काठमाडौ, ३० साउन। मृत्युदण्डको सजाय पाएका अनिश खालिङ् राईले प्रवासी नेपालीहरुको सहयोगबाट बाँच्न पाउने भएका छन् ।
अनिश बचाउ अभियान समितिले युएई दुवईको अवुधावीमा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ् राईलाई बचाउन चाहिने ब्लडमनी रकम संकलन गरि शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
संखुवासभा मत्स्यपोखरी वडा नं. ३ का अनिश वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुग्दा उनलाई २०६८ सालमा यूएई दुवईको अवुधावी अदालतले ज्यान मारेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो । राईलाई ब्लडमनी तिरेर मृत्युदण्डको सजायबाट उन्मुक्ति दिलाउनको लागि अवुधावी अदालतले ३ लाख ५ हजार दिराहम रकम तोकेको थियो ।
अनिश खालिङ् राई बचाउ अभियान समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर ब्लडमनी तिरेर मृत्युदण्डको सजायबाट उन्मुक्ति दिलाउनका लागि अवुधावी अदालतले तोेकेको ३ लाख ५ हजार दिराहम (८० लाख ५९ हजार ९ सय ५० रुपैंया) रकम जुटाएर वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा समितिका संयोजक नारद कुमार राईले आफूहरुको ७ महिनाको लामो प्रयासपछि मृत्युदण्ड सुनाइएका नेपालीको उद्धार गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले अनिश खालिङ् राई बचाउ अभियान रिपोर्टर्स क्लबबाटै शुरु भएको स्मरण गर्दै अनिशलाई नयाँ जीवन दिन सहयोग पु¥याउने समिति सबै बधाईको पात्र भएको बताए ।

संखुवासभाका नेपाली काँग्रेसका सभासद तारामान गुरुङ्ले अनिशलाई बचाउनका लागि यूयईको अदालतले तोकेको ब्लडमनी संकलन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले मृत्युदण्डको सजाय पाएका अनिशलाई बचाउन नेपालीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै अब छिट्टै उनलाई नेपाल ल्याउन सरकारले पहल गर्ने बताएका छन् । काफ्लले यूयईको अदालतले तोकेको ब्ल्डमनी संकलन भैसकेको सरकारले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि आफूहरु पराष्ट्रमन्त्रीसँग छलफल गर्ने जानकारी दिए ।














प्रतिक्रिया