना जस्तो कुरा अलि राम्रो होटलमा ल्याउनुपर्दैन’ ? स्टाफमध्येका एक जनालाई सोधे, संधै खाने यहि ठाउँ हो, अन्त कहाँ जानु ? उसको रेडिमेड जवाफले वाक्क बनायो । ‘मोटो रकम कमिसन मिल्ने ठाउँ यहि होला किन अन्त लैजानु’ ? दुईजना यात्रु विस्तारै कानेखुसी गर्दैथिए । खाना खानेले खाए, नखाने त्यतिकै बसे । मैले अण्डा खाएर चित्त बुझाए, मुल्य थियो एउटैको २५ ।

एकछिनमा बस अगाडि बढ्यो ।
काठमाडौंबाट छुटेको बस नारायणघाँट–मुंलिङ सडकखण्डमा झरी र पहिरो छिचाल्दै झण्डै छ घण्टापछि नारायणघाँटबाट पश्चिम हुईकियो ।

जब गाढी गैडाकोट क्रस भयो, गाडी स्टाफले फ्यान बन्द गरे । अगाडी क्याविनमा बसेर सुटुक्क फ्यान बन्द गरेसंगै गर्मीले बसमा बसिनसक्नु भयो ।

‘ओई, फ्यान किन बन्द गरेको ? फ्यान अन गर त भाई, ओई, सुनिनस् फ्यान चला भनेको’ जस्ता दर्जन प्रश्न क्याविनतिर सोझिए । कसैले सुनेनन्, सुन्नेले सुनेको नसुनै गरे । अँधेरी रातमा सबैजना ढोका थुनेर दुवैजना ड्राइभर संगै क्याविनमा बसेका थिए ।

mahakali-ac-3

‘के को फ्यान ? मेसिन तात्छ भन्ने थाहा छैन’ को हो बढी बोल्ने ?
क्याविनको झ्यालबाट लामो जगल्टे कपाल सहितको टाउको बाहिर निकाल्दै कड्कियो एकजना स्टाफ । गाडीमा दुईजना स्टाफ(खलासी) थिए । दिनमा र चेकपोष्ट आउँदा फुत्त झरेर अगाडि दगुर्ने ती स्टाफले झण्डै ४० जना यात्रुको सातो लियो, कसैले बोल्न चाहेनन् बरु असार महिनाको गर्मी सहन तयार भए । म संगै छेउको सिटमा पाको उमेरका बढो प्रवुद्द जस्ता देखिने ३ जना यात्रुहरु थिए । उमेर र योग्यताले अति नै सम्मानित बसभित्र यस्ता कयौ प्रबुद्द व्यक्तित्वहरुलाई सार्वजनिक यातायातको जगल्टे खलासीले हेपाई सुन्दा लाज लागेर आयो । केही बोल्न सकिन ।

गाडी आफ्नै रफ्तारमा गुडिरह्यो, रुखो बोलीका ती जगल्टे स्टाफले फ्यान खोल्ने कुरै भएन । लगभग ३ जति भएको हुनुपर्छ, बस एउटा होटलको आँगनमा पुगेर रोकियो । कपिलवस्तु जिल्लाको गोरुसिंगे भन्ने ठाउँ रहेछ । ‘ल चिया खानुस्’ ती जगल्टे स्टाफ फेरी कराए । गर्मीले थिलोथिलो भएको ज्यानमाथी तातो चियाको कप कसरी घुट्याउन भनिएको हो मैले बुझ्न सकिन ।

चिया त के खानु तर सबैजसो यात्रुहरु झरेर चिसो हावा चाही खाए । केही समयपछि बस अगाडी बढ्यो । अब त फ्यान खुल्छ र चिसो हावा खान पाइन्छ भन्ने यात्रुहरुको सोच अझै पुरा भएन । बस आफ्नो बाटोमा गुडिरहेछ, यात्रुहरुको पीडा उनीहरुसंग नै छ ।
धेरै टाढा अलिकति डाँडा देखिन थालेका थिए । विस्तारै उज्यालो हुँदै थियो । घडी हेरे, विहानको ५ः०० भईसकेको रहेछ । महाकाली एक्सप्रेस कोहलपुर चौराहबाट अगाडी बढ्यो । घडीको सुईले विहानको ८ः०० बजिसकेको देखाइरहेको थियो । कर्णाली चिसापानी क्रस गरेपछि फेरी बस एक होटलको आँगनमा लम्पसार रोकियो । ‘नास्ता खानुस्’ जगल्टे स्टाफको बोली फेरी दोहोरियो । सबै यात्रुहरु झरे, विहानको नित्यकर्मसंगै नास्ता खाए । आधा घण्टापछि बस हिड्यो । १०ः३० बजे विहान महाकाली एक्सप्रेस उर्फ महाकाली डिलक्स महेन्द्रनगर बसपार्कमा उत्रियो । यात्राको आधा समय फ्यान नचलाई ल्याएपनि सकुशल गन्तव्यमा पुर्याएकोमा चालकलाई विशेष धन्यवाद दिँदै सबै यात्रुहरु आ–आफ्नो बाटोतर्फ लाग्यौँ ।

झण्डै १८ घण्टा लामो यात्रापश्चात पनि मलाई राजमार्गका होटल, पसल र गाडीका स्टाफहरुको व्यवहारले घोचिरह्यो र केही नलेखिरहन सकिन । त्यसै थकान र पीडाले घच्घच्याउनुको परिणाम हो यो यात्रा संस्मरण अर्थात पीडा संस्मरण ।
राजमार्ग भरी अंकित मुल्यभन्दा दोब्बर या ५० प्रतिशत सम्म बढी मुल्य लिने पसलेहरु छ्याप्छ्याप्ती भेटिन्छन् । नौविसेमा एउटा पसलेले ४० रुपैयाँ अंकित उक्त वस्तुबाट ६० रुपैयाँ असुल गर्नु सरासर कालोबजारी हो ।

कालोबजारी तथा उपभोक्तको हित संरक्षण सम्बन्धी कानूनी व्यवस्था :

कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ अनुसार नेपाल सरकारले मोल निर्धारित गरिदिएकोमा सो मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै माल वस्तु बिक्री गरेमा सो माल वस्तुको लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुनेछ र जरिवाना समेत हुन सक्नेछ ।

अत्यावश्यक बस्तु तथा सेवामा समेत कालोबजारी गर्नेलाई पुरुष्कृत गर्ने सरकारबाट राजमार्गमा हुने यस्तो असुली बन्दको अपेक्षा गर्नु धेरै टाढको विषय हो । राजमार्गका सयौँ होटल तथा यस्ता पसलहरुले नियम कानूनलाई यसरी हवाला दिनु हाम्रो देशमा सामान्य नै भइसक्यो ।

खुलेआम राजमार्गमा आवत–जावत गर्ने लाखौँ यात्रुमाथी हुने यो लुटतन्त्र र जनताको स्वास्थ्यमाथीको खेलवाड कहिले रोकिएला ? त्यसको जवाफ न सरकारसंग छ न कुनै नेतासंग । उपभोक्ता संरक्षण ऐनको दफा १८ अनुसार उपभोक्तको स्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तु तथा सेवाको उत्पादन तथा विक्रिवितरण गर्नेलाई घटिमा ५ वर्षदेखि बढीमा १४ वर्षसम्म कैद र ३ लाख देखि ५ लाख सम्म जरिवाना वा दुवै सजाय हुनेछ । अझ ऐ ऐनको दफा २२ ले क्षतिपुर्तीसमेत दिलाउने सम्म लेखिएको छ तर अहिले सम्म न कसैलाई कारबाही गरिएको छ न त कसैलाई एक रुपैयाँ क्षतिपुर्ति नै दिलाईएको छ ।

एकताका काठमाडौमा बस व्यवसायीहरुले आफ्ना स्टाफ(खलासी) हरुलाई यात्रुहरुसंग गर्ने व्यवहारबारे प्रशिक्षण नै दिएको थियो । तर १८ घण्टा लामो काठमाडौं–महेन्द्रनगर यात्रामा भने स्टाफहरुको व्यवहारले आजिन नै बनायो । जसरी फ्रि वाईफाई, एसी, कुलर भन्दै यात्रूहरुबाट पैसा असुलिन्छ, त्यही अनुसारको सुविधा दिनु बस व्यवसायीहरुको कर्तव्य हो । प्रचार अनुसारको सुविधा दिनुको साँटो स्टाफहरुको हेपाई एक अक्षम्य अपराध हो ।

त्यसैले, राजमार्गमा विक्री हुने गुणस्तरहिन खाना तथा चर्को असुली रोक्न सरकारले तुरुन्त कदम चालोस्, यातायात व्यवसायीहरुले यात्रुहरुलाई प्रचार गरेअनुसारको सुविधा दिउन्, स्टाफ(खलासी) हरुले यात्रुहरुसंग सम्मानपुर्वक बोली र व्यवहार गरुन् । यहाँहरु सबैको यात्रा सुखद र सुखमय रहोस् शुभकामना ।