
अश्विनी कोइराला मूलत: पत्रकार हुन् । समाजका विभिन्न चरित्रलाई पत्रिकामा स्थान दिने उनका अन्तरवार्ता निकै चर्चित छन् । तर उनको अर्को पाटो साहित्य पनि हो । ३ वर्षअघि निस्किएको पहिलो कृति ‘उनी’ बाट लेखकका रुपमा उदाएका अश्विनी कोइरालाले गएको वर्ष कथा लेखनमा उचाई प्राप्त गरे । उनको ‘जुकरवर्ग क्याफे’ गएको वर्ष बेस्ट सेलर हुन पुगेको थियो । यहि लेखन र विषय बस्तुको छनौटका कारण उनी गएको साता रसियामा ‘जय पृथ्वी–इभान मिनायभ’ पुरस्कारबाट सम्मानित भए । ६ सय डलर (करिब ६५ हजार रुपैंया) पुरस्कार रासी भएको उक्त पुरस्कार विश्व नेपाली साहित्य महासंघले प्रदान गरेको हो । यही पुरस्कार थाप्न रुस पुगेका कोइरालासँग नेपाल फर्कने वित्तिकै हामीले विविध विषयमा लामो कुराकानी गरेका थियौं ।
रुस कस्तो लाग्यो ?
सोचे भन्दा राम्रो । सानैदेखि रसियन साहित्य पढ्थेँ । ती साहित्यमा गाउँ–सहर हिउँले ढाकिएको र जीवन कठिन भएको चर्चा गरिएको हुन्थ्यो । तर मैले त्यस्तो पाइन । रसियामा मे जुन र जुलाईको मौसम निकै रहर लाग्दो हुँदो रहेछ । यी दिनहरुमा १८ घन्टासम्म रात नपर्ने र आम मानिसहरु पातला पहिरन लगाएर स्वच्छन्द घुमफिर गर्दा रहेछन् । मस्को सहरभरी फूल रोपिदो रहेछ । सौन्दर्य उनीहरुको नशा नशामा बगेको पाएँ । एउटा रुख काट्दा १० रुख रोप्ने, कतै फोहोर नगर्ने, हरेक टोलमा दुई–तीन वटा खुला पार्क बनाउने सामान्य नियम रहेछ । यस्ता पार्कमा प्रेमी–प्रेमीका आलिंगनमा बाँधिएका अथवा पुस्तक पढिरहेका देख्दा लाग्यो, उनीहरुले बाँच्न जानेका छन् । आफूसँग भएको प्रत्येक मिनेट समयको सदुपयोग गरिरहेका छन् ।
रुसको विकास कस्तो पाउनु भयो ?
युरोपका अरु देशको तुलनामा रुस धेरै विकसित होइन । तर विकासको मोडल आफ्नै छ । ठूलो सपना देख, ठूलो काम गर । आफ्ना लागि होइन, सन्नतिका लागि सोच भन्ने कथन लागू गरे जस्तो लाग्यो । यहि कारण उनीहरुका धेरै काम भविष्य उन्मुख छन् । आशावादी जीवन देखेँ । यही कारण ठूला ठूला जंगल, ठूला ठूला पार्क, फराकिला सडकका लागि ठाउँहरु प्रसस्त देखें । त्यहाँ सय वर्षअघि नै बनेको मेट्रोको संरचना, त्यसभित्रका कालिगढी र त्यहाँ चल्ने रेल सेवाले मलाई छक्क पार्यो । आम नागरिकलाई बढि भन्दा बढि सेवा दिनुपर्छ भन्ने सोच त्यहाँ लागू भएको देखियो ।
रसियामा अहिले युरोप अमेरिकाले नाकाबन्दी गरिरहेका छन् क्यारे । नाकाबन्दीको अवस्थामा घुम्दा के महसुस गर्नुभयो ?
समुन्द्रसम्म आफ्नै पहुँच भएको देश हो रसिया । पेट्रोलियम पदार्थको ठूला ठूला खानी भएको देश पनि हो रसिया । यही कारण यस्ता नाकाबन्दीले नेपालमा जस्तो जनजीवन नै अप्ठ्यारो पार्न सक्तैन । त्यहाँ घुम्दा यो देशले नाकाबन्दीको असर गरिरहेको छ भन्ने कुरा नै विर्सिएछु । कसैले चर्चा गरेको पनि सुनिन । तर डलरको भाऊ घटेको र आर्थिक मन्दीको चपेटामा परेको खवर भने स्थानीय पत्रपत्रिकाले दिदा रहेछन् । त्यसको चर्चा नेपाली समुदायले बेला बेलामा गर्दथ्यो । क्रिमिया रुसको पुरानो भूमि रहेछ । त्यहाँका जनता रुसी भाषा बोल्ने भएकाले उनीहरुको निकटसम्बन्ध रुससँग हुनु स्वभाविक पनि हो । यहि कारण जनमत संग्रहमा त्यहाँका ९७ प्रतिशत जनताले रुसमा गाभीने निर्णय दिएछन् । यसले युरोप–अमेरिकाले रुसमा नाकाबन्दी गरेका रहेछन् । तर रुसी जनताहरु पुटिनको यो चलाखीपूर्ण राजनीतिलाई समर्थन गर्दा रहेछन् । आफूहरुले भोगिरहेको नाकाबन्दी देशकै पक्षमा रहेको उनीहरुको बुझाइ पाएँ । रुसमा ५५ वर्षदेखि बसोबास गर्ने नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठसँग कुरा गर्दा यहाँका जनता नाकाबन्दी भोग्नु परेकोमा भन्दा क्रिमिया आफ्नो भूमिमा मिसिएकोमा बढि खुसी भएको थाहा भयो ।

रुस साहित्य र कलाका लागि निकै महत्वपूर्ण स्थान हो भन्ने गरिन्छ । यथार्थमा कस्तो पाउनु भयो ?
विश्वप्रशिद्ध साहित्यकारहरुका घरहरुले पर्यटकीय महत्व पाएका रहेछन् । स्कुले विद्यार्थीहरु टिकट काटेर उनीहरुको घर हेर्न जाँदा रहेछन् । लियो टोल्सटाय, पुस्किन, एन्टोन चेखब, फ्लेदोअर देश्कओस्की, मिखायल सोलोखोब जस्ता श्रष्टाहरुको ठूला ठूला मूर्ति राखिएको रहेछ । उनीहरु कृतिलाई रुसको इज्जत र प्रतिष्ठा मानिदो रहेछ । नेपालमा जस्तो व्यवस्था परिवर्तन भएपछि पुराना राजनीतिक नेता वा साहित्यिक श्रष्टाहरुको मूर्ति फुटाउने ढाल्ने त कल्पना पनि गरिदैन । अहिले पनि लेनिनको लास जस्ताको तस्तै राखिएको छ । उक्त लास विग्रन नदिन वार्षिक करोडौं रुबल खर्च गरिन्छ । त्यहाँ अहिले पूँजीवादी शासन व्यवस्था छ । कम्युनिस्ट अल्पमतमा छन् । तै पनि लेनिनको लास हेर्न हजारौं रुसीहरु श्रद्धापूर्वक घन्टौं लाइनमा उभिएको देख्दा म छक्क परेँ ।

रुसमा कति नेपाली रहेछन् । उनीहरुको अवस्था कस्तो पाउनु भयो ?
युरोपका अन्य मुलुकको तुलनामा रुसमा निकै कम नेपालीहरु रहेछन् । करिब १ हजार जति होलान् । त्यहाँ वर्षमा एकपल्ट गैरआवासीय नेपालीहरुले पिकनिकको आयोजना गर्दा रहेछन् । संयोगबस हामी त्यो पिकनिकमा पनि सम्मिलित भएका थियौं । अरु देशमा जस्तो कांग्रेस, एमाले, माओवादी, मधेसवादी, जिल्लावादी, अञ्चलवादी, जातिवादी, कुनै खालका गुट पनि देखिएन । बरु कामदार नेपाली र व्यवशायी नेपालीहरुमा भने फरक छुट्टिन्छन् । त्यहाँ व्यवशाय गर्ने नेपालीहरुको स्थान रुसी जनताको हाराहारी अथवा त्यो भन्दा माथि पनि देखियो । कामदारहरुको अवस्था भने त्यति सबल देखिएन ।
रुसमा तपाईंले पाउनु भएको पुरस्कार कस्तो हो ?
यो पुरस्कार म एक्लैले पाएको होइन । चितवनमा बसोवास गर्ने चर्चित गजलकार, छन्दप्रेमी कवि धनराज गिरी र मलाई संयुक्त रुपमा प्रदान गरिएको हो । रुस पुग्ने पहिलो नेपाली र नेपाल आउने पहिलो रुसीको सम्झनामा गैरआवासीय नेपालीहरुको साहित्यिक संघठनले उक्त पुरस्कार दिएको हो । यही पुरस्कारका लागि हामीलाई निमन्त्रणा गरिएको रहेछ । यो कुरा हामीलाई अन्तिम अवस्थासम्म थाहा दिइएन । हामी फर्कने दुई दिनअघि मात्र यो कुरा थाहा पायौं । खासमा यो उहाँहरुको शैली नै रहेछ । त्यो देख्दा मलाई अचम्म पनि लाग्यो ।
रुस भ्रमणपछि तपाईंको साहित्यिक सिर्जनामा केही परिवर्तन आउँछ भन्ने लाग्छ ?
एउटा लेखकका लागि कल्पनाशीलता प्रमुख कुरा हो । रुस भ्रमणले मेरो बौद्धिक र सिर्जना शक्तिलाई मलजल गरेको छु । पक्कै पनि केही सकारात्मक परिवर्तन आउँछ भन्ने लाग्छ ।
प्रकाशित नुहुँदै तपाईंको उपन्यास ‘प्रेमालय’ चर्चामा छ, पाठकले कहिलेसम्म पढ्न पाउँछन् ?
लेखनको काम सकियो तर जबसम्म पाठकलाई कृतिले सन्तुष्टि दिन सक्तैन, त्यस्तो पुस्तक वाहिर ल्याउनु हुँदैन । रुस भ्रमणले मेरो मन शान्त भएको छ । अब एकपल्ट अरुको उपन्यास पढेझैँ फुर्सदमा पढ्छु । सुधार गर्नुपर्ने स्थानमा सुधार गर्छु । जब यसले लक्षित वर्गलाई आनन्द दिन्छ भन्ने लाग्छ, तब मात्र निकाल्छु ।
तपाईंको लक्षित वर्ग को हुन् ?
प्रेम गर्न रुचाउने सबै । र, मलाई लाग्छ, प्रेम सबैको रुचिको विषय हो ।













प्रतिक्रिया